Logo

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण



काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको आयोजनामा जुन २ बाट नवौं टी–२० विश्वकप सुरु हुँदैछ । यो विश्वकप नेपालका लागि पनि निकै महत्वको छ । किनकी नेपालले इतिहासमै दोश्रोपटक क्रिकेट विश्वकप खेल्दैछ । तर, केही समयअघि एउटा मुद्दामा फसेर केहीदिनअघि अदालतबाट सफाई पाएका नेपालका स्टार खेलडाी सन्दीप लामिछनेलाई विश्वकपका लागि अमेरिकाले भिसा नदिएसँगै अहिले अमेरिका धेरै क्रिकेटप्रेमी नेपालीको तारो बनेको छ ।

धेरै नेपाली क्रिकेट समर्थकहरुले खेलाडीलाई भिसा नदिने अमेरिकाले किन विश्वकप आयोजना गरेको भनेर प्रश्नपनि गरिरहेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसील)े किन अमेरिकालाई विश्वकप आयोजनाको सह–आयोजकको जिम्मेवारी दियो भन्नेबारे यहाँ केही स्पष्ट पार्न खोजिएको छ ।

यो सन १७५१ को कथा हो । ‘न्यूयोर्क विक्ली पोस्ट ब्वाई’मा प्रकाशित रिपोर्टका अनुसार लण्डन र न्यूयोर्कबीच क्रिकेट म्याच खेलिएको थियो जुन खेल न्युयोर्कले जित्यो । यो कथा ती मानिसहरूको लागि हो जो अझैपनि अमेरिकामा टी–२० विश्वकप किन खेलाइन्छ भनेर सोधिरहेका छन् ।

वेस्ट इन्डिजमा क्रिकेटको जरा गहिरो छ, त्यसैले त्यहाँ विश्वकप आयोजना भन्ने कुनै प्रश्न उठेको छैन । तर, अहिलेसम्म यो खेलमा अमेरिकाको प्रभाव न्यून छ र अमेरिकामा विश्वकप किन आयोजना भइरहेको छ भन्नेमा धेरैको प्रश्न छ । भने आइसीसीले किन यो प्रतियोगिताको १६ खेल अमेरिकामा आयोजना गरिरहेको छ । हामी यी प्रश्नको जवाफ खोन्दैछौ ।

अमेरिकामा क्रिकेटको पृष्ठभूमि

अमेरिकामा क्रिकेट खेलेको प्रारम्भिक प्रमाण १७०९ मा विलियम बर्ड नामक किसानले लेखेको डायरीबाट प्राप्त हुन्छ । उनी लेख्छन्, ‘हामी बिहान ६ बजे उठ्यौं र क्रिकेट खेल्यौं, मैले जितें ।’ सन् १७५४ मा अमेरिकाको संस्थापक मानिने बेन्जामिन फ्र्याङ्कलिनले क्रिकेटको नियमपुस्तिका इङ्ल्यान्डबाट अमेरिकामा ल्याएको प्रमाण पनि छ । त्यतिबेला अमेरिकी सैनिकहरूले यसलाई क्रिकेटको सट्टा ‘विकेट’ भन्ने गर्थे ।

यो खेल अमेरिकामा करिब २०० वर्षसम्म फस्टायो । अमेरिकाका २२ राज्यमा क्रिकेट खेलिन्थ्यो । सन १८४४ पहिलो अन्तर्राष्ट्रिय खेल क्यानाडा र न्यूयोर्कको टोलीबीच खेलिएको थियो । सन् १८४९ मा शिकागोमा भएको क्रिकेट खेलमा राष्ट्रपति अब्राहम लिंकन सहभागी भएको उल्लेख छ । इङ्ल्यान्ड, अमेरिका र क्यानडाबीच क्रिकेटमा प्रतिद्वन्द्वताका कथाहरू पनि छन् । तर, सन् १९१९ मा प्रथम विश्वयुद्धपछि अमेरिकामा क्रिकेटभन्दा बेसबल बढी लोकप्रिय भयो । क्रिकेटलाई दिनभर खेलाइने ढिलो खेल मानिन्थ्यो । बेसबल खेलाडी बेबे रुथको प्रसिद्धिलाई अमेरिकामा क्रिकेटको मृत्युको कारण मानिन्छ । उनलाई अमेरिकी क्रिकेटको हत्यारा पनि भनिन्छ । पछिल्ला वर्षहरुमा अमेरिकामा क्रिकेटको पुनरागमन भइरहेको छ । जसका पाँच प्रमुख कारणहरु रहेका छन् ।

अमेरिकामा क्रिकेटको फ्यानबेस

अमेरिका विश्वभरका मानिसहरू बसोबास गर्ने थोरै देशहरूमध्ये एक हो । देशको जनसंख्या ३३ करोडभन्दा बढी छ, जसमध्ये करिब ४ करोड ५० लाख अन्य देशबाट आएका आप्रवासी छन् । जसमध्ये ५० लाख दक्षिण एसियाली छन् र करिब १ करोड ५० लाख मानिस क्रिकेटका दर्शक बढी हुने देशका छन् जसमा अस्ट्रेलिया, अफ्रिका, युरोप र वेस्ट इन्डिज रहेका छन् । यसको मतलब अमेरिकामा हुने १६ खेलमा शीर्ष टोलीका लागि समर्थकको कुनै कमी हुनेछैन ।

भारत र पाकिस्तानबीचको खेल ९ जुनमा न्यूयोर्कमा हुनेछ । यसको टिकट ८० हजारदेखि १६ लाख रुपैयाँसम्म बिक्री भएको थियो । ३४ हजार दर्शक क्षमता भएको स्टेडियममा सबै टिकट बिक्री भइसकेको छ । टीम इण्डियाले न्यूयोर्कमा तीन र फ्लोरिडामा एक खेल खेल्नेछ, जसका सबै टिकटहरू पनि लगभग बिकिसकेका छन् । विशेष कुरा के हो भने अमेरिकामा दक्षिण एसियाली जनसंख्या बढेसँगै क्रिकेटको चलन पनि बढेको छ । सन् २००० मा अमेरिकामा २२ लाख दक्षिण एसियाली नागरिक हुँदा २ हजार मात्रै दर्ता भएका क्रिकेटर थिए । सन् २०२० मा दक्षिण एसियाली जनसंख्या बढेर ५५ लाख पुगेको छ, जसका कारण दर्ता भएका क्रिकेटरको संख्या पनि २.५० लाख पुगेको छ । दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता देशहरू पर्छन् ।

अमेरिकी खेलकुद बजार

क्रिकेट अमेरिकामा धेरै प्रसिद्ध छैन । रग्बी, बास्केटबल, आइस हक्की, बेसबल र फुटबलजस्ता खेलहरू यहाँ चल्छन् । अमेरिकी फुटबल लिगको टोली डलास काउब्वाइज सबैभन्दा धेरै कमाउने खेल टोलीहरूमध्ये पहिलो नम्बरमा छ । सबैभन्दा धेरै कमाउने शीर्ष १० टोलीमा ७ अमेरिकी र ३ अंग्रेजी फुटबल टोली छन् । यी १० टोलीहरू बास्केटबल, फुटबल र अमेरिकी फुटबलको एक हिस्सा हुन् । नेटवर्थमा शीर्ष १० खेलकुद टोलीहरू अमेरिकाका मात्र हुन् । यसमा डलास काउब्वाइज पनि शीर्ष स्थानमा छ, टोलीको वार्षिक कुल सम्पत्ति करिब ३५०० करोड रुपैयाँ रहेको छ । यसको तुलनामा आईपीएलको शीर्ष टोली मुम्बई इन्डियन्सको कुल सम्पत्ति ७२२ करोड मात्रै छ । यसको मतलब डलासको आम्दानी मुम्बईको भन्दा करिब ५ गुणा बढी छ । चार अमेरिकी लिगहरू पनि ब्रान्ड मूल्यमा शीर्ष–४ फ्रेन्चाइज लिगहरूमा समावेश छन् ।

अमेरिकी अर्थतन्त्र

अमेरिका जीडीपीको हिसाबले विश्वको सबैभन्दा धनी देश हो । यदि यहाँ क्रिकेट बढ्यो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ठूला अमेरिकी कम्पनीहरूलाई प्रायोजनका लागि लक्षित गर्नेछ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा पैसाको प्रवाह तीव्ररूपमा बढ्नेछ । अहिले क्रिकेटमा सबैभन्दा धेरै पैसा भारतीय बोर्डसँग छ । अमेरिकामा क्रिकेट सफल भएमा आईसीसीको आम्दानी पनि बीसीसीआईसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न सक्छ ।

अमेरिकामा क्रिकेटको प्रवद्र्धन गर्न आईसीसीले टि–२० विश्वकप सुरु हुनुअघि नै यहाँको फ्रेन्चाइज प्रतियोगिता मेजर लिग क्रिकेटलाई लिस्ट–ए दर्जा दिएको छ । यसको मतलब अब खेलाडी र टोलीको टी २० रेकर्डमा एमएलसीको अंक पनि गनिनेछ । आईसीसीको नियमअनुसार कुनै पनि एसोसिएट बोर्डमा हुने टी–२० लिगले लिस्ट ए का दर्जा पाउँदैन् । यद्यपि, अफगानिस्तान प्रिमियर लिग, एसोसिएट बोर्ड अफगानिस्तानको फ्रेन्चाइज टूर्नामेंटको तथ्यांकले रेकर्डहरूमा गणना गर्दैन । अमेरिका पनि आईसीसीको एसोसिएट बोर्ड हो तर, त्यहाँ क्रिकेटको प्रवद्र्धनका लागि एमएलसीलाई लिस्ट ए को मान्यता दिइएको हो ।

ओलम्पिकमा क्रिकेट

सन् २०२८ को ओलम्पिक अमेरिकामा हुनेछ, त्यसमा क्रिकेट समावेश छ । टी–२० विश्वकपमा १६ खेलको आयोजना गरेपछि अमेरिकाले ओलम्पिकमा पनि क्रिकेट खेल राम्ररी आयोजना गर्नेछ भन्ने विश्वास हुनेछ । ओलम्पिकमा २०६ देशको सहभागिता रहेको छ भने अहिलेसम्म क्रिकेट १०३ देशमा मात्र पुगेको छ । क्रिकेट अमेरिका र ओलम्पिकमा सामेल भएसँगै खेल विश्वव्यापी रूपमा बढ्नेछ । अमेरिका र ओलम्पिकको सहयोगमा धेरै देशले क्रिकेट खेल्न थाले भने क्रिकेट फुटबलको स्तरमा पुग्न सक्छ । हाल, व्यावसायिक फुटबल २०० भन्दा बढी देशहरूमा खेलिन्छ । जबकि क्रिकेट खेल्ने देश यो संख्याको आधा मात्रै छन् ।

अमेरिकामा क्रिकेटको विकास

अमेरिकाले सन् १८४४ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । तर, आईसीसीले सन् २००४ मा अमेरिकी टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मान्यता दिएको थियो । किनभने अमेरिकाले १५९ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन । उसले सन् २०१९ मा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय पनि खेलेको थियो । अमेरिकी टोलीले सेतो बलको ढाँचामा एक सय अन्तर्राष्ट्रिय खेल पनि खेल्न सकेको छैन । तर, पछिल्ला केही वर्षयता देशले क्रिकेटमा आफ्नो छाप छोड्न थालेको छ । फ्रेन्चाइज प्रतियोगिता मेजर लिग क्रिकेट यहाँ २०२३ मा सुरु भएको थियो । जहाँ निकोलस पूरन, क्विन्टन डी कक, हेनरिक क्लासेन, आन्द्रे रसेल, डेभोन कोनवे, म्याथ्यू वेड जस्ता शीर्ष क्रिकेटरहरू सहभागी थिए ।

अमेरिकाले पाकिस्तानका शायन जहाँगीर, अली खान, भारतका मिलिन्द कुमार, मोनांक पटेल र न्यूजिल्याण्डका कोरी एन्डरसन जस्ता खेलाडीलाई पनि आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको छ । जसको सहयोगमा टोलीले तेस्रो टी–२० सिरिजमा बंगलादेशलाई २–१ ले हराएको थियो । अब विश्वकपमा अमेरिकी टोलीले समूह चरणका खेल भारत, पाकिस्तान र आयरल्याण्डसँग खेल्नेछ । यहाँ टोलीले १–२ खेल पनि जित्यो भने देशका युवालाई क्रिकेट खेल्न प्रेरणा मिल्नेछ । यससँगै अमेरिकामा क्रिकेटको विकासको सम्भावना पनि धेरै हदसम्म बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL