Logo

काठमाडौंमा रेल नआएसम्म पूर्व पश्चिम रेल सफल हुँदैन, रेल विभागका महानिर्देशकको लेख

काठमाडौंमा रेल नआएसम्म पूर्व पश्चिम रेल सफल हुँदैन, रेल विभागका महानिर्देशकको लेख



नेपालमा रेलवे विकासको इतिहासको क्रमसन् १९२७ अर्थात झण्डै ८०÷९० बर्ष अघिदेखि सुरु भएको पाईन्छ । सबै भन्दा पहिले भारतीय बजार रक्सौलबाट विरगञ्जहुँदै अम्लेखगञ्जसम्म ४६ किलोमिटर लामो रेल २०२५÷२६ सालसम्म झण्डै ४३ बर्ष सञ्चालन भएको थियो । त्यसलाई हामी एनजीआर भन्ने गर्छौ ।

त्यो बेला ब्रिटिसहरुले नेपालमा रेलवे विकासको लागि भनेर त होईन विशेष गरी हामी कहाँ प्रशस्त जङ्गल भएको हुनाले रेलको लिक भन्दा मुनि काठ विछ्याउन नेपालमा बाटो विस्तार गरेको पाईन्छ ।

जति बेला भारतमा ब्यापक रेलको विस्तार भएको थियो, ब्रिटीसहरुले सामान ओसारपसार गर्ने र प्रसोधन गरेर भारतलाईनै बेच्ने गथ्र्यो । ब्यापार विस्तारको लागि रेलमार्ग विस्तार गरेको हुन सक्छ । ब्रिटीसहरुले रेलमार्ग विस्तार गर्न लिक मुनि विछ्याउन कडा काठ चाहिने भएको हुनाले नेपालमा बाटो विस्तार गरेको हो ।

पछि त्यही लिक हामीले पनि प्रयोगमा ल्यायौं । वास्तबमा हाम्रै लागि भनेर त्यो लिक बनेको होईन । त्यसरी सन् १९२७ मा नेपालमा रेल सेवाको विस्तार भएको पाईन्छ । त्यसको १० बर्ष पछि फेरी जयनगरदेखी जनकपूर विजेलापूरासम्म अर्को लाईन बनेको थियो । त्यसलाई हामी एनजेजेआर भन्छौं (नेपाल जनकपूर जयनगर रेलवे) । यो दुईटा लाईन थियो ।

एनजीआर अम्लेखगञ्जको करिब १९७० सम्म भन्नाले २०२५ सालसम्म चल्यो । त्यसपछि मोटर बाटो बन्यो, मोटरबाटो बनेसँगै रेलसेवा विस्थापित हुँदै गयो । त्यतिबेला चलेको रेल पानीको बाफबाट चल्ने भएकाले सर्भिस ढिला हुने भयो । ठाउँठाउँमा गएर पानी भर्नु पर्ने, समय लाग्ने भए पछि रेलसेवा विस्थपित भएको हो । मोटरबाटो बने पछि मोटरले दिने सेवा छिटो भयो । मोटरले दिने सेवा छिटो भए पछि रेल सेवा विस्थापित भएको हो । तर, उता जयनगरदेखी जनकपूरसम्म भने रेल सञ्चालनमै रहयो । जुन १० बर्ष पछि सुरु भएको थियो । त्यो २०१३ सम्म चलेको थियो । यो ब्रिटीसहरुले न्यारो गेजमा बनाएको थियो, सानो अढाई फिटको ।

नेपालका लागि पछि भारत सरकारले ५ वटा नाकामा रेल सेवा विस्तार गरिदिने कुरा आएको हो । त्यसताका हाम्रा प्रथम राष्ट्रपतिको भ्रमणमा भारतसँग एमओयु सम्झौता भयो । त्यसैको आधारमा अहिले भारतले बनाउँदै छ ।

भारतले रेलको लिक बनाउँदा पहिलेकै लाईनमा बनाउने हो । पहिला अढाई फिटमा बनेको हो अहिले साढे ५ फिटमा बन्दै छ । त्यसैले पहिलेको रेल २०१३ बाट बन्द छ । त्यसलाई हामी अपग्रेडीङ भन्छौं । जुन अहिले २ खण्डमा काम भईरहेको छ । ५२ किलोमिटरमा २०१८ भित्रमा ३५ किमिको काम सकिन्छ । त्यस पछि हामी रेल सञ्चालन गर्न सक्छौं र अर्को एक बर्ष पछाडी ५२ किलोमिटर सम्ममा ठूलो वाइड बडी रेल चलाउने छौं ।
निरन्तरताकै समस्या
जुन लिक छ, त्यो ब्रिटीसहरुले हामीलाई सित्तैमा छोडेर गएको हुन सक्छ । अहिले भारतमा पनि त्यस्तो खालको रेल छैन होला । जहाँ न्यारोगेज छ, त्यहाँ मात्रै छ । होईन भने धेरै ठाउँमा भारतले पनि स्टिम रेललाई डिजेलमा लगि सक्यो । अहिलेत डिजेलबाट पनि विद्युतिय रेल सेवा विस्तार गरिसकेको अवस्था छ । नेपालमा मोटरबाटो बनिसकेपछि त्यो रेल ढिला भयो । त्यसलाई हामीले बेलाबेलामा मर्मत सम्भार गर्न सकेनौं । नेपाल सरकारको ताल यही हो । बजेट पनि नदिने भएर पनि निरन्तरता दिन नसकेको हो ।

हामीले त्यसलाई मेन्टेन गरिराखेको भए सायद रहिरहन्थ्यो होला । हामीले बिस्र्यौं । मोटर आयो, मोटर आए पछि हामीलाई पहाडमा हुँइकीन पनि सजिलो भयो । विरगञ्जबाट हेटौंडासम्म आएर फेरी रेल चढ्नु झण्झट गर्नुभन्दा विरगञ्जबाटै मोटर चढेर आउनु सहज हुने भो । मोटरले घर घरै सर्भिस दिन्छ रेलले त घर घरै सर्भिस दिंदैन । यी सबै कुराहरुले गर्दा विस्तारै रेलसेवालाई निरन्तरता दिन नसकेको हो । सायद हामीले मेन्टेन गर्न सकेको भए निरन्तरता दिन सक्थ्यौं होला ।

अहिले भारतले मोटरबाट फेरी रेललाई प्राथमिकता दिँदै छ । किन भने मोटरमा डिजेल महङ्गो हुने भो । भारतमा रेलमा यात्रा गर्ने हो भने एक महिना अगाडी देखी टिकट लिनु पर्ने अवस्था छ । उनिहरु अहिले रेलको स्पीड ल्याउन खोजीरहेको छ । अब हामी कहाँचाहिं त्यो भएन ।

नेपाल भारत र चीनबीच रेल सञ्चालनको लागि केहि कुरा अघि बढेको छ । प्रधानमन्त्रीस्तरमै कुरा भइसकेको छ । त्यस भन्दा अगाडी पनि कुरा भएको हो । नेपालको प्रधानमन्त्री भारत भ्रमणमा पनि कुरा भएकै हो । र अहिले पनि त्यो कुरा दोहोरिएको छ । हामीले रेलको आवश्यकता किन महसुस गर्न सकेनौ भन्दा हामीले रेल चढेकै छैनौं । बाहुनले च्याउ खाए पो च्याउ जान्नु भन्ने उखान भने जस्तै भएको छ । हामी कहाँ रेल चढ्ने कामै परेन । कहिले काहीँ भारत जानु पर्यो भने मात्रै हामीले रेल चढने हो । धेरैले चढेकै छैन, रेलको महत्व बुझेकै छैन । आवश्यकता नबुझनेले रेलको महत्व बुझने पनि भएन । तर एउटा कुरा के हो भने जनसंख्या वृद्धि भएसँगै बढ्दो जनसंख्यालाई धान्न सक्ने र आपूर्तिलाई धान्न सक्ने यातायातको माध्यम भनेको चाहिं रेल नै हो । त्यो भन्दा अर्को विकल्प हुन सक्दैन ।

हामी जस्तो मुलुकले त अझ एक थोपो तेल पनि छैन मुलुकमा तेल आयात गरेर गाडीमा हुँवीकिनु भन्दा विद्युतिय रेल कुदायौं भने बातवरण मैत्री बन्ने छ । बढदो जनसंख्याको माग पनि आपूर्ति हुने तथा रेलमा आराम पनि हुनेछ ।

रेलमा आरामका साथै सुरक्षित पनि हो । रेल मोटरगाडीको तुलनामा दुर्घटना पनि कम हुन्छ । रेल आफ्नो गाईडअनुसार चल्ने भएकाले पनि सुरक्षित छ । समयको पाबन्दी रहने चाईना कोरीयामा एकदम पङ्ंचुअल छ ।

करिब ६ सय देखी ८ सय किलोमिटरको दुरीमा रेलमार्ग सञ्चालन गर्न सकेको खण्डमा हवाईजहाजसँग पनि प्रतिस्पर्धा गर्न सक्छ । यस्तो कुराको फाईदालाई हामीले बुझन नसकेर पनि हो हामीले बिकासमा प्रगति गर्न नसकेको । अब अहिले विस्तारै रियलाईज भएको छ । र भारतले पनि नेपाललाई रेलवे बनाई दिने भएको छ । त्यो हाम्रो आवश्यकता पनि हो । चीनबाट पनि हाम्रो मालसामान आयात हुन्छ । भारतबाट पनि आयात हुन्छ ।

अब हामीले मेची महाकाली पनि बनाउने भनेका छौं । ट्रान्स एशियन रेलवेको हाम्रो एक खण्ड बाकी छ । ट्रान्स एशियन रेलवे भनेर सिङ्गापुरदेखी टर्कीसम्म जाने भनेर युएनले परिकल्पना गरेको एउटा मार्ग हो । हामी २००६ मा यसको सदस्य भएका छौ । सदस्य भएको नाताले छुटेका बीचका लिकहरु बनाउदै जाने भन्ने कुरा छ । बनाउने सन्दर्भमा पुर्व पश्चिम रेल गुडाएरमात्रै सफल हुँदैन । जबसम्म काठमाडौंमा रेल आउँदैन तबसम्म सफल हुँदैन र जसरी भए पनि काठमाडौंसम्म रेल सेवा जोडनु पर्छ ।

पुर्व पश्चिम जहाँ गए पनि सबै मान्छेहरु काठमाडौं खाल्डोमै छन् । जानेत यहीँबाट हो त्यसैले जबसम्म काठमाडौंसम्म रेलमार्ग जोडदैन तबसम्म पुर्व पशिममा मात्रै रेल गुडाएर सफल भएको मानिदैंन । रक्सौलमा जुन हाम्रो रेल आउँछ, कलकताबाट कन्टेनर बोकेर आउने रेललाई सोझै काठमाडौं ल्याउने हो भने ट्रक किन चाहियो धुलोधुँवा किन गर्ने यहाँ ?

नेपालमा कति धेरै मठमन्दिरदेखी देवालय यहीँ छन, दरबारहरु छन त्यसैले पर्यटकीय स्थान बनाउन पनि रेलको आवश्यक छ । मान्छे काठमाडौंको धुलोधुवाँ देखेर भाग्नु नपरोस ।

पूर्व पश्चिमको लागि पनि मार्केट हब भएको हुनाले यसलाई नबनाई हुँदैन । अब भारत सरकारले पनि बनाई दिन्छु भनेको छ । आशा गरौं उनीहरुको पनि चाहाना छ,चीनबाट पनि आउने भए पछि हामीले ट्रान्जीटको फाईदा लिन सक्छौ ।

अब बनाउने भन्ने कुरा जुन छ ,त्यसलाई बनाउन ठुलो खर्च लाग्छ । त्यो लागत कसले व्योहोर्ने कसरी व्यहोर्ने भन्ने कुरामा समझदारी गरेर जान सकिन्छ कि सकिँदैन त्यो त सरकारले भन्ने कुरा हो । एक चोटीको व्यथा सहन सक्यौ भने ठुलो उपलब्धी हुन्छ । रेल बनाउने कुरामा एकै चोटी सबै पैसा खन्याउने कुरा पनि त भएन । बनाउन कम्तीमा पनि १० बर्ष त लागि हाल्छ । न्युनतम ब्याजमा हामीले ऋण लिनु पर्ने हुन्छ । योअर्थ मन्त्रालयले ब्यवस्थापन गर्ने हो । पहिलेको दाँजोमा अहिले टेक्नोलोजीको धेरै विकास भईसकेको छ । समय एडभान्स भईसकेको छ । गर्न सकिन्छ तर आर्थिक श्रोत राज्यले सोच्ने कुरा हो । एउटा भिजनका साथ गयौंं भने अवस्य सकिन्छ । तर आँट हुनु पर्यो, खुद्रे आयोजनामा कनिका छरेर हुँदैन र सम्भव पनि छैन । मेजर कामहरु गर्नु पर्ने हुन्छ । सोच्ने हो भने गाह्रो छैन । तर, व्यवस्थित योजना हुनुपर्यो ।

कानुनी राज्य कमजोर भएको छ । विगतमा राजमार्ग बनाउन मान्छेले सितैमा जग्गा दिन्थे तर अहिले त्यो सम्भव छैन एउटा समस्या । अर्को मान्छेमा अनुशासन छैन । ५ लाख पर्ने जग्गालाई ५० लाख भन्ने अवस्था छ । विगत २÷३ दशकमा त्यही महसुस गरेको छु । हरेक नागरिक कर्तव्य विमुख भएको छ । इमान्दारीता कुनै पनि सेक्टरमा छैन त्यो नै अहिलेको प्रमुख चुनौतिको रुपमा खडा भएको छ । यो समस्यालाई राज्यले समधान गर्नु पर्ने छ ।
मेट्रो रेल
१० लाख जनसंख्या भएको ठाउँमा त मेट्रो रेल चल्छ भने हाम्रो यहाँ त ५० लाख जनसंख्या छ भने हामीले यो परिकल्पनालाई सार्थक बनाउन पनि मेट्रो रेल सञ्चालन गर्नु पर्ने छ । तर हामी आयातमुखी अर्थतन्त्रमा भर परिरहेकाछौं । मेट्रो भन्नासाथअण्डरग्राउण्ड नै हुनुपर्छ भन्ने पनि छैन । मेट्रो भनेको मेट्रोपोलीटनमा चलाउने सिस्टम हो । सकेको ठाउँमा अण्डरग्राउण्ड गर्ने नसकेको ठाउँमा आकाशे पुलबाट पनि सञ्चालन गर्न सक्छौं ।

सन् २०१२ मा त्यस्को अध्ययन पनि भईसकेको छ । तर ६ बर्षसम्म हामीले विना काम बितायौं । किनभने सरकारले कहिले लगानी बोर्डले गर्ने भन्छ कहिले रेल विभागले गर्ने भन्छ । यसरी विरोधाभाषपूर्ण निर्णयहरु भएको छ सरकारबाट । त्यसले गर्दा कसको कार्य क्षेत्र हो भन्ने यकिन भएन । अहिले लगानी बोर्डले पूर्व पश्चिमको खण्ड गर्ने, डिपिआर गर्ने भनेर लागेको छ । सायद केही दिन भित्रमा सुचना निकाल्छ होला नागढुङ्गा देखी धुलिखेलसम्म । तर, यहाँ ट्राफिक पनि धेरै छ । तर कुनै कम्पनी आएर पिपि मोडलमा गर्दियो भने राम्रो हो ।

नेपालको लागि अब अण्डरग्राउण्डमै जानुपर्छ किनभने सडकमा जथाभाबी पाईप हालेको छ । जग हालेर पुल उठाउने ठाउँनै छैन । अण्डरग्राउण्ड गर्ने हो भने सधैंको लागि समस्याको समाधान हुनेछ । चीन र भारतका धेरै कम्पनीहरु आएका छन्, हामी गर्छौ पैसा पनि ल्याउँछौ भन्छन तर हाम्रो सरकारले आँट गर्न सकेको छैन सरकारले आँट गर्नु पर्यो ।

सित्तैमा कसैले पनि गर्दैनन् । उनीहरु लगानीकर्ता हुन । कि त सरकारले दानकर्ता खोज्नुपर्यो, हाईन भने कुनै मुलुकले सित्तैमा गर्दिँदैन ।

यदी बनाउने नै हो भने खर्बौं लाग्छ, त्यसकारण सरकारले पटुकी बाँधेर सोच्नुपर्यो निर्णय गर्न सक्नुपर्यो कहाँबाट ल्याउने बजेट भनेर ।

(बिजखबर संवाददाता राङ्डोल लामाले महानिर्देशक आचार्यसँग गरेको कुराकानीमा आधारीत)

प्रतिक्रिया दिनुहोस्