केशव न्यौपाने
नेपाली समाजमा दुईवटा विचित्रका प्रबृत्ति छन । पहिलो, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि मुसुक्क हाँसेर स्वागत गर्ने आम प्रबृत्ति ।
नेपाल भ्रमण गर्ने पर्यटक, सञ्चार माध्यम, अनुसन्धाकर्ताहरु र धेरै विदेशी विद्वानहरुले टिप्पणी गर्ने गर्छन, अमूल्य मुस्कानका साथ स्वागत गर्ने नेपाली शैली वास्तवमै बेजोडको छ । महाभूकम्पका बेला नेपाल आएका एक सञ्चारकर्मीले ट्वीटमा एक महिलाको तस्वीर राखेर लेखेका छन, “यी महिलाले भूकम्पमा आफ्नो सर्वस्व गुमेको कथा सुनाइन र कुराकानीको अन्तमा खाना खाएर जानुहोस बाबु भनेर प्रस्ताव गरिन ।”
दोस्रो पाटोको रुपमा उनीहरु चित्रण गर्छन, केही चतुर र टाठाबाठाहरुको अर्को एउटा हिस्सा छ, जो असाध्यै राम्रो पक्षको पनि निरन्तर विरोध गर्न मन पराउँछन् । र, सुझाव दिन्छन, दोस्रो नकारात्मक पाटोलाई नियन्त्रण गर्ने र पहिलो आम प्रबृत्तिलाई पुँजीको रुपमा लिएर अघि बढ्ने हो भने नेपालको द्रुत प्रगति सम्भव छ ।
यो दोस्रो प्रबृत्तिले मुलुकलाई रसातलमा भसाउने काम गरिरहेको छ । हालै सम्पन्न नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएनआर)मा पनि दोस्रो प्रबृत्ति निकै सक्रिय भयो । आफूलाई नेता मान्ने, बुद्धिजीवी मान्ने र जान्ने सुन्नेको कोटीमा राख्न रुचाउनेहरुले पनि यही पंक्तिमा उभिएर टिप्पणी गरेको देखियो । महाभूकम्पका कारण करिव ९ हजार मानिसले आफ्नो अमूल्य ज्यान गुमाएका छन । झण्डै २३ हजार घाइते भएका छन । लाखौं मानिस अहिले पनि पीडा भुलेर बर्षायामको चुनौती झेल्न अस्थायी टहरा निर्माणमा क्रियाशील छन ।
सरकारको सहयोगमा आफ्नो पसिना र मेहनत थपेर भूकम्प तथा प्राकृतिक विपत्ति विरोधी बासस्थान निर्माण गर्ने सोचमा छन । उनीहरुले चाहेको कुरा के हो भने आर्थिक गतिविधिहरुको विस्तार होस, आयआर्जनको माध्यम भेटाउन सकियोस, जीवन गुजारा गर्ने माध्यम भेटियोस, सामान्य दैनिकीमा फर्किने अवस्थाको सिर्जना होस । नेपालले जनताको यही चाहना पूरा गर्नका लागि हालै यो सम्मेलन आयोजना गरेको थियो ।
नेपाली जनताको यो मनोभावनाको अट्टहास गर्दै नकारात्मक टिप्पणी गर्न रुचाउनेहरुको एउटा जमात अघि बढ्यो र भन्यो, ‘सम्मेलन गर्न हुँदैन’ । सरकार सम्मेलन आयोजनामा अघि बढ्दै गएपछि यो जमातले भन्न थाल्यो, ‘सम्मेलन छिटो आयोजना गरियो’ । त्यसपछि अर्को टिप्पणी आयो, ‘हतारमा गर्दा सफल हुँदैन’ । अर्को टिप्पणी आयो, ‘नवनिर्माण गर्नुपर्छ, पुनर्निर्माणका लागि लाग्ने रकम पीडीएनएले थोरै देखायो । धेरै रकम प्रस्ताव गर्नुपथ्र्यो । अन्तमा यस्तो पनि सुनियो, कसैले सहयोग गर्दैन, सम्मेलन पूर्णतया असफल हुन्छ ।’
यी सबै अड्कलबाजीहरुलाई गलत सावित गर्दै सम्मेलन भब्यरुपमा सफल भयो र टिप्पणी गर्ने धेरैको मुखमा बुजो लाग्यो । सम्मेलन चौतर्फीरुपमा सकारात्मक सन्देश दिन सफल रह्यो । पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा त दातृ संस्था र मुलुकहरुले नेपालको पुनर्निर्माणमा सहायताको प्रतिवद्धता उल्लेख्य मात्रामा घोषणा गर्नु नै हो । यस सम्मेलनले नेपालका विकास साझेदारहरुबाट पुनर्निर्माणका लागि सरकारको प्रत्यक्ष दायित्वभित्र पर्ने रकमको प्रतिवद्धता प्राप्त गर्न सक्यो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको अध्ययन तथा मूल्यांकन पीडीएनएले देखाएको ६६९ अर्बमध्ये सरकारको प्रत्यक्ष दायित्वभित्र पर्ने ६० प्रतिशत अर्थात ४ सय अर्बभन्दा बढीको सहायता प्रतिवद्धता प्राप्त हुन सक्यो । दोस्रो पक्ष भनेको भूकम्पले क्षतविक्षत भएको नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्यो जहाँ ७ देशबाट मन्त्रीस्तरीय सहभागिता रह्यो । विश्व बैंक, एसियाली विकास बैंक तथा युरोपेली संघ जस्ता बहुपक्षीय दाताहरुको उच्चस्तरीय सहभागिता रह्यो । यसले सहायताको घोषणा गर्न प्रेरित गर्नुका अतिरिक्त संघर्षशील र जुझारु नेपालीको विश्व पहिचामा ठूलो सकारात्मक सन्देश दिएको छ । भूकम्पबाट नेपाल थिलथिलो मात्र भएको छैन, अझै सुन्दर नेपाल बाँकी छ र नेपालमा घुम्न जान सकिन्छ भन्ने सन्देश पनि दिएको छ । यसले पर्यटन व्यवसायलाई ठूलो टेवा दिनेछ । ठूलो रकम खर्च गरेर दिन सकिने सन्देश एउटै सम्मेलनले प्रभावकारीरुपमा दिन सकेको छ ।
महाभूकम्पसँगै अन्तर्राष्ट्रिय समुदायमा देखिएको नेपालप्रतिको माया, सद्भाव र सहानुभूतिलाई समेत एकमूष्ठरुपमा आफ्नो पक्षमा पार्न सम्मेलन सफल भएको छ । यस सन्दर्भमा नेपाललाई सहयोग गरेर बढी गुन लगाउन खोज्नेहरुको व्यवस्थापन जुन ढंगले भयो, त्यसको अझ चौतर्फी प्रशंसा गरिएको छ । बुझ्न कठिन छैन, यो सम्मेलनलाई जापानले टोकियोमा गरिदिने इच्छा प्रकट गरेको थियो । नेपालका अर्थमन्त्री अजरवैजानको बाकुमा पुगेका बखत नै जापानका उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आशोले नेपाललाई पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र स्वीकृति पाएमा उक्त स्रोत जुटाउन जापानले प्रभावकारीरुपमा दाताहरुको सम्मेलन टोकियोमा गरिदिने बाचा गरेका थिए ।
त्यसैगरी यो सम्मेलन चीनले बेइजिङमा भारतले दिल्लीमा विश्व बैंकले पेरिसमा आयोजना गर्न अनुरोध गरेका थिए । राजदूत रञ्जित राएको प्रयासका अतिरिक्त भारतले सम्मेलन दिल्लीमा गर्ने आशयसहित प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सचिव प्रमोद मिश्रालाई नेपाल सरकारसमक्ष अनुरोध गर्न काठमाडौं पठाएका थिए । यतिमात्र होइन, कतिपय पश्चिमा मुलुकहरु यो सम्मेलन केही ढिला गर्न अनुरोध गरेका थिए । जापानले केही ढिला गरी सम्मेलन आयोजना टोकियोमा गराउन चाहेको बुझिन्थ्यो ।
तर अर्थमन्त्री डा महतले नेपाल भूकम्पले जर्जर भएको र काठमाडौंमा सम्मेलन गर्दा यो विपत्को अवस्थामा नेपाल एक्लो छैन, संसार सहयोग गर्न आउने रहेछ भन्ने सन्देश जनताले बुझ्ने र नेपालीको आत्मविश्वास बढ्ने भन्दै काठमाडौंमै आयोजना गरिने अडान लिएको चर्चा बाहिर आयो । त्यसपछि सहआयोजकमा बस्न चाहने मुलुकहरुको इच्छा व्यवस्थापन पनि प्रभावकारी ढंगले हुन सक्यो । यसैको एकमूष्ठ नतिजा हो, सम्मेलनको उपलब्धि ।
यो सम्मेलनले अर्थमन्त्री डा रामशरण महतको व्यक्तित्वलाई थप उचाईमा पु¥याइदिएको छ । सम्मेलन सफल बनाउनेमा पक्कै पनि अर्थमन्त्री डा रामशरण महतको उल्लेख्य भूमिका रह्यो । उनकै संयोजकत्वमा यो सम्मेलन आयोजक समिति गठन गरिएको थियो । उनले अघि सारेको नीतिलाई दाताहरुले समेत मन पराएको यस सम्मेलनको सहायता घोषणाबाट थप पूष्टि मिलेको छ । एमाले, एमाओवादी र आफ्नै पार्टीभित्रको एक एक समूह डा महतको व्यक्तित्व र प्रतिस्पर्धाको चुनौतीबाट निकै त्रसित देखिन्थे र उनीहरु निरन्तर विरोधका बाहना खोजिरहेका हुन्थे । सम्मेलन सफल भएमा श्रेय उनलाई नदिने र असफल भएमा डा महतविरुद्ध पार्टीभित्र विरोधको स्वार गुञ्जायमान गर्ने उनीहरुको तयारी थियो ।
सम्मेलनको सफलतासँगै पार्टी बाहिरका विरोधीहरु र उनीहरुकै लयमा पार्टीभित्र विरोध गर्ने तयारीमा जुटेका नेताहरुको मुखबुजो समेत लागेको छ । १२ बर्षे माओवादी हिंसात्मक द्वन्द्वकालमा समेत विनाश हुन नसक्ने अर्थतन्त्रको बलियो जग हालेका डा महतले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथै उत्साहित हुने पार्टीका कार्यकर्ताहरु, निजीक्षेत्र, अर्थशास्त्री तथा बुद्धिजीवीहरु उनले एकपटक फेरि संकटको बेलामा आफ्नो आवश्यकता र औचित्य सिद्ध गरेका छन भनी टिप्पणी गर्न थालेका छन । यो सम्मेलनको सफलतासँगै १२ बर्षे माओवादी हिंसात्मक द्वन्द्व र १२ गतेको भूकम्प तथा त्यसपछिका शक्तिशाली पराकम्पनहरुलाई पन्छाउँदै नेपाललाई अघि बढाउने विश्वासिलो जग हाल्ने काम भएको छ ।
सम्मेलनबाट मुलुकको पुनर्निर्माणका लागि साधन परिचालनको सुनिश्चितता भएकोमा अव आगामी आर्थिक बर्षको बजेट समेत आकर्षक हुने पक्कापक्की नै छ । त्यतिमात्र होइन, सम्मेलनको सफलताले समग्र मुलुकलाई लाभ त पुग्यो नै यससँगै पार्टीको आगामी चुनावमा उच्च नेतृत्वका आकांक्षी डा महतलाई व्यक्तिगत लाभ पुग्ने अडकलबाजी समेत राजधानीमा हुन थालेको छ ।