Logo

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सात प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सात प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित



काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस दोस्रो लहरका कारण नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेकाले २३औं साधारणसभा अनलाइन रूपमा सञ्चालन गर्न बाध्य भएको बताए ।

सभामा अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बिमाको ठूलो योगदान रहेको जानकारी दिँदै बिमासम्बन्धी जनमानसको सोचमा क्रमशः परिवर्तन आएको बताए । उनले भने, ‘आगामी दिनमा नेपाली बिमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको छु।’ उनका अनुसार कुल बिमाको पहुँच २६ प्रतिशत छ भने समग्र बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत छ ।

बिमाको दायरामा वृद्धि भई व्यवसाय र मुनाफामा पनि क्रमशः वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए । पछिल्लो समय बिमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बिमा व्यवसाय वृद्धि, नाफामा वृद्धि भएबाट पुँजी बजारमा समेत ठूलो हिस्सा बिमा क्षेत्रले ओगट्न सफल भएको छ ।

बिमा क्षेत्रको दिगो विकासका लागि गुणस्तरीय सेवा, बिमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आमनागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी वर्ष अझै नवीनतम सेवासहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई उनले गराए ।

कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने र सोपश्चात् कम्पनीको नियामक निकाय बिमा समितिबाट स्वीकृत भएपश्चात् जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद सेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ । उल्लिखित पुँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए ।

सभामा अध्यक्ष ढकालले सेयरधनीले विगतका साधारणसभामा दिएका अमूल्य सुझावको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनका लागि पानीपोखरीस्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशनबमोजिम नै निकट भविष्यमा उक्त जग्गामा भवन निर्माण अगाडि बढाइने व्यहोरासमेत जानकारी गराए ।

कम्पनीले २३औं साधारणसभासमक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्ताव सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेको छ । त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३औं वार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभाव, लगानीकर्ता, नियमनकारी निकाय र कर्मचारी साथीहरूको टिमको सहयोगबाट बिमा बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भइरहेको जानकारी गराए ।

लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको र कम्पनीले क्रमशः आफ्नो स्थान सुरक्षित गर्दै गएकामा निकट भविष्यमै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL