Logo

संक्रमण पछिको पूँजी बजार : विगत, वर्तमान र भविष्य : राजकुमार तिमिल्सिनाको लेख

संक्रमण पछिको पूँजी बजार : विगत, वर्तमान र भविष्य : राजकुमार तिमिल्सिनाको लेख



कोरोना अर्थात कोभिड १९ को संक्रमणका कारण विगत एक महिना देखि विश्वव्यापी रुपमा नै आर्थिक सामाजिक तथा राजनीतिक सबै क्षेत्र अस्तव्यस्त भैरहेको छ । यस विषम परिस्थितिमा धन सम्पत्ति भन्दा पनि मानव जीवनको रक्षाका लागि सबै संयन्त्रहरु परिचालित भैरहेका छन् । यो भाइरसले सम्पूर्ण जगतलाई ्अग्नि परीक्षाको रुपमा परिक्षण गरि रहेकाले धन सम्पत्तिभन्दा पनि आफ्नो जीऊज्यानको सुरक्षाका लगि सबै अग्रपंतीमा लागि परेको देखिन्छ । धन सम्पत्ति गौण भएता पनि भोलिका दिनमा दिनचर्या सामान्य बन्दै जादा पुनः आफ्नो पेशा व्यवसायमा फर्कनै पर्दछ । तसर्थ यो संक्रमण पछाडि आफ्नो पेशा व्यवसाय तथा समग्र आर्थिक तथा समाजिक रुपमा यो भाईरसको असरका बारेमा पनि चर्चा परिचर्चा हुनु नौलो कुरा होइन, बरु यस्ता चर्चा परिचर्चाले आगामी दिनमा आफ्नो पेशा व्यवसायलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सहयोगी सिद्ध हुन सक्दछ ।

यस्तै चर्चा परिचर्चामा पर्ने मुख्य एजेण्डा भनेको आर्थिक र यस भित्रका अन्य महत्वपूर्ण पाटाहरु जोडिएका हुन्छन् । यिनै पाटाहरु मध्येको पूँजी बजार जसलाई विश्वका सबै मुलुकहरुले अर्थतन्त्रको ऐनाको रुपमा लिएका पाईन्छ । यसको मापन गर्ने सुचकलाई अर्थतन्त्रको ब्यारोमिटरको रुपमा लिई सम्पूर्ण अर्थतन्त्रको मापन तथा पूर्वानुमान गर्ने गरिन्छ । आज विश्वव्यापी रुपमा धितोपत्र कारोबार गर्ने एक्सचेञ्जतर्फ सबैको ध्यान केन्द्रीत हुँदै आएको अवस्थामा नेपाली लगानीकर्ताहरुमा समेत नेपालको पूँजीबजारको आगामी अवस्था के हुने कसो हुने भन्ने चिन्ता वा द्धिविधा हुनु सामान्य कुरा नै हो । नेपालको धितोपत्र बजारमा सुचिकृत कम्पनीहरुको अन्य कारोबार औजारहरुको नगन्य उपस्थितिले गर्दा नेपालको धितोपत्र बजार वा पूँजीबजार भन्ने वित्तिकै शेयर बजारलाई नै इंगित गर्दछ र सबैको बुझाई पनि यही रहेको पाईन्छ । तसर्थ सम्पूर्ण बजारलाई शेयर बजार भनि सम्बोधन गरिएको छ ।

हालको विषम परिस्थितिमा पनि नेपाल सरकार तथा सम्बन्धित नियमक निकायबाट केही सम्बोधन हुने हो भने लगानीकर्ता धेरै त्रसित हुनु पर्ला जस्तो देखिदैन तथापि लगानी गर्दा कम्पनीको आधारभुत विश्लेषण, तथा आफ्नो लगानी जोखिमको अवस्था र लगानी पर्याप्तता र अहिलेको संक्रमणको अवधि तथा पर्ने असर समेतलाई हेर्नु पर्ने हुन्छ ।

अहिलेको विश्वव्यापी संक्रमणको अवस्थामा पनि केही देशका शेयर कारोबार गर्ने एक्सचेञ्जहरु केही समयका लागि बन्द भएता पनि अवस्था केही समान्य हुँद गर्दा पुनः सञ्चालनमा आईसकेका छन तर धितोपत्रको कारोबार हुने नेपालको एक मात्र स्टक एक्सचेञ्ज लि.मा हालको विश्वव्यापि कोभिड १९ को संक्रमणका कारण भएको लकडाउनको अवधिभर कारोबार पूर्ण रुपमा बन्द भईरहेको छ । यसरी कारोबार बन्द हुँदा किन र कसरी बन्द भयो ? भन्नेलगायत कारोबार सुचारु हुनुपर्ने तर्कहरु समेत यदाकदा नउठेका हैनन् । अहिलेको अवस्थामा कारोबार सञ्चालन हुन सक्ने अवस्था छैन । यो अवस्थाको विषयमा सबै जिम्मेवार निकायहरुले समिक्षा गरि आगामि दिनमा यसको उचित सम्बोधन गर्नु पर्ने देखिन्छ ।

किन हुन सक्दैन शेयर कारोबार ?

कोभिड १९ का कारण नेपाल लगायत धेरै मुलुकमा लकडाउन भयो अझ सबैभन्दा धेरै संक्रमण रहेको विश्वको शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकामा समेत संकटकालो घोषणा गरी लकडाउन गरिएको छ । लकडाउन भएका मुलुकहरुमा समेत शेयर कारोबार सुचारु रहे किनकि ती मुलुकहरुमा पूर्ण स्वचालित कारोबार प्रणाली, पूर्ण स्वचालित राफसाफ प्रणाली र सबै लगानीकर्ताहरुले शेयर खरिद विक्री गर्ने आदेश आफै प्रणालीमा प्रविष्टी गर्न सक्दछन र लगभग यसरी कारोबार गर्न अनिवार्य जस्तै छ । कारोबार पनि डेलिभरी लिने वा डेलिभरी नलिने नाफा नोक्सानमा मात्र सहभागि हुने, केही प्रतिशत मार्जिन मात्र जम्मा गरेर पनि कारोबार गर्न पाईने लगायतका व्यवस्थाहरु रहेका छन ।

डेलिभरि लिने गरि भएका कारोबारहरुको हकमा पनि पूर्ण स्वचालित प्रकृयाबाट नै शेयर तथा रकम भुक्तानी र प्राप्ती हुने गर्दछ जस अनुसार विक्रीकर्ताको शेयर खाताबाट शेयर घट्ने र खरिद कर्ताको बैंक खाताबाट खरिद वापतको रकम घटी ब्रोकर वा क्लियरिङ्ग एण्ड सेटलमेन्ट गर्ने कम्पनीमा आँउछ । त्यसै गरि राफसाफ भए पश्चात खरिदकर्ताको शेयर खातामा शेयर र विक्रीकर्ताको बैंक खातामा रकम स्वतः जम्मा हुने प्रावधान रहेकोछ । तर नेपालको सन्दर्भमा अनलाईन कारोबार भनिएता पनि बैंक इन्टिग्रेसन विनाको कारोबार प्रणाली रहेको । उल्लेखित प्रणालीमा अनलाईन युजर लिई कारोबार गर्ने लगानीकर्ताको संख्या कुल लगानीकर्ताहरुको संख्याको तुलनामा ज्यादै कम रहेको र अनलाईन प्रकृयामार्फत सिमित कारोबार हुन सक्ने अवस्था भएता पनि राफसाफको लागि सबै लगानीकर्ताहरुले सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट मेरो शेयरको युजर लगइन लिएका छैनन् । कारोबार प्रणालीमा बैंक इन्टिग्रेसन नभएको हुँदा खरिद गरेको शेयर वापतको रकम र विक्री गरेको शेयर स्वचालित रुपमा राफसाफ सदस्य (ब्रोकर) कोमा आउने व्यवस्था नभएको र राफसाफ प्रकृया म्यानुअल रुपमा गर्नु पर्ने बाध्यकारी अवस्थाका कारण लकडाउनको अवस्थामा शेयर कारोबार तथा राफसाफ प्रकृय अवरुद्ध हुन पुगेको छ । पूर्ण स्वचालित कारोबार तथा राफसाफ प्रणाली नहँदा नेपालको शेयर बजारको इतिहासमा यस भन्दा अगाडि २०७२ सालको महा भुकम्पको समयमा बन्द हुन पुगेको थियो भने अहिलेको कोभिड १९ को संक्रमणको कारण लामो अवधिसम्म शेयर बजार बन्द गर्नुपर्ने बाध्यकारी अवस्थाको सृजना भएको छ ।

यसरी शेयर कारोबार लामो समयसम्म रोकिने अवस्थाको समाधानका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्च लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी सबैले सहकार्य गरेर आ–आफ्नो ठाँउबाट हालको कारोबार प्रणाली तथा राफसाफ चक्र लाई पूर्ण स्वचालित कारोबार प्रणाली निर्माण गरि कारोबार गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । अन्यथा नेपाल IOSCO को सदस्य भै सकेको अवस्थामा यस्तो कारोबार प्रणालीको कारण अन्तराष्ट्रिय रुपमा नै हाम्रो देशलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । तसर्थ यसतर्फ सबै जिम्मेवार भै लाग्नु पर्ने देखिन्छ ।

संक्रमण तथा महाविपत्ति पछाडि बजार खुल्दाको के छ विगतको प्रवृत्ती

नेपालको पूँजी बजार समग्र अर्थतन्त्रको सिद्धान्त, नीति नियम, विश्वव्यापी रुपमा रहेको अन्य पूँजी बजारको अवस्थाभन्दा अलि पृथक किसिमले चलेका प्रशस्त उदाहरणहरु छन । नेपालको पूँजी बजारको इतिहासलाई हेर्ने हो भने जब जब कुनै आपत विपदको अवस्था आउँछ, विश्वव्यापी रुपमा मन्दि आउँछ, जब देशमा द्धन्द हिंसाको राजनीति हावि हुन्छ तव नेपालको पूँजी बजारको कारोबारमा रौनकता आई नेप्से परिसुचक इन्डेक्समा समेत बढोत्तरी आएको पाईन्छ ।

जस्तै सशस्त्र माओबादी द्धन्दकालको अवस्थामा पनि शेयर करोबार उत्साहजनक नै रहनु र २००८ को विश्वव्यापी मन्दिको कारण धेरै देशका शेयर बजार घटिरहदा नेपालको अर्थतन्त्रमा केही सामान्य असर हुँदा हुदै पनि शेयर बजारको कारोबार मापन परिसुचक नेप्से इन्डेक्स तत्कालिन अवस्थामा सर्वाधिक (All time High) को विन्दुतिर आईपुगेको थियो । त्यसैगरि २०७२ को महाभुकम्पको एक वर्ष पछि नै अर्थतन्त्र सुधारोन्मुख हुँदा नहुँदै नेपालको शेयर बजार आ.व. २०७२।७३ मै १७१८.१५ इन्डेक्स कायम गर्न सफल भएको थियो । यस्तै नेप्से परिसुचक १८८१ पुग्दा पनि नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा मात्र थियो ।

नेपालको पूँजी बजारको इतिहासलाई हेर्ने हो भने जब जब कुनै आपत विपदको अवस्था आउँछ, विश्वव्यापी रुपमा मन्दि आउँछ, जब देशमा द्धन्द हिंसाको राजनीति हावि हुन्छ तव नेपालको पूँजी बजारको कारोबारमा रौनकता आई नेप्से परिसुचक इन्डेक्समा समेत बढोत्तरी आएको पाईन्छ ।

यसले के देखाउँछ भने नेपालको अर्थतन्त्र राम्रो अवस्थामा नभएको बेलामा अन्य उद्योग व्यवसाय शिथिल भै रहँदा अन्य क्षेत्रको लगानी शेयर बजारमा आकर्षित भएको र नेपालको अर्थव्यवस्था विश्व अर्थतन्त्रसँग प्रत्यक्ष रुपमा नजोडिएको, नेपालको शेयर बजारमा प्रत्यक्ष विदेशी लगानी नभएको र विदेशी कम्पनीहरु नेपाल स्टक एक्सचेञ्ज लि. मा सुचिकृत नभएको अर्थात क्रस बोर्डर इन्भेष्टमेन्ट र क्रम बोर्डर लिस्टिङ नभएकाले विश्व अर्थतन्त्रको प्रत्यक्ष असर नेपालमा कम पर्नेे गरेको देखिन्छ । तसर्थ संक्रमणकालिन अवस्थामा अल्पकालिन र मनौवैज्ञानिक प्रभाव परेता पनि दीर्घकालिन असर कम पर्नेे देखिन्छ ।

के हुन्छ बजार खुलेपछिको दिशा ?

आम लगानीकर्ताको चासोको विषय यो देखिएको छ कि लकडाउनको आवधि समाप्ती पछि बजार खुल्दा के हुन्छ ? पूँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिई बजार मापन सुचकलाई ऐनाको रुपमा चित्रण गरिन्छ र यस्तो बजारमा अर्थतन्त्रमा पर्ने असरले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्दछ । यो विश्व व्यापी संक्रमणले गर्दा विश्वका शक्तिशाली राष्ट्रहरुलाई समेत आफ्नो अर्थतन्त्रको अवस्थालाई जोगाउन हम्मेहम्मे परिरहेको अवस्था देखिन्छ ।

अर्थतन्त्रलाई जोगाउन विभिन्न राहत प्याकेज समेत घोषणा गरिरहेका छन तथापि सरकारी राहतले मात्र समग्र अर्थतन्त्रलाई जोगाउन र आगामि दिनमा अर्थतन्त्रको विकास र विस्तार हुन सक्दैन । यो त केवल अर्थतन्त्रलाई जिवित राख्न प्रयोग गरिने साधारण औषधि मात्र हो । अर्थतन्त्रको अवस्था सामान्य रुपमा आउँन केही समय लाग्न पनि सक्दछ भने पूँजी बजारमा यसको टड्कारो असर पर्ने नै देखिन्छ । तर पनि हाम्रो जस्तो विकसोन्मुख मुलुकहरुको लागि कृषि तथा उत्पादकत्वमा बृद्धि गर्न सकिएमा यो अवसर पनि हुन सक्दछ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्बोधन हुने गरि सीआरआरमा लचकता, पुनर्कर्जा लगायतमा सुविधा सहितका राहत प्याकेज घोषणा गरेकाले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा दिन सक्ने क्षमता र तरलताको अवस्थामा केही सहज भई बैंक तथा वित्तीय संस्थाहरुको व्यापार तथा नाफामा सहयोगी सिद्ध हुने देखिन्छ ।

अहिलेको विषम परिस्थितिमा विश्वका शेयर बजारहरुमा के कस्तो असर परेको छ भन्ने कुरालाई नियाल्दा सबैभन्दा कम लगभग ५ प्रतिशत हाराहारीमा स्विट्जरल्याण्डको एमएसआई घटेको छ भने विश्वका ठुला एक्सचेञ्ज मध्येका भारत, ब्राजिल, इटली, फ्रान्स बेल्जियम र रसियाको शेयर बजारमा लगभग ३० प्रतिशतसम्म घटेर अहिले बढ्ने क्रममा रहेका छन । सबैभन्दा धेरै संक्रमित संख्या भएको अमेरिकमा समेत गएको हप्ता ४६ वर्षपछि एकै हप्तामा भएको बढोत्तरीले नयाँ रेकर्ड नै कायम गरको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको ठूलो मात्रामा जलविद्युत क्षेत्रमा ऋण प्रबाह भैरहेकोमा जलविद्युत क्षेत्रका परियोजना निमार्णमा केही ठूलो परियोजना अन्र्तगत निर्माण हुने सहयाक परियोजनाहरुलाई चाहिने रकम पावर बन्ड जारी गरि उठाउन सक्ने व्यवस्था गरि दिनु पर्दछ । जसले गर्दा बैंकिङ्ग प्रणालीमा आई सकेको निक्षेपलाई कृषि लगायतका अन्य उत्पादन मुलक क्षेत्रमा ऋण प्रबाह गर्न सहज हुन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि लगभग १६६८ को विन्दुसम्म पुगेको नेप्से परिसुचक इन्डेक्स कोरोना महामारीको अन्तरराष्ट्रिय संक्रमणका समाचारहरु सम्प्रेषणसँगै नेप्से परिसुचक इन्डेक्स घटेर १२५१ विन्दुसम्म आई सकेको छ । यो भनेको झण्डै २६ प्रतिशतको गिरावट भै सकेकाले अन्य अन्तरराष्ट्रिय बजारकै हाराहारी घटिसकेकाले संक्रमणको अवस्थामा सुधारसँगै बजार खुल्दा केही घटेता पनि अन्तरराष्ट्रिय प्रवृत्ती अनुरुप नै बढ्न सक्ने सम्भाबना हुन सक्दछ ।

बजार प्रति आशाबादी हुन सकिने आधारहरु

हालको विषम परिस्थितीलाई हेरेर आगामी दिनमा बीमा व्यवसाय निकै फस्टाउन सक्ने देखिन्छ । अहिलेको महामारीको अवस्थाले आम जनमानसमा बीमा अपरिहार्य रहेछ भन्ने छाप परेको छ । जसले गर्दा बीमा व्यवसायमा हुने बृद्धिले सुचिकृत बीमा कम्पनीको नाफामा पनि सकारात्मक असर पर्ने देखिन्छ । बैंकिङ्ग क्षेत्रका लागि करिब नौ महिनाको आयमा असर नपरेको र नेपाल राष्ट्र बैंकले घोषणा गरेको राहत प्याकेजका कारण तरलताका अवस्थामा केही खुकुलो हुने र सीआरआरमा भएको कटौतीले झण्डै ३५ अर्व रुपैयाँभन्दा बढी लगानीयोग्य पूँजी लगानी गरि बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफामा सन्तुलन कायम गर्न सक्दछन । साथै खर्च कटौती पुनर्कर्जाका व्यवस्थाले नाफामा खासै असर पर्ने देखिदैन ।

तर बैंक तथा वित्तीय संस्थाले कर्जाको किस्ता तथा व्याज असुली गर्ने व्यवस्थामा तीन महिनासम्म थप गरेकाले बैंक तथा वित्तीय संस्थाहरुको चालू आर्थिक बर्ष समाप्ती पछाडि बार्षिक साधारणसभा गरि लाभाशं पाँउने अवधि भने लगभग तीन महिना पछाडि धकिलिन सक्ने देखिन्छ । जलविद्युत क्षेत्रका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई परियोजना निर्माण गर्नु भन्दा ‘पावर बण्ड’ जारी गरि रकम जुटाउन सके बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाकोभन्दा कम खर्चमा रकमको उपलब्धता हुने र नाफामा सन्तुलन कायम गर्न सकिने देखिन्छ । साथै यसरी अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको ठूलो लगानी रहेको जलविद्युत क्षेत्रमा जाने कर्जालाई उत्पादन ुलक क्षेत्रमा लगाई उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।

यसरी नेपाल स्टक एक्सचेञ्ज लि.मा सुचिकृत मुख्य क्षेत्रका कम्पनीहरुको नाफामा धेरै असर नपरेमा नेप्सेमा सुचिकृत अन्य क्षेत्रको प्रतिशत कम भएकाले त्यसले बजारमा खासै अर्थ राख्दैन । तसर्थ हालको विषम परिस्थितिमा पनि नेपाल सरकार तथा सम्बन्धित नियमक निकायबाट केही सम्बोधन हुने हो भने लगानीकर्ता धेरै त्रसित हुनु पर्ला जस्तो देखिदैन तथापि लगानी गर्दा कम्पनीको आधारभुत विश्लेषण, तथा आफ्नो लगानी जोखिमको अवस्था र लगानी पर्याप्तता र अहिलेको संक्रमणको अवधि तथा पर्ने असर समेतलाई हेर्नु पर्ने हुन्छ ।

बजार सुधारका लागि के गर्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकले निक्षेपको व्याजदरमा केही घटाउँदा निक्षेपकर्तालाई केही असहज होला तर समग्र अर्थतन्त्रलाई जोगाउन कर्जाको व्याजदर घटाई कर्जा लिने ऋणी र उद्योगी व्यवसायीलाई उचित सम्बोधन गर्नु पर्ने देखिन्छ । साथै बैंक वित्तीय संस्थाहरुको ठूलो मात्रामा जलविधुत क्षेत्रमा ऋण प्रबाह भैरहेकोमा जलविधुत क्षेत्रका परियोजना निमार्णमा केही ठूलो परियोजना अन्र्तगत निर्माण हुने सहयाक परियोजनाहरुलाई चाहिने रकम पावर बन्ड जारी गरि उठाउन सक्ने गरि व्यवस्था गरि दिनु पर्दछ । जसले गर्दा बैंकिङ्ग प्रणालीमा आई सकेको निक्षेपलाई कृषि लगायतका अन्य उत्पादन मुलक क्षेत्रमा ऋण प्रबाह गर्न सहज हुन्छ । हालको संक्रमणका कारण तत्कालका लागि रेमिटान्समा केही कमि हुने देखिन्छ त्यसको सन्तुलनका लागि नेपाल सरकारले बहुमुल्य र नेपालमै उत्पादन सम्भब भएका केही बस्तुहरुको आयतमा कटौती गरि सकेको र नेपालको अर्थतन्त्रमा रेमिटान्सको प्रभाब न्यूनिकरण अघि बढ्नका लागि कृषि, जलविद्युत र पर्यटनलाई अर्थतन्त्रको मुख्य पाटोका रुपमा चित्रण गरिनु पर्दछ ।

त्यसै गरि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो राखि प्रबाह गरेका मार्जिन प्रकृतीका कर्जाहरुमा लकडाउन हुनुभन्दा अगाडि नै लगभग १६६८ पुगेको नेप्से परिसुचक इन्डेक्स झरेर १२५१ को हाराहारी आईसकेको र बजार खुल्ने वित्तिकै एक दुई दिन बजार घट्दा मार्जिन कल आई थप विक्री चाप पर्न गई समग्र बजार नै धरासायी हुन सक्छ । यस्तो अवस्थामा नयाँ कर्जा लिन वा नविकरण गर्दा पुर्नमुल्यांकन गरि थप कर्जा लिन नपाउने गरि हाल कायम कर्जाको मर्जिन कलको सिमालाई ८० प्रतिशनसम्म मुल्यांकन गर्न पाँउने व्यवस्था गर्दा बजारलाई केही राहत पुग्ने देखिन्छ । यस्तै अहिले बैंक तथा वित्तीय संस्थाले सुचिकृत कम्पनीको सेयरमा गर्दै आएको लगानीको सिमा बढाउनु पर्ने हुन्छ यसो गर्दा बजारमा लगानीको स्रोत बढ्नेछ ।

अहिलेको परिस्थितिमा पर्यटन, होटल लगायतका केही उधोग व्यवसायमा असर परेको छ तर ति उधोगहरुको नेपाल स्टक एक्सचेञ्ज लि.मा सुचिकृत संख्यालाई हेर्ने हो भने नगन्य रुपमा रहेको छ । तथापि ती उधोग व्यवसायहरुलाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैकबाट उचित सम्बोधन गर्न सकेमा छिटै सामान्य अवस्थामा आउन सक्ने देखिन्छ । साथै अहिले कारोबार बन्द रहेकै मौकालाई सदुपयोग गर्दै शेयर कारोबार प्रणालीलाई बैंक खाता तथा डिम्याट खाता इन्टिग्रेसन सहितको पूर्ण स्वचालित कारोबार प्रणाली निर्माण गर्न सकेमा नेपालको शेयरबजारलाई पनि आधुनिक बजारको रुपमा विकास गर्न सकिन्छ ।

( तिमिल्सिना नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा भिजन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन)

प्रतिक्रिया दिनुहोस्