विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण विश्व त्रसित छ । यसको रोकथाम र नियन्त्रणका लागि नेपालले गत मार्च २४ देखि पुर्ण लकडाउन गरेको छ । छिमेकी देश भारतसँगका सिमानाकाहरु बन्द गरिएका छन् भने आन्तरिक तथा बाह्य सबै उडानहरु स्थगित गरिएका छन् । जिवन रक्षाका लागि र भाईरसका विरुद्ध सेवा प्रवाह गर्न केन्द्रिय तथा स्थानीय सरकारका सबै संयन्त्र, स्वास्थ्य सेवामा काम गर्ने डाक्टर, नर्स, पत्रकार, सुरक्षाकर्मीहरु खटिईरहेका छन् । महामारी रोक्न तथा फैलन नदिन कडा कदम चालेपनि नेपालमा संक्रमितहरुको संख्यामा दिनदिनै वृद्धि भईरहेकोे छ । यदि समयमै कोरोना भाईरसको महामारी नियन्त्रण गर्न सकिएन भने सामाजिक तथा आर्थिक अवस्थामा ठुलो खतरा उत्पन्न हुने देखिएको छ । त्यसैले बैंकहरुले कोरोनाबाट उत्पन्न हुने जोखिमलाई मुल्याङ्कन गरी अर्थ व्यवस्थालाई बचाउनका लागि आफ्नो सेवालाई निरन्तरता दिन जरुरी छ ।
कोभिड १९ एक जैविक र खतरनाक रोग हो यसबाट हजारौं मानिसहरु प्रभावित भएका छन भने, यसको नियन्त्रणमा समेत कठिनाई भएको छ । यसले विश्वका धेरै देशहरुमा आफ्नो विरासत जमाएपछि सम्पन्न देशहरु पनि यसबाट चिन्तित बनेका छन् । धेरैले यसकै कारण ज्यान गुमाए । विश्वका प्रायः देशहरु नेपालजस्तै लकडाउनको अवस्थामा छन् । धेरै मानिसहरु यसको चुनौतिमा पनि छन् । यसले विश्वमै ठुलो समस्या निम्त्याएको छ भने, कसैलाई थाहा छैन यसको अन्त्य कहिले हुन्छ भनेर । न यसको भ्याक्सिन नै हालसम्म बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै भ्याक्सिन नबन्दासम्म यसलाई पूर्ण नियन्त्रण गर्न कठिनाई हुने बताएको छ । कोरोना भाईरसले मानव जीवनमा तथा दैनिक जिविकोपार्जनमा अभुतपूर्व त्रास ल्याएको छ जसका कारण २१ औँ शताव्दीकै ठुलो मन्दी नहोला भन्न सकिदैन ।
अन्तररष्ट्रिरय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशत खस्केर मन्दीतिर धकेलिने प्रक्षेपण गरिसकेको छ । जसमध्ये १ सय ७० ओटा देशको प्रतिव्यक्ति आय नकारात्मक वृद्धि हुनेछ । २०२० मा एशियाको आर्थिक वृद्धि शुन्य प्रतिशतमा झर्नेछ जुन पछिल्लो ६ दशकयताकै खराब अवस्था हो । विश्व बैंकले पर्यटन, रेमिटान्स, व्यापार तथा औद्योगिकलगायत अन्य आर्थिक क्षेत्रहरुमा मन्दी आउँदा नेपालको अर्थिक वृद्धि पनि बढिमा २ दशमलव ८ प्रतिशतको हुने प्रक्षेपण गरेको छ । महामारीले अर्थतन्त्रलाई गम्भिर रुपमा उधोगतिमा लैजाने निश्चित छ ।
व्यवसाय निरन्तरताको तयारी आवश्यक
कोभिड १९ को अन्त्य कहिले हुन्छ र यसले के कति दूरगामी प्रभाव पार्छ भन्ने एकिन नभएको अवस्थामा बैंकहरुले लकडाउन अबधिका लागि मात्र होइन कोरोना अन्त्य नहुन्जेल सम्मको लागि व्यवसायिक योजना बनाएर व्यवसायलाई निरन्तर सेवा दिनु आवश्यक छ । यसरी योजना बनाएर अघि बढेमा जोखिम कम गर्न सकिन्छ । जसमार्फत महामारीको अन्त्य नहुँदासम्म बैंकिङ क्षेत्रहरु निरन्तर खुलाउन, श्रमिकहरुको दैनिक जिविकोपार्जन चलाउन तथा वित्तीय चुनौतिको सामना गर्न पनि मद्दत पुग्नेछ । यस्तो बेलामा हामीले महामारी पछिको चुनौति सामना गर्न तथा यसको असरबाट माथि उठ्न छोटो अवधिका लागि विशेष र सोही अनुरुप दिर्घकालिन तयारी गर्नु जरुरी छ । बैंकहरुले आफ्नो जनशक्ति व्यवस्थापन, संचालन प्रक्रिया, वित्तीय अवस्था र सूचना प्रविधिको मुल्याङकन गरी रणनीति तयार गर्नुपर्दछ ।
यसका लागि बैंक वित्तीय संस्थाहरुले आफ्ना कर्मचारी तथा ग्राहकको स्वास्थ्यमा विशेष ख्याल राखेर अघि बढ्नुपर्ने हुन्छ । यस्तो महामारीको बेलामा बैंकको सुरक्षा तथा साईबर फ्रडबाट बच्न साईबर सुरक्षामा पनि त्यत्तिकै मात्रामा ध्यान दिनु जरुरी छ । वित्तीय क्षेत्रहरु अर्थतन्त्रका प्रमुख मेरुदण्ड हुन जसमार्फत अर्थतन्त्रलाई चलायमान बनाईराख्न मद्दत पुग्छ । यसरी रणनीति तयार गरेर अघि बढ्दा बजारमा तरलता अभावको सिर्जना नभई सर्वसाधारणको दैनिक जिविकोपार्जनमा सहयोग पुग्दछ र व्यवसाय बन्द हुने अवस्थाबाट बच्न सकिनेछ ।
कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुको सुरक्षालाई कसरी ध्यान दिने ?
लकडाउन तथा महामारीको अवस्थामा कर्मचारीको उपस्थिति सबैभन्दा ठुलो चुनौति हो । यस्तो बेलामा कर्मचारीमा पनि तनाव र चिन्ताका साथै परिवारको स्वास्थ्यका बारेमा पनि त्यत्तिकै सोच बढी हुन्छ । त्यसैले यस्तो बेलामा कर्मचारी सदस्यहरुको स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको आदेशअनुसार विशेष ध्यान दिनुपर्छ ताकी कर्मचारीहरुले आफु स्वस्थ र सुरक्षित रहेको महशुस गरुन ।
महामारीको अवस्थामा अभावको व्यवस्थापनका बारेमा छलफल तथा सुभावको कमी हुन नदिन एक टाक्स फोर्स बनाउन समेत जरुरी छ । यस्तै बैंक तथा वित्तीय क्षेत्रमा हुने विभिन्न किसिमका अप्ठ्याराहरुको सामना गर्न मेडिकल टिम, सुचना तथा संचार टिम पनि त्यही अनुसार खटाउनु पर्छ । जसमार्फत कोरोना भाईरसको प्रकोपको बारेमा सही समयमा सही सुचना आदानप्रदान गर्न सकियोस । सत्य सुचनाको प्रसारले ग्राहक, कर्मचारी तथा यसका सरोकारवालाहरुमा सकारात्मक सन्देश जानुका साथै आत्मबल बढाउन सहयोग पुग्छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवालाई निरन्तरता दिँदा आफ्नो कार्यालयको सरसफाईमा ध्यान दिने, कार्यालयलाई निरन्तर जिवाणुरहित तुल्याउने काम गर्नुपर्छ । यस्तै कार्यालय प्रवेश गर्ने पोईन्टमा ग्राहक, कर्मचारी तथा सरोकारवालाहरुको तापक्रम नाप्ने व्यवस्था मिलाउनुपर्छ । यस्तै कर्मचारीका लागि मास्क र सेनिटाईजर अनिवार्य गरिनुपर्छ । कार्यालयमा प्राथमिक उपचारको व्यवस्था गरिनुपर्छ र सामाजिक दुरी पनि कायम गर्नै कार्य गर्नुपर्छ । पैसा समात्दा पञ्जाका प्रयोग गर्नुपर्छ जसका कारण संक्रमित व्यक्तिबाट पनि बच्न सजिलो हुन्छ । यस्तै संक्रमितहरुका पहिचान भएमा सम्बन्धित चिकित्सकहरुसँगा सम्पर्क गर्न सक्नुपर्छ ।
यस्तै महामारीको बेलामा वित्तीय संस्थाहरुले कार्यालय समय हेरफेर गर्ने, कर्मचारीको संख्यामा घटबढ गर्ने लगायतका कार्य गरेर पनि सेवा प्रवाह गर्न सक्छन् । कार्यालयमा सेवा प्रवाह गर्दा सामाजिक दुरी कायम गर्नका लागि कार्यालयमा निश्चित डिजाईन गर्ने । कार्यालयको कुनै निर्णय गर्नुपर्दा भिडियो कन्फ्रेन्सको सहयोग लिनेलगायतका कामहरु गर्न सकिन्छ । यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाहरले कार्यविभाजनमा पनि सोही अनुसार हेरफेर गर्न र आवश्यक निर्णयहरु पनि लिन सक्नेछन् ।
ग्राहकलाई आवश्यक सेवा प्रदान गर्न आपुर्ति श्रृङखलालाई कसरी व्यवस्थापन गर्ने ?
बजारमा तरलताको अभाव हुन नदिनु बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख दायित्व हो । आफ्ना ग्राहक तथा सेवाग्राहीका लागि निक्षेप संकलन, भुक्तानी, रकम पठाउने, झिक्नेलगायतका कामहरु गर्न सक्छन् ।
यस्तै महामारीको बेलामा बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गरेजस्तै एटीएमलगायतमार्फत सेवा दिन सक्छन् । त्यसैगरी सबैजना अनलाईन बैंकिङ्ग र एटिएमको पहँुचमा नरहेको ग्राहक पनि हुन्छन । सोही अनुसार प्रत्येक नागरिकलाई सेवा दिन पूर्ण सुरक्षासहित निश्चित शाखाहरु पनि संचालन गर्नुपर्छ । त्यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले पनि कारोना भाईरसको समाचार प्रसार गरिरहनुपर्छ ।
यो महामारीले हामी प्रत्येकलाई डिजिटल सेवालाई प्राथमिकतामा राख्नका लागि पाठ सिकाएको छ । यसका लागि बैंक वित्तीय संस्थाहरुले ईन्टरनेट बैंकिङ्गको नीति ल्याएर मात्रै हुँदैन यसका लागि बैंकहरुले पनि यसको सुरक्षा र प्रविधि क्षेत्रमा विशेष ध्यान दिनुपर्छ । यसका लािग छुट्टै आईटी टिम र सोही अनुसारको सुविधा पनि प्रदान गर्न सक्नुपर्दछ । जसका कारण साईबर सुरक्षामा कुनै अप्ठ्यारो अवस्था नआओस ।
लकडाउनले विश्वभरीका बैंक तथा वित्तीय संस्थामा ठुलो नकारात्मक असर पर्नेमा कुनै शंका छैन । पछिल्लो समय कोरोना भाईरसको फैलावटका कारण बन्द भएका होटल, एयरलाईन्स, विद्यालय, कलेज, उद्योग कलकारखानालगायतका कारण स्वास्थ्य समस्या र वित्तीय समस्या आउनुका साथै खाद्य पदार्थको आपूर्तिमा समेत कमि हुन गई आवश्यक बस्तुहरु महङ्गिने पक्का छ । यस्तै बैंकहरुको राजस्वमा कमि आउने छ । माग र आपुर्तिमा असर पर्दा उद्योग व्यवसायहरु धरासायी हुन सक्ने सम्भाव पनि देखिछ । पर्यटन क्षेत्र, उड्ययन क्षेत्र र निर्माण क्षेत्र खासगरी महामारीको चपेटामा परेकाले यी क्षेत्रहरुलाई विशेष ध्यान दिनु जरुरी छ ।
साना उद्योगधन्दा तथा एसएमइजहरु बन्द हुँदा यहाँको रोजगारी केही हदसम्म गुम्नेछ । यस्तै कामको शिलसिलामा देशबाहिर रोजगारीका लागि गएका धेरैजसो नेपालीहरु स्वदेश फिर्ता हुनेछन् । यसो हुँदा नेपालको अवस्था अमेरिकाजस्तै अर्थात १५ देखि २० मिलियन मानिसहरु बेरोजगार भएजस्तो अवस्था आउनेछ ।
अन्तरराष्ट्रिरय बजारमा बेरोजगारीको समस्या आएपछि नेपालको कुल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत बराबरको योगदान दिएको विप्रेषण स्वात्तै घट्ने सम्भावना छ । यसो हुँदा रेमिटान्स घट्ने र मानिसहरुको आयमा ठुलो गिरावट हुँदा सेवा तथा बस्तुहरुको मागमा समेत गिरावट आउने छ । आपूर्ति प्रणालीमा समस्या आउँदा आयात तथा निर्यातमा समेत समस्या देखिनेछ । रेमिटान्स तथा पर्यटन क्षेत्रबाट हुने आम्दानीको कमि हुँदा विदेशी विनिमय संचितीमा समेत प्रभाव पार्न सक्नेछ ।
नेपालको अर्थतन्त्रलाई राहत पुर्याउन यी सबै समस्याहरु वित्त तथा मौद्रिक नीतिमा समेटिनु आवश्यक छ । यसका लागि नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर तिर्ने समय थप्ने, व्यवसायलाई सहजीकरण गर्न विभिन्न कदम चाल्ने काम गरिसकेको छ । यस्तै प्रत्येक बैंकहरुले पनि सोही अनुसार आफ्ना ग्राहकहरुको समस्याका बारेमा विशेष ध्यान दिन जरुरी छ । र यसका लागि बेलाबेलामा सुझाव लिँदै व्यवसायलाई निरन्तरता दिनु आवश्यक छ ।
निष्कर्ष
एक दिन, महिना या बर्षपछि कोरोना भाईरसको महामारी अन्त्य हुनेछ । तर, यसले विश्व अर्थतन्त्रमा पारेको असरलाई पुरानै अवस्थामा फर्काउन भने लामो समय लाग्न सक्छ । यसका लागि विभिन्न देशहरुले कोरोनाबाट परेको असरलाई मध्यनजर गरी प्राथमिकतामा पुनर्विचार गर्नुपर्नेछ ।
बैंक वित्तीय संस्थाहरुले अर्थतन्त्र चलायमान बनाईराख्न मद्दत गर्नुपर्छ । यसका लागि दिगो व्यवसायको योजना बनाउन जरुरी छ । यसरी सबैले आफ्ना ग्राहकको भलाईका लागि खटिनुपर्ने अवस्था छ । त्यसैले आउनुहोस यो महामारीको सामना गर्न सबै मिलेर हातेमालो गरौं ।
(डा. आत्रेय नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बैंक फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (बीएफआईएन)का प्रबन्ध निर्देशक हुन् )