कोरोनाको महामारीसँगै अहिले नेपालको होटल उद्योगमात्र होइन कि देशकै स्थिति के हुन्छ भन्ने अवस्था छ । अहिले सरकारलगायत हामी सबैको दायित्व भनेको नेपालीहरुको जीवनरक्षा र सुरक्षा नै हो । देशलाई संक्रमणबाट बचाउनु पर्ने भएकाले सबैको ध्यान अहिले त्यतै छ । संक्रमण नफैलियोस भनेर अहिले हामी सबै लकडाउन गरेर घरमा बसिरहेका छौं । यो बेलामा जीवनको कुरा महत्वपूर्ण हो । व्यापार, व्यवसाय, उद्योगमा तुरुन्तै फोकस गर्ने बेला होइन यो । पहिले त यो लकडाउन कति लामो जान्छ भन्ने नै अन्यौलमा छौं हामी । अहिले हामी पूरै अन्यौलताको अवस्थामा गुज्रिरहेका छौं । यो समस्या कसरी अगाढि बढ्छ र कुन दिशामा वा कति गहिराईमा जान्छ भन्ने कुरा समयले मात्रै बताउने कुरा हो । त्यसैले अहिलेको अवस्था पर्ख र हेरको अवस्था हो ।
पर्यटनको कुरा गर्दा भ्रमण बर्ष २०२० भनेर सरकारले ठूलो लगानी गरेको थियो र अघि बढिसकेको अवस्थामा कोरोना संक्रमणका कारण अहिले स्थगित गरेर सचिवालयसमेत विघटन भईसकेको अवस्था छ । अहिलेको अवस्थामा भ्रमण वर्ष हामीले चाहेर पनि अघि बढाउन सक्ने अवस्था रहेन । अहिले जस्तो समस्या आउँछ, त्यसरी नै समाधान गर्दै जानुपर्छ । यो क्षेत्रमा ठूलो लगानी भएको छ । तर, अबको केही समयसम्म त्यो लगानीले कुनै प्रतिफल दिने अवस्था देखिदैन । अहिले हामी लकडाउनको तेश्रो साता पार गरेर थप दुईसाताको लकडाउन सफल पार्न संयमित र धैर्यताका साथ बसिरहेका छौं । यो अवस्थामा सबैले आफ्नो ढोकामा ताल्चा मारेर बसेको अवस्था छ ।
होटल व्यवसायको कुरा गर्ने हो भने अवस्था नाजुक छ । तर, नाजुक भयो भन्दैमा हातखुट्टा छोड्ने कुरा पनि त भएन । हामी सरकारका बिभिन्न तह र तप्कासँग छलफल गरिरहेका छौं । हामीले सकेको काम हामी गरिरहेका छौं । यो विषम परिस्थितिबाट निस्केर कसरी अघि बढने भनेर छलफल गरिहेका छौं । अहिलेको टडकारो समस्या भनेको के हो भने हामीसँग कामगर्ने कर्मचारीहरु जो छन ति कर्मचारीको जीवनयापनका लागि के गर्ने भन्ने हो । हाम्रो ब्यापार त पूरै ठप्प छ, यो अवस्थामा उनीहरुलाई के गर्ने भन्ने ठूलो समस्या छ । दुख परेको समयमा हामीले साथ छोडन पनि मिल्दैन । त्यसैले उनीहरुका लागि के गर्न सकिन्छ भनेर निरन्तर छलफलमा छौं । तर, यो समस्या भनेको होटललाईनको मात्रै होईन देशमा जे जति कलकारखाना, उद्योगधन्दा चलिरहेका छन् सबैको समस्या हो । कर्मचारीले पनि आफ्नो परिवार पाल्नु पर्यो । हामी ति सबै समस्या समाधान कसरी गर्न सकिन्छ भनेर लागिरहेका छौं ।
‘यो आत्तिने समय होईन । लकडाउन कति लामो जान्छ भन्ने कुरामा धेरै कुरा भर पर्छ । एक दुई महिनामा समस्याको समाधान गर्न सक्यौं भने बैंकको लोन तिर्न कुनै गाह्रो हुने छैन । तर, समय लम्बिदै गयो भने केही सोच्नु पर्ने अवस्था आउन सक्छ । यो त भर्खर सुरुआतमात्रै हो । एक बर्ष पनि लम्बिन सक्छ यो लकडाउन । यदि भोलि लकडाउन समाप्त भयो र हामी सामान्य अवस्थामा फक्र्याै भने हाम्रो आर्थिक समस्या बल्ल सुरु हुन्छ । अहिले मान्छेहरु सबै लकडाउनमा छन । यतातिर हामीले विचार नै गरेका हुँदैनौं । तर भोलि जब विस्तारै नर्मल अवस्थामा आउन थाल्छ तव समस्या के कति हो भन्ने बाहिर आउँछ ।’
अबका दिनका नेपाली होटल उद्योग बचाउन नेपाल सरकारसँगै सबैले एउटा गम्भीर प्रयास गर्नैपर्छ । नेपाली होटलमा आएर बस्ने भनेको विदेशी पर्यटकनै हुन् । जबसम्म नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सकिँदैन, तबसम्म हुनेवाला केही छैन । चाहे जस्तोसुकै प्याकेज ल्याऔ, केही हुनेवाला छैन । अमेरिका, युरोप, क्यानाडालगायतका देशमा त्यस्तो ठूलो समस्या छ, त्यहाँको मान्छे अहिले नै तुरुन्तै आउने अवस्था छैन भने यस्तो बेलामा राहत प्याकेजमात्रै ल्याएर के गर्ने भन्ने कुरा हो । अहिलेको अवस्थामा प्याकेज भन्दा पनि कोरोनासँग कसरी जुुध्न सकिन्छ भन्ने कुरा ठूलो हो । त्यसैले हामी अहिले त्यसैमा केन्द्रित भएर लागेका छौं ।
ल मानौं, हाम्रो सरकारले सबै दियो रे के पर्यटक आउँछन त यस्तो बेलामा ? आउँदैनन नि हैन र ? त्यसकारणले पहिले लकडाउनको अवधि हेरौं । यो भन्दा धेरै क्षेति नहोस । अहिलेसम्म त हामी नेपालीहरु भाग्यमानी छौं किनभने तत्काललाई त्यस्तो खतराको अवस्थामा आईसकेका छैनौं र आउन नदिनु हाम्रो मुख्य दायित्व पनि हो । त्यसका लागि हामी लागिपर्नु पर्छ र लागिरहेका पनि छौं । अरु देशको तुलनामा हामी धेरै माथि छौं अहिलेको अवस्थासम्म आईपुग्दा । यो भन्दा अरु नबढोस, यसलाई कसरी हुन्छ रोकथाम गर्न सकौं भनेर लाग्ने बेला हो यो । यदि यतिमा मात्रै सिमित भयौं भने त्यो नै हाम्रो लागि ठूलो सफलता हो ।
‘जीवन रहे सबै छ जीवन नरहे केही छैन’, बाँच्न पायो भने केही न केही त अवश्य पनि हुन्छ यसमा आत्तिनुपर्ने केही छैन । तर, कसरी हुन्छ बाँच्नु पर्यो । जस्तो आज माल्दिभसले उनीहरुको देशमा पर्यटन सेवा सुरु गरेको छ । हुन त त्यहाँ अहिले व्यापारिक जहाज जाँदैनन् । तर, निजी जहाजहरु भने अवतरण गर्न दिनेगरि पर्यटन ब्यवसाय खुला भएको छ । उनीहरुको भौगोलिक अवस्था पनि त्यस्तै भएकाले त्यहाँ विश्व स्वास्थ्य संगठनले दिएको जुन कानुन छ । त्यसैमा टेकेर यदि कोही मान्छे आउन चाहान्छ भने प्राईभेट जेटवालाहरुलाई स्वागत गर्न सुरु गरिसकेको अवस्था छ । त्यस्ले गर्दा के हुन्छ भने जुन हविगत छ युरोपलगायतका देशमा त्यो देशको पैसा हुने मान्छेहरु त केही दिनको लागि भए पनि त्यहाँ जानेछन् ।
आज हाम्रो नेपालमा पूर्वीय दर्शनको जुन संस्कार छन् । जस्तो नमस्ते गर्ने, सामाजिक दुरी कायम गर्ने, हाम्रो यहाँको हावापानी, खानपानले हामीलाई बचाएको छ । संसारले नै हामीलाई अहिले त्यो रुपले बुझेको छ । अब हाम्रोमा योभन्दा बढी क्षति नहोस र यसरी नै हामीले यो अवस्थालाई पार गर्न सक्यौं भने नेपाल त सबैले खोज्ने ठाउँ हुन्छ भविष्यमा । हामीले विश्वलाईहम्रो दर्शन बुझाउने समय आउँछ । मैले भनेको माल्दिभ्स जस्तो देशमा त मान्छे जान्छ भने यहाँ पनि त आउँछन् । हाम्रोमा हेर्नुस मालदिभ्समाझै विदेशी आउने हो भने लुक्लामा गएर ७ दिनको क्याम्प खडा गर्न सकिन्छ । हामी त्यस्तै नौलो ठाउँमा लगेर ती मान्छेहरुलाई सेवा दिन तयार छौं । तर, अहिले चाहिं के हो भने को ठूलो, को सानोे को धनी, को गरिब भन्ने कुरा नै रहेन । अहिले अध्यात्मकबादको ठूलो पुनरागमन भएको छ । हामी नेपालीहरुले विश्वलाई त्यो दिन सक्छौं । त्यसैले सबै कुरा बन्द भईसकेको छैन । तर, हामी सुरक्षित छौं भन्ने हुनु पर्यो । त्यो सन्देश हामीले जति छिटो विशवलाई दिन सक्छौं, त्यति नै छिटो नेपाली पर्यटनले फेरि गति लिनेट छ । अहिले हामी यस्तै सकारात्मक सन्देश श्रृजना गर्न पनि लागिरहेका छौं ।
भोलिको दिनमा कोरोनाको भ्याक्सिन आउँला, अथवा कुनै त्यस्तो किसिमको औषधी आउँला र हामीले यो संक्रमणविरुद्ध विजय प्राप्त गरौला । एउटा कुरा केहो भने जे जसरी अहिले संसार चलिरहेको थियो त्यही रुपमा अब भने हुँदैन । अब सबै कुराहरु नयाँ ढंगबाट जान्छ, नयाँ तरिका, नयाँ परिपाटीबाट चल्छ अहिले देखेको पनि यही हो र हामी त्यसको लागि तयार हुनु पर्छ । जस्तो अहिले बिभिन्न लगानीकर्ताहरुले बैंकबाट लोन लिएर नयाँ नयाँ होटल निर्माण गरिरहेको छ । तर, पछिल्लो तीन हप्तादेखि नेपाल पुरै लकडाउनमा छ । यस्तो अवस्थामा के नै गर्न सकिन्छ र ? यस्तो अवस्थामा लोन लिएर होटल संचालन गरिरहेको अवस्थामा ब्यापार शून्य भयो भन्दैमा अरु के नै गर्न सकिन्छ र ? यस्तो अवस्थामा खुला शब्दमा भन्ने हो भने आत्महत्या गर्नुको विकल्प अरु के हुन सक्ला र । तर, सबैले आत्महत्या गरेर त्यो समस्याको समाधान त हुँदैन फेरि पनि । तर, जहाँ ईच्छा त्यहा उपाय भने जस्तै केही न केही त अवश्य पनि हुन्छ । यो आत्तिने समय होईन । लकडाउन कति लामो जान्छ भन्ने कुरामा धेरै कुरा भर पर्छ । एक दुई महिनामा समस्याको समाधान गर्न सक्यौं भने बैंकको लोन तिर्न कुनै गाह्रो हुने छैन ।
तर, समय लम्बिदै गयो भने केही सोच्नु पर्ने अवस्था आउन सक्छ । यो त भर्खर सुरुआतमात्रै हो । एक बर्ष पनि लम्बिन सक्छ यो लकडाउन । यदि भोलि लकडाउन समाप्त भयो र हामी सामान्य अवस्थामा फक्र्याै भने हाम्रो आर्थिक समस्या बल्ल सुरु हुन्छ । अहिले मान्छेहरु सबै लकडाउनमा छन । यतातिर हामीले विचार नै गरेका हुँदैनौं । तर भोलि जब विस्तारै नर्मल अवस्थामा आउन थाल्छ तव समस्या के कति हो भन्ने बाहिर आउँछ ।
बैंकले लोन तिर्ने समय केही महिनालाई पछि सारे पनि अहिले नै त्यसलाई समस्याको समाधानका रुपमा हेर्नु हुँदैन । किनभने अब सरकारले के गर्न सकिन्छ हामीले के गर्न सक्छौं, हाम्रा कर्मचारीले के गर्छ बैंकले के गर्छ भन्ने कुरा अहिले छलफलको क्रममा नै छौं । लकडाउनको अवधिमा हामीसँग अहिले टेलिफोन, ईन्टरनेटको माध्यमभन्दा अरु त केही छैन । अहिलेको अवस्थामा हामी फेस टु फेस भेटेर छलफल गर्न सक्ने अवस्थामा पनि छैनौं । र अहिल यो प्रमुख समस्या पनि होईन । अहिले हाम्रो सरकारले नेपालीको जीवनरक्षाको लागि मात्रै काम गरिरहेको छ र गर्नु पनि पर्छ । अब अहिले बजारमा आएको कुरा जस्तो बैंकको लोन तिर्ने जुन कुरा छ, त्यो भोलिको दिनमा आकाशै खस्यो भने के गर्ने भन्ने जस्तो कुरा हो यो ।े अहिलेनै यसमा समय खेर फाल्नु हुँदैन भन्ने मेरो बिचार हो । पहिले लकडाउन सकियोस । अहिले बिहान बेलुका छाक टार्ने कसरी ? सामान्य जीवनयापन गर्न त पहिला लकडाउन खोल्नु पर्यो नि । अहिलेको हाम्रो दायित्व भनेको बैंकको लोनभन्दा पनि दैनिक ज्याला मजदुरी गरेर जीवन चलाईरहेकालाई कसरी बचाउने भन्ने हो । हामी त्यसैमा लागिरहेका छौं ।
जीवन बच्यो भने ती पछि आउने कुराहरु हुन् । त्यसैले अहिले त्यताभन्दा पनि कसरी जीवनरक्षा गर्न सकिन्छ । त्यता ध्यान केन्द्रित गर्न जरुरी छ र हामी त्यसैमा लागिरहेका छौं । हतास भएर केही हुनेवाला छैन । समस्या छ, नभएको होईन तर, यो समस्या हामीले ल्याएको त होईन । हाम्रो जीवनकालमा यो भन्दा ठूलो समस्या अहिलेसम्म आएको मलाई थाहा छैन । त्यसैले पहिले यो समस्यासँग जुुधेर यसको समाधान गर्नु पहिलो प्राथमिकता हो । अहिलेका अवस्थामा मानवताको प्रश्न छ । मानव रहेन भने अरु के काम ? त्यसैले अहिले हामीले कोरोनाविरुद्दको लडाईमा विजय प्राप्त गर्न जरुरी छ । अरु कुरा विस्तारै हुँदै जाने छ । चन्द्रमामा पुग्ने पनि हामी मानव नै हौं मानव रहे अरु आफैं विस्तारै मिल्दै जान्छ । केही न केही अवश्य पनि हुन्छ हामी निरन्तर छलफलमा छौं । सरकारले पनि निर्णय गर्दा सबेलाई समेटेर निर्णय गर्नुपर्ने हुन्छ । त्यसकारण अहिले आत्तिने अवस्था होईन, सबै मिलेर समस्या समाधानका लागि जुट्ने समय हो ।
(शाह होटल एयरपोर्टका संचालक तथा होटल एसोसिएशन नेपाल (हान)का प्रथम उपाध्यक्ष हुन्)