Logo

‘राष्ट्रिय व्यवसायिक पहल’ले गर्यो कोभिडको दोश्रो लहर नियन्त्रणका लागि सार्वजनिक अपील, नागरिकको जीवनरक्षामा ध्यान दिन आग्रह

‘राष्ट्रिय व्यवसायिक पहल’ले गर्यो कोभिडको दोश्रो लहर नियन्त्रणका लागि सार्वजनिक अपील, नागरिकको जीवनरक्षामा ध्यान दिन आग्रह



काठमाडौं । कोभिडको दोश्रो लहर नियन्त्रणका लागि निजी क्षेत्रले सार्वजनिक अपील गरेको छ । राष्ट्रिय व्यवसायिक पहलका तर्फबाट महासचिव सुरेन्द्रबीर मालाकारले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को भिन्न भ्यारियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पुनः लकडाउनको स्थितिको सामना गरिरहेको छ । यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालिका तथा युवाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना गरी मृत्यु हुने नागरिकहरूको संख्या ह्वात्तै बढ्न गएकोले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको उल्लेख गरेका छन् ।

‘यससंगै देशभर स्वास्थ्य सामाग्री, औषधोपचार, स्वास्थ्यकर्मीहरुको अभाव खट्कँदै गइरहेको छ भने लकडाउनसँगै आम नागरिकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने अवस्थाबाट प्रत्यक्ष अप्रत्यक्षरूपमा लाखौँ रोजगारी प्रभावित हुन पुगेको छ । गत वर्षको अनुभवका आधारमा अहिले दोश्रो लहरको सुरवाती दिनहरूमात्र भएकोले आगामि दिनहरू अझ चुनौतीपूर्ण हुने सहजै अनुमान गर्न सकिन्छ’, विज्ञप्तिमा छ ।

विगतको अनुभवबाट सिकेर दोश्रो लहरका लागि अत्यावश्यक पूर्वतयारी सहित सम्पूर्ण समाज एक ढिक्का भएर महामारीविरूद्धको युद्ध लड्ने र जित्ने नेपाली जनताको अपेक्षा पूरा हुन नसकिराखेको भन्दै विज्ञप्तिमा यस असाधारण परिस्थितीमा कोरोनाको नियन्त्रण, संक्रमितको उपचारको प्रबन्ध, फ्रन्टलाइनमा सेवा गर्ने स्वास्थ्यकर्मीको मनोवल वृद्धि, अर्थतन्त्रलाई चलायमान बनाइराख्न गर्नुपर्ने प्राथमिक कार्यहरू लगायत जनताका जीवनसंग प्रत्यक्ष सम्बन्ध भएका मुद्दाहरूलाई बेवास्ता गर्दै नेपालका राजनैतिक दलहरू सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित हुनपुग्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उल्लेख छ । महामारीविरुद्ध सबै पक्षहरु एकजुट भइ महायुद्धको नेतृत्व गर्नुपर्ने वर्ग

आफैमा विभाजित, द्वन्द्वरत, प्राथमिकताविहीन र निरीह हुन पुग्दा त्यसको मुल्य नेपाली जनताले आफ्नो जीवन गुमाएर, भोको पेट बसेर र आफ्नो जीविकाको माध्यम गुमाएर चुकाउनु परिरहेको विज्ञप्तिमा छ ।

‘राष्ट्रिय व्यवसायिक पहल एवं सम्बद्ध निजी क्षेत्रका संघ संस्थाहरू राजनीतिक दलहरु तथा तिनका नेतृत्वलाई महामारीविरूद्धको महायुद्ध नै अहिलेको एकमात्र सर्वोपरीप्राथमिकताको रूपमा स्थापित गरी नागरिकको जीवन रक्षा तथा जनजीविकाको सुरक्षामा सम्पूर्ण शक्ति केन्द्रित गर्न जोडदार अपील गर्दछ’, मालाकारले जारी गरेको विज्ञप्तिमा छ ।

निजी क्षेत्रले विगतदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपद्को घडीमा आफ्नो सक्रियता देखाउँदै आएको उल्लेख गर्दै कोभिडको सुरुवाती चरणमा पनि निजी क्षेत्र सक्रिय छ र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै अत्यावश्यकीय वस्तुहरुको सरल एवं सहज उपलब्धताका लागि सरकारलाई पूर्ण सहयोग गर्न तथा जिम्मेवार व्यवसायिक अभ्यासलाइ दृढताका साथ अवलम्बन गर्नुहुन सम्पूर्ण उद्योग व्यवसाय क्षेत्रमा पनि मालाकारले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL