Logo

अरुण भ्यालीदेखि खप्तडसम्म पर्यटक, यस्तो छ सुरज वैद्यको भ्रमण बर्ष ‘प्लान’

अरुण भ्यालीदेखि खप्तडसम्म पर्यटक, यस्तो छ सुरज वैद्यको भ्रमण बर्ष ‘प्लान’




नेपाल भ्रमण बर्ष २०२० को लागि अहिले हामी युद्धस्तरमा काम गरिरहेका छौं । भ्रमण वर्ष सफल बनाउने दायित्व पुरा गर्न सबै क्षेत्रसँग हातेमालो गरेर अघि बढिरहेका छौं । यो एउटा राष्ट्रिय अभियान हो । यसमा हरेक नेपालीको उत्तिकै दायित्व र जिम्मेवारी छ । यसमा हामीले (भ्रमण वर्ष सचिवालयले) त्यसको सहजीकरणका लागि थप जिम्मेवारी र अवसर पाएका हौं । यसैले अहिले हामीले हाम्रो तर्फबाट गर्नु पर्ने जे जति कामहरु छन्, त्यसमा केन्द्रित भएर गरिरहेका छौं ।

सचिवालयले भ्रमण वर्षका लागि विभिन्न संघसंस्थासंग सहकार्यका लागि गर्नुपर्ने कामहरु सम्पन्न गरेको छ । अहिले हामी सातै प्रदेशमा विशेष एउटा नयाँ कार्यक्रम ल्याउने गरि काम गरिरहेका छौं । भ्रमण वर्षको ‘लाईफटाईम एक्सपेरियन्स’ भन्ने जुन हाम्रो नारा छ, त्यसलाई नेपाल आउने हरेक पर्यटकले वास्तविकतामा अनुभूत गर्न सकुन भनेर त्यसअनुरुप उपयुक्त कार्यक्रम ल्याउन लागिपरेका छौं । पर्यटनको उपलब्धि तल्लो तहसम्म र सम्पूर्ण नेपालभर पुगोस भनेर सरकारले जुन योजना बनाएको छ, त्यसलाई कार्यान्वयन गर्न सचिवालयले अहिले बृहत र व्यापक योजनाका साथ काम गरिरहेको छ ।


पर्यटकीय गतिविधिमा जोड


भ्रमण बर्ष २०२० लाई मैले अगाडि नै राष्ट्रिय अभियान भनिसकें । यो राष्ट्रिय अभियानमा सबै नेपालीलाई सहभागी गराउने, सबै क्षेत्रलाई साझेदार बनाउने र सबै क्षेत्रमा पर्यटक पुर्याउने हाम्रो उद्देश्य छ । अहिले धेरैको गुनासो नेपालको पर्यटन सीमित क्षेत्र र केही पर्यटकीय गतिविधीमा मात्र सीमित भयो, पर्यटकको बसाई लम्ब्याउन सकिएन भन्ने छ । यस्तो गुनासोलाई सम्बोधन गर्न हामीले देशका धेरै भागमा पर्यटक आकर्षित गर्न सक्नुपर्छ भने यसका लागि पर्यटकका लागि उपयुक्त प्रडक्टहरु विकास गर्न पनि सक्नुपर्छ । जस्तो सुदूरपश्चिममा अहिले न्यून मात्रै पर्यटक पुग्छन ।

एक हिसाबले भन्ने हो भने पर्यटकीय गतिविधि नै शून्य छ । त्यहाँ पर्यटकका लागि सयौं सम्भावनाहरु छन् । अब ति सम्भावनाहरुलाई यथार्थमा विकास गर्ने हो । यसैका लागि हामीले कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ संचालन गर्ने तयारी गरिरहेका छौं । यस्तै विश्वव्यापी प्रसारण हुने नेशनल जियोग्राफी च्यानललाई नेपाल ल्याएर त्यहाँको सम्भावना, संस्कृति र विविधतालाई संसारसामु पुर्याउने योजना बनाएका छौं । सुदूर पश्चिममा रहेका राउटेलगायतका अन्य धेरै संस्कृतिहरु पर्यटकका लागि चासोको विषय हुन् । कतिपय संस्कृति हराईसकेको छ, त्यसैले हामीले त्यहाँको मुख्यमन्त्रीलगायतसँग बसेर त्यसलाई पुन जागरण गर्दै छौं ।


त्यसै गरी मुक्तिनाथदेखि माफा सम्म माउण्टेन बाईक रेस गर्ने भएका छौं । धार्मिक पर्यटनलाई प्रचार गर्ने गरी रामायण सर्किट, बुद्धिष्ट सर्किट छ, जुन् अहिलेसम्म खासै देखिएको छैन । भन्छन् शिवजी हिमालमा बस्ने हुनाले पनि नेपालमा हिमालहरु धेरै भएको भन्ने पनि छ । त्यस हिसाबले शिवशक्ति पर्यटनलाई प्रचार गर्न हामी विशेष रुपमा लागि रहेका छौं । जसका लागि शंकराचार्य ज्यूसँग देवघाटमा आगामी अप्रिलमा ठूलो महायज्ञ गर्ने तयारी समेत गरिरहेका छौं ।
त्यस्तै बुद्धजयन्ती नेपालमा जुन आधारमा गर्नुपर्ने हो त्यो भएको देखिँदैन । किनभने मक्का भन्ने ठाउँमा पैगम्बर मोहम्मदको जन्म दिनमा केही नभए पनि १ करोड २० लाख पर्यटक जान्छन् । नेपालमा भने नेपालीसहित जोडेर हेर्ने हो भने पनि ६० हजार भन्दा मान्छे हुँदैन र पुग्दैन पनि । यसपटक भ्रमण वर्षमा बुद्धजयन्तीलाई बृहतरुपमा मनाउने र एक दिनको मात्र नभई हामी कम्तीमा पनि एक हप्ताको मनाउनेछौं । साथै बुद्धिष्ट देशहरुका मन्त्रीहरुलाई निम्ता दिने र हरेक बुद्धिष्ट धर्मका गुरुहरुलाई बोलाएर नयाँ कार्यक्रम गर्ने छौं ।


जनकपुरमा विवाह पञ्चमी छ । हालसालै मैले भारतको युपीका मुख्यमन्त्रीसँग पनि भेट गरेर आएको छु । उक्त भेटमा रामको जन्मस्थलदेखि सीताको जन्मस्थलसम्म बृहत कार्यक्रम गर्ने गरी हामीले काम सुरु गरिसकेका छौं । यस्ता खालका नयाँ कार्यक्रम केही गरौं भनेर सात ओटै प्रदेशमा हामीले काम सुरु गरेका छौं । र अहिले हामी प्रदेश २ मा पनि लाईफटाईम इभेन्टको रुपमा उहाँहरुले नै संचालन गर्ने कि भनेर प्रस्तावहरु मागिरहेका छौं । सायद एकदुई दिन भित्रै मन्त्रीबाटै आउँछ होला । त्यो आए पछि भ्रमण वर्ष २०२० को लागि १४ ओटा कार्यक्रम हुने भएको छ ।
लाईफटाईम ईभेन्टको रुपमा एभरेष्ट म्याराथन बृहतरुपले सम्पन्न गर्ने, मुस्ताङ ट्रेललाई झन् ठूलो रुपमा लैजाने । नोभेम्बरमा त्रिनली आर्टस भन्नेमा काम गर्दैछौं । फोटो काठमाडौं भन्ने जुन कार्यक्रम छ त्यसलाई अझ सहयोग गर्नेछौं । नेपालमा प्रचलित रहेको एउटा ज्याजमाण्डु छ त्यसलाई पनि नेपालको ब्राण्ड बनाएर दक्षिण एशियामा ईभेन्टको रुपमा लैजाने छौं ।


र्याफ्टिङ, ट्रेकिङ, समिटर्स समिट भनेर काम गर्दैछौं । जसका लागि करिब ४ हजार जना व्यक्तिलाई ल्याएर काम गर्नेछौं । युएनसँग मिलेर माउण्टेन समिट कार्यक्रम पनि गर्दैछौं । अहिले नेपालको कमजोरी भनेको नै पर्यटनको सन्दर्भमा सम्पूर्ण नेपाली जनताले पर्यटनले नै नेपाल विकास गर्छ भन्ने विश्वास नगरेको अवस्था छ । चै त्यति विस्वास गरेको छैन । किनभने अहिले पर्यटन भन्नासाथ एभरेष्ट, अन्नपुर्ण, पोखरा, चितवन, काठमाडौंमात्रै ठान्ने चलन छ । सूदुरपश्चिममा मुश्किलले दुई प्रतिशतमात्रै पर्यटक पुग्छन् । पूर्वमा पनि त्यस्तै छ । त्यस आधारले हामीले नयाँ गन्तव्य पहिल्याएर लगानी भित्राउन सक्नुपर्छ ।


मैले भन्नुपर्दा मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो भने नेपालमा लगानी बढाउन सकेको खण्डमा हामी नेपालीहरु जुन विदेशमा गईरहेका छौं कमसेकम नेपालमै काम गर्न पाउनेछन । हामी रेमिटान्समा रमाईरहेका छौं । तर हामीले के देखिरहेका छैनौं भने प्रत्येक दिन एउटा घरमा एउटा बत्ती निभ्छ । किनभने दैनिक चार ओटा शव आउँछ विमानस्थलमा ।
त्यसैले हामीले हरेक प्रदेशबाट कार्यक्रमहरु माग गरिरहेका छौं । निजी क्षेत्रबाट २÷३ वटा मात्रै प्रोजेक्ट भयो भने अगष्टमा हुने समिटमा त्यसलाई बृहतरुपमा ल्याएर लगानी भित्र्याउनेमा हामी प्रयास गर्नेछौं । सरकारले चाहेको खण्डमा सुदूरपश्चिम र पूर्वमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्यौं भने केही सहज हुने छ । पूर्वमा अरुण भ्यालीदेखि कन्चनजंघा, धरान, धनकुटा ईलामसम्म पर्यटक लैजान सकिनेछ । त्यस्तै सुदुरपश्चिममा गर्न सक्यौं भने खप्तड, रारामा पर्यटक लैजान सजिलो हुनेछ । त्यसैले हामी लगानीमा विशेष जोड दिईरहेका छौं ।


२० लाख पर्यटकको सम्भावना


यो २० लाख पर्यटक भन्ने जुन कुरा छ यो महत्वपूर्ण हो । किनभने नेपाल सरकारले यसलाई घोषणा गरेको हो । हालसालै म नेपालगञ्ज गएको थिएँ, त्यहाँ जाँदा नेपालमा आउने पर्यटकको तथ्याङ्क समेत नभएको पाएँ । त्यसलाई पनि हामीले सुधार गर्नु पर्नेछ । अहिले जुन आधारले हाम्रो बोर्डर क्षेत्रमा पर्यटकहरु भित्रिएका छन । ति खर्च गर्ने खालका छन । किनभने जुन क्षेत्रमा राम्रा होटलहरु निर्माण भएका छन् त्यस क्षेत्रमा पर्यटकले खर्च गरेकै हुन्छन । अहिले नेपालगञ्जमा हेर्ने हो भने पनि राम्रा होटलहरु निर्माण भईसकेका छन ।


त्यस्तै बुटवलमा, जनकपुरमा, विराटनगरमा जताततै राम्रा होटलहरु निर्माण भईरहेका छन । क्यासिनो पनि स्थापित भएको छ । यसले धेरै खर्च गर्ने मान्छेहरु पनि आईरहेका छन । त्यो पनि एउटा पर्यटक नै हो । अनि हामी खाली जहाजबाट आउनेलाई मात्रै पर्यटक भन्ने गर्छाैं । संख्या पुर्याउनलाई मात्रै जो आए पनि त्यसलाईनै पर्यटक भन्ने कुरा पनि हुँदैन । अहिले हामीले अध्यागमन विभागसँग छलफल गरेर नयाँ सिस्टम राख्ने तयारी गरेका छौं । जस्ले पर्यटकलाई सहज बनाउने छ ।


त्यस्तै हामीले विमानस्थलमा ६० जना विद्यार्थीहरुलाई नेपाली पोशाकमा राख्ने र उनीहरुलाई स्वागत गर्ने र उनीहरुबाट कुन क्षेत्रमा जानु भो, के गर्नु भो, कहाँ रमाईलो भो कहाँ अप्ठेरो भो भन्ने किसिमले केही रिर्पोटहरु लिने तयारी समेत गरेका छौं । जसले गर्दा हामीलाई भोलिको दिनमा समेत काम गर्न सजिलो हुनेछ । विमानस्थलको सुधार भईरहेकै छ । डिसेम्बर १५ सम्ममा अझै सुधार हुनेछ । तर अन्तरराष्ट्रिय विमानस्थलमा जुन आधारले जहाजहरु बढीरहेको छ त्यसले गर्दा २० लाख पर्यटक पुर्याउन सकिन्छ जस्तो मलाई लाग्छ । जस्तो चीनमा ४ ओटा गन्तब्य थपेको छ भारतबाट अर्को २ ओटा एयरलाईन्स आउँदै छ । त्यस्तै अन्य स्थानहरुबाट पनि नयाँ जहाजहरु आउने क्रम छ जस्ले गर्दा २० लाख पुर्याउन सकिन्छ भन्ने लाग्छ ।


गुणात्मक पर्यटकको खोजी


यसमा हामी एक्लैले नसकिने भएकोले राजदूतहरुमार्फत पहिलो प्रयास गरिरहेका छौं । रोममा युरोपमा भएका सम्पूर्ण नेपाली राजदूतहरुलाई निम्ता दिएर भ्रमण बर्षको लक्ष्य, उद्देश्य र कसरी सहकार्य गर्न सक्छौं भनेर हामीले छलफल गरेका छौं । त्यसै गरी एसियाका सबै राजदुतहरुलाई बैंककमा बोलाएर हामीले छलफल गरेका छौं । त्यसले गर्दा हामीले हाम्रो राजूुतहरुलाई प्रयोग गर्न हामी लागिरहेको छौं । साथै गैर आवासीय नेपाली संघसँग पनि सहकार्य गर्दैछौं । र मैले भन्नु पर्दा नेपाल पर्यटन बोर्ड र सचिवालयले अन्तरराष्ट्रिय कार्यक्रमहरु कुनै पनि छोडेका छैनौं । हामीले धेरै फोकस गरेका छौं । विशेष गरी भ्रमण बर्ष २०२० मा हामीले भारत, चीन, मलेसियालाई बढी केन्द्रित गर्नेछौं । किनभने बढी भन्दा बढी उडानहरु त्यहीबाट आईरहेको छ । र त्यो ठाउँमा धेरै पर्यटकहरु छन । हिजो काम नगरेका कुराहरु थुप्रै छन । चीन र भारतमा विशेष फोकस गर्ने साथै मध्य पूर्वमा पनि हामी केन्द्रित हुनेछौं ।


भ्रमण बर्षको सुरुवात


अब हामीले भ्रमण बर्ष भनेर जनवरी १ मा औपचारिक उद्घाटन गर्ने भन्ने कुरा बाहिर आईसकेको छ । हामी नयाँ झलक लिएर नेपालको संस्कृति तथा सम्पदाहरु लाई कसरी प्रस्तुत गर्ने भनेर तयारी गर्दैछौं । मलाई लाग्छ, मन्त्रालयमार्फत ४० देशका मन्त्रीहरुलाई निम्ता गएको छ । जुन त्यो मन्त्रालयले हेरिरहेको छ । हाम्रो साथीहरु पनि यसमा लाग्नुभएको छ । दिउँसोको ४ बजेदेखि ६ बजे सम्म २ घण्टाको कार्यक्रम हुनेछ । हामीसँग धेरै लामो कार्यक्रम राख्ने समय छैन किनभने त्यतिबेला राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबैजना त्यहीं कार्यक्रममा हुनुहुन्छ । जनतालाई साथ लिएर हामी ठूलो कार्यक्रम गर्नेछौं ।


बिहानको पहिलो उडानमा आउने पाहुनालाई सरप्राईज प्याकेजको रुपमा हामीले स्वागत गर्ने छौं । त्यो हामीले विमानस्थलमा मात्रै नभएर नेपाल आउने नाका जहाँ जहाँ छ त्यहाँ गर्नेछौं । तर मलाई लागेको के हो भने उद्घाटन भन्दापनि यसलाई निरन्तरता कसरी दिने भन्ने लागीरहेको छ । उद्घाटन त हुन्छ, रमाईलो हुन्छ सकिन्छ । त्यसैले अहिले हामीले एक हजार जना ट्याक्सी ड्राईभरहरुलाई तालिम दिईरहेका छौं । यसको उद्देश्य के हो भने पर्यटकलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनु हो ।


अहिले हामीले ३ सय स्वयमसेवकलाई प्रयोग गरि सुरु यहाँबाट गरौं भनेर लागिरहेका छौं । ट्राभल कम्पनीहरुसँग बसेर नयाँ प्याकेजहरु निर्माण गर्नेछौं । भर्खरै नाट्टासँग सम्झौता भएको छ उनीहरुले पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । त्यस्तै होटलहरुले १५ प्रतिशत छुट दिने भएका छन् । अहिले हामी नेपाल सरकारको विशेष गरि सुविधा दिने के हो त भनेर त्यसमा पनि छलफल गरिरहेका छौं । र मलाई लाग्छ केही दिन पछि यसको घोषणा पनि हुनेछ । हिमालहरु कुनकुन नयाँ छ, त्यसमा कतिलाई छुट दिन सकिन्छ । कतिलाई सहुलियत दिने भन्ने कुरा पनि मन्त्रीबाटै आउने छ । त्यसमा पनि कामहरु भईरहेको छ ।


हामी सिंगापुर जस्तो हुन सक्दैनौ न त बैंकक जस्तो, तर हामीले भ्रमण बर्षमा नेपालको विशेषता के भनेर अध्ययन गर्यों । त्यो सन्दर्भमा सबैभन्दा ठूलो नेपालमा एक्सपेरियन्स नै हो । आज योगादेखि लिएर विभिन्न प्रकारका कुराहर हामी सुन्छौं । यदि योगाको कुरा हामी नगर्ने हो भने मोदीले त भारतकै हो भनेर भन्नु हुन्छ । बालीमा, अमेरिकामा पनि योगा छ । शिवजीबाट सुरु भएको योगा भन्छु म । यदि त्यो हो भने नेपालको जुन प्रकारको विशेषता छ त्यो हामीले ल्याउन सकेका छैनौं । हामीले यस्तै विषय र विशेषतालाई प्रस्तुत गर्न गर्न सकेको खण्डमा पक्कै पनि २० लाख पर्यटक भित्र्याउन सक्छौं । प्रस्तुति : राङडोल लामा

प्रतिक्रिया दिनुहोस्