काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कोभिड–१९ का बिरामीको उपचारार्थ स्वास्थ्य सामग्रीमा खर्च गर्ने गरी ग्रुपका अध्यक्ष विजयकुमार शाहले उक्त रकम आइतबार अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिएका छन् ।
‘स्वास्थ्य सामग्री खरिद, मर्मत तथा पुन: सञ्चालनका लागि अस्पतालले एक प्रस्ताव गरेको थियो,’ उनले भने, ‘त्यो प्रस्तावअनुसार खर्च गर्ने गरी मैले सहयोग गर्ने भएको हुँ।’
आईसीयूका लागि आवश्यक उपकरण, अक्सिजन प्लान्ट र सिलिन्डरको प्रयोजनका लागि उक्त सहयोग रकम खर्च गर्ने योजना अस्पतालको छ ।
‘कोभिड–१९ कै बिरामीलाई सहयोग पुगोस् भनेर सहयोग गर्ने भएको हुँ ’ उनले भने, ‘वचन दिएको रकम आइतबार अस्पतालको बैंक खातामा पठाइदिनेछु ।’ शाह सरकारलाई सबैभन्दा बढी आयकर तिर्नेको सूचीमा पर्छन् ।