पछिल्लो समय विश्वव्यापी रुपमा नै डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । क्रिप्टो करेन्सीदेखि विटक्वाइनसम्मले कानुनी मान्यता पाएर डिजिटल मुद्राको रुपमा अहिले कारोबार भइरहेको अवस्था छ । विभिन्न सोसल मिडियाले पनि आ–आफ्नै वालेट सिस्टम सञ्चालन गरिरहेका छन् ।
डिजिटल बैंकिङ प्रायः सबैको प्राथमिकतामा छ । नेपालमा पनि विगत ८/१० बर्षदेखि डिजिटल बैंकिङका विभिन्न प्रडक्ट भित्रिएका छन् । यसले कारोबार पनि बढाएको छ । नेपालमा सन् १९९३ देखि क्रेडिट कार्डबाट बैंकिङ प्रणालीमा डिजिटल युग सुरु भएको हो । त्यसयता सन् २००२ मा इन्टरनेट बैंकिङ , सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ बाट मोबाइल बैंकिङ सुरु भएको हो । पछिल्लो समय नेपालमा पनि चरणबद्ध तरिकाबाट डिजिटल बैंकिङको नयाँ प्रडक्टहरु भित्रिरहेको छ ।
अहिलेको अवस्थासम्म आईपुग्दा नेपालमा डिजिटल बैंकिङमा धेरै काम गर्नु बाँकी नै छ । बैंकमा नगद जम्मा गर्न सम्बन्धित बैंकमा नै धाउनुपर्ने बाध्यता छ । तर, अन्य बैैंकिङ कारोबार भने घरबाटै गर्न सक्ने अवस्थामा पुगिसकेका छौं । कुनै पनि व्यक्तिले घरमै बसेर मल्टिपल बैंकिङ ट्रान्जेक्सन गर्न सक्ने अवस्था विद्यमान छ ।
डिजिटल बैंकिङमा रुपान्तरण हुँदै गर्दा दुई वटा पक्षलाई ध्यान दिनु जरुरी छ । एउटा बैंक आफैले आधुनिक प्रविधिबाट डिजिटल बैंकिङलाई बढावा दिँदै ग्राहकलाई सर्वसुलभ तरिकाबाट सेवा दिने प्रयासमा छन् । यस्तै ग्राहकले पनि आफ्नो व्यस्तताले गर्दा र प्रविधिको उपलब्धीसँंगै डिजिटल बैंकिङ सिस्टमको माग गरिरहेका छन् । ग्राहकहरुले पनि आफुलाई बैंकमा लामो लाईनमा बसेर पैसा निकाल्ने वा अन्य कुनै भुक्तानी तिर्ने मनसाय परिवर्तन गर्दै डिजिटल बैंकिङमा रुपान्तरण गरिसकेका छन् । डिजिटल बैंकिङमा प्रविधिसँग घुलमिल हुने ग्राहकका चाहना पनि एकदमै बढ्दो छ । यो अवस्थामा बैंकहरुले बाध्य भएर पनि नयाँ नयाँ प्रविधिहरु भित्र्याउनुपर्ने अवस्था छ ।
नेपालको बैंकिङ क्षेत्रमा दुई थरी ग्राहकहरु छन् । एउटा पक्ष प्राविधिक रुपमा एकदमै सक्षम छ, जसले बैंकहरुलाई नयाँ नयाँ प्रविधि ल्याउन बाध्य पारिरहेका छन् । तर, एकथरी ग्राहक प्राविधिक रुपमा एकदमै पछाडि छन् जसलाई प्रविधिको प्रयोग गर्न आउँदैन । दुई थरी ग्राहकको कारणले डिजिटल बैंकिङ दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ । बैंकले नयाँ प्रविधि लागु गरेर सोही अनुरुपको सेवा दिन त थाल्यो तर उक्त प्रविधि चलाउन नजान्ने ग्राहकको लागि यो समस्याको विषय हो । यसैका लागि गलत कारोबार भयो भने त्यसको जिम्मेवार को हुने भन्ने प्रश्न पनि उब्जिएको छ । यसलाई न्युनिकरण गर्न बैंकहरुले आफ्ना ग्राहकलाई सुसुचित गराउन विभिन्न खालका कार्यक्रमहरु नगरेका पनि होइनन् ।
तर, यस विषयमा ग्राहकहरु पनि आफै सुसुचित हुनु जरुरी छ । ग्राहकले डिजिटल बैंकिङ वा एटीएम कार्डबाट रकम निकाल्दा पासवर्ड सुरक्षित गर्ने वा आफ्नो पासवर्ड अरुलाई सेयर गर्नुहुन्न भन्ने जस्ता सामान्य जानकारी राख्नुपर्छ । नेपाल राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थालाई डिजिटल बैंकिङको कार्यान्वयनसँगै ग्राहकलाई सुसुचित गराउन गाईडलाईन पनि ल्याएको छ । नेपालले एक तहको डिजिटल बैंकिङको चरण पार गरिसकेको छ । अनलाईनबाटै बैंक खाता खोल्न सकिन्छ । तर, नियामक निकायको नियम अनुसार औठा छाप नै चाहिने भएकाले खाता खोल्नका लागि सम्बन्धित व्यक्तिनै बैंकमा जानुपर्ने बाध्यता छ । तर, अन्य कारोबार भने बैंकमै नगईकन गर्न सक्ने अवस्थामा पुगिसकेका छौं ।
अहिले नेपालका बैंक वित्तीय संस्थाले उपलब्ध गराएका डिजिटल बैंकिङका सेवाहरु केही बैंकबीचमा मात्र सिमित छ, यो सुरक्षाको दृष्टिकोणले एकदमै राम्रो हो । नेपालको बैंकिङ क्षेत्र अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँग आबद्ध नभईसकेको अवस्थामा कुनै पनि ग्राहकको खाताको पैसा विदेश जाने वा कसैले दुरुपयोग गर्न सक्दैन । यदि कसैले ग्राहकको पासवर्ड थाहा पाएर गरिहाल्यो भने पनि त्यसरी गरिने कारोबार नेपालकै बैंकबीच मात्र सिमिति हुने भएकाले कसले दुरुपयोग गर्यो भन्ने पत्ता लगाउन सकिन्छ । यदि त्यसरी गरिने कारोबार एउटा बैंक खाताबाट विदेशी बैंक खातामा ट्रान्सफर हुने थियो भने त्यसलाई सहज रुपमा पत्ता लगाउन कठिन हुन्थ्यो । यस्तो कारोबार एउटा बैंक भित्र र बढिमा नेपाल भित्रकै एउटा बैंकबाट अर्को बैंकमा ट्रान्सफर गर्न सक्ने भएकोले सहज रुपमा पत्ता लगाउन सकिन्छ । अहिले सबै बैंकहरुले केवाईसीलाई अनिवार्य रुपमा लागु गरेका छन् । जसले गर्दा कुनै पनि ग्राहकको तिनपुस्ते पत्ता लगाउन सकिन्छ ।
अहिले नेपाली बैंकहरुले प्राथमिकता दिँदै आएको मोबाइल बैंकिङ नै हो । अहिले हरेक नेपालीको हातमा मोबाइल पुगिसकेको छ । तसर्थ सबै ग्राहकमा सहज रुपमा पुग्न सकिने भनेकै मोबाइल बैंकिङ हो । तर, विश्व बैंकको तथ्याङक अनुसार नेपालका ४० प्रतिशत जनसंख्याले मात्र बैंकिङ सेवा लिँदै आएका छन् । अहिले बैंकिङ क्षेत्र नपुगेका ठाउँका ग्राहकहरुलाई पनि बैंकिङ प्रणालीमा जोड्नका लागि माच्छापुच्छ्रे बैंकल मोबाइल बैंकिङका साथै ट्याब्लेटको माध्यमबाट ब्रान्च लेस बैंकिङ सुविधा प्रदान र्गदै आएको छ । जसको माध्यमबाट ग्राहकले अनलाइन खाता खोल्ने र रकम जम्मा गर्ने तथा निकाल्न सकिने सुविधाका साथै रेमिटान्सको कारोबार समेत गर्न सकिने सुविधा प्रदान उपलब्ध गराउन थालिसकेको छ । अहिले मोबाइल बैंकिङबाट बिल तिर्ने, रकम ट्रान्सफर गर्ने मात्र नभई पछिल्लो समय माच्छापुच्छ्रे बैंकले मुद्दती खाता नै घरबाटै खोल्न सक्ने व्यवस्था गरेको छ ।
अहिलेको समयको माग अनुसार प्राय सबै बैंकले डिजिटल बैंकिङको रुपमा मोबाइल बैंकिङको सेवालाई अघि बढाएका छन् भने मोबाईल बैंकिङलाई ग्राहकले पनि सजिलो बैंकिङको रुपमा प्रयोग गर्न थालेका छन । पछिल्लो तथ्यांक अनुसार नेपालमा वाणिज्य बैंकमा मोबाईल बैंकिङको सुविधा प्रयोग गर्ने ग्राहकको संख्या करिब ३१ लाख ९८ हजार रहेको छ । यसले पनि नेपालको डिजिटल बैंकिङको उपयुक्त माध्ययम भनेकै मोबाइल बैंकिङ हो भन्ने देखाउँछ । अबका दिनमा कुनै पनि ग्राहकले खल्तीमा पैसा नै नबोकी हिडेपनि मोबाइलबाटै कारोबार गर्न सक्छन् । पछिल्लो समय मोबाइल बैंकिङले एटीएम कार्डलाई समेत विस्थापित गर्ने अवस्थामा पुगिसकेको छ ।
अहिले नेपालमा भाइबर बैैंकिङ, वीच्याटलगायतका अन्य डिजिटल बैंकिङ भित्रिरेको छ । तर, नयाँ नयाँ डिजिटल बैंकिङलाई नियमन गर्न नियामक निकायले चासो दिनु जरुरी छ । सामाजिक संजालबाट बैकिङ कारोबार गर्दा ग्राहकको गोप्य सुचना पब्लिक डोमेनमा सेयर हुने रिक्स बढी छ । हामीले अन्तराष्ट्रिय गेटवे प्रयोग गरेर बैंकिङ सेवा दिँदा ‘क्यापिटल फ्लाईट’ हुने सम्भावना पनि उत्तिकै छ । हामीले जतिसुकै कडाई गरेरपनि सोसल साईटमार्फत बैंकिङ कारोबार गर्दा अन्तरराष्ट्रिय गेटवे प्रयोग हुने भएकाले ग्राहकको सुचना बाहिरिनुका साथै क्यापिटल फ्लाईटको सभावना पनि उत्तिकै रहन्छ ।
अर्को प्रश्न नेपाली बैंक वित्तीय क्षेत्रले डिजिटल बैंकिङ प्रणाली लागु गर्दा सार्वजनिक रुपमा फैलिएको सामाजिक संजालको गेटवे चाहिन्छ कि चाहिँदैन भन्ने हो । यस्तै त्यस्ता बैंकिङ प्राणाली कार्यान्वयनमा ल्याउन नेपालमा हामीसँग त्यस्ता दक्ष जनशक्ति छ कि छैन भन्ने पनि हो । यस्तै नेपाली बैंक वित्तीय संस्थाले आफ्नो स्रोत र साधनबाट त्यस्ता बैंकिङ प्रणाली प्रदान गर्न सकिन्छ कि सकिदैन ? । तर नेपाली बैंक वित्तीय संस्थाले पछिल्लो समय जुन किसिमको बैकिङ सेवा दिँदै आएको छ जुन अन्तरराष्ट्रिय स्तरसँग तुलना गर्न सकिने खालका छन् । फरक यति मात्र हो कि विदेशीले चाडै ल्याए हामीले पछि ल्यायौं ।
अहिले कुनै पनि सोसल साइटले हरेक ग्राहकको सुक्ष्म जानकारी राख्दै आएका छन् । कुनै पनि व्यक्ति कहाँ के गर्दै छ भन्नेसम्मको निगरानी फेसबुक, गुगल, भाइबर, वीच्याटजस्ता सामाजिक संजालले राख्न थालिसकेका छन् । त्यस्ता सामाजिक संजालले ग्राहकको हरेक व्यक्तिगत प्याट्रन राख्दै आएको छ । त्यहि माध्यमबाटै हामीले बैंकिङ कारोबार गर्दा कति सुरक्षित हन्छ, त्यो हामीमाझ उब्जिएको प्रश्न हो । यसरी गेटवे प्रयोगगर्दा कुनै पनि व्यक्तिको बैंक खाता कुन बैंक बैंकमा छ, खातामा कति रकम छ, कहाँ कहाँ प्रयोग गर्छ भन्नेजस्ता सुचना अरु पब्लिक डोमेनमा सेयर हुन्छ जुन हाम्रा लागि एकदमै ठूलो रिक्स हो । तसर्थ अबका दिनमा नेपाली बैंक वित्तीय संस्थाले डिजिटल बैंकिङको लागि सामाजिक संजालको गेटवे प्रयोग गर्नुभन्दा पनि आफैले डेभलप गर्नु उपयुक्त हनेछ । यस्तै त्यसरी ल्याइएका बैंकिङ सिस्टमका लागि नियामक निकायले पनि नियमन गर्नु जरुरी छ ।
हामीले पछिल्लो समय हामीले अपनाउँदै आएको वीच्याट, युनियन पेजस्ता बाहिरका वालेटहरु प्रयोग गर्दा वित्तीय रुपमा कारोबार सम्बन्धित देशमा नै हुने भएकोले नेपालले फाइदा लिन सक्दैन । उदाहरणका लागि चीनबाट आउने पर्यटकले नेपालमा आएर बस्दा, घुम्दा वा कुनै पनि सामान खरिद गर्दा त्यसको कारोबार भने चीनमा रहेको उसको खाताबाट हुन्छ । उनीहरुले नेपालमा कारोबार गरेपनि पैसा भने विदेशमा नै जानेछ । अहिले राष्ट्र बैंकले विदेशमा पैसा पठाउन रोक्नका लागि जुन उपाय अपनाएको छ ठिक त्यसको विपरित एउटा कोडको माध्यमबाट नेपालबाट विदेशमा पैसा पठाउने काम भइरहेको छ । तत्कालका लागि हामीले जुन किसिमको सुरक्षा अपनाएपनि अन्तरराष्ट्रिय गेटवे भएका सोसल साइटमार्फत बैंकिङ कारोबार गर्दा क्यापिटल फ्लाईट हुनेछ ।
अर्को कुरा नयाँ प्रविधिको इनोभेसन संगै रिक्स पनि त्यतिकै हुन्छ । यदि हामीले रिक्सलाई मात्र हेर्ने हो भने नेपालमा डिजिटल बैंकिङले फड्को मार्न सक्दैन । ग्राहकको माग र अपेक्षालाई सम्बोधन गर्न बैंकहरुले नयाँ नयाँ प्रोडक्ट ल्याइरहेका छन् । पान पसलदेखि पेट्रोल भर्नका लागि समेत डिजिट बैंकिङको प्रयोग गर्न सक्ने बनाउनुपर्छ । सबै नगद कारोबार प्रतिस्थापन गर्न सकियो भने मात्रै डिजिटल बैंकिङको वास्तविक प्रयोग हुन्छ । तर, यसको सुरक्षाको ग्यारेन्टी बैंकले चाहि दिन सक्नुपर्छ ।
पछिल्लो समय माच्छापुच्छ्रे बैंकले जुन किसिमिको मोबाइल बैंकिङ प्रयोगमा ल्याएका छौं त्यसलाई अझ बढि सुविधा सहित ल्याउँदै छौं । जुन समान्य साना किराना पसल, पान पसलदेखि ठूला महलहरुमा समेत प्रयोगमा ल्याउन सकियोस । यसरी नयाँ नयाँ सुविधा ल्याउँदा ग्राहकहरुको सुरक्षाका लागि बंैंकले ग्यारेन्टी प्रदान गर्ने छ । पछिल्लो समय माच्छापुच्छ्रे बैंकले ल्याएको डिजिटल बैंकिङमा ग्राहकको सिम अर्को मोबाइल सेटमा परिवर्तन गर्ने वित्तिकै कारोबार गर्न सकिँदैन । अत ग्राहकले सम्बन्धित मोबाइलबाट मात्रै गर्न सक्छन् । माच्छापुच्छ्रे बैंकले हाल भिसा डेबिट कार्ड, क्रेडिटकार्ड, प्रिपेडकार्ड, पिओस, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ र मोबाइल बैंकिङ जस्ता सुविधाहरु डिजिटल बैंकिङको प्रडक्टहरुको रुपमा प्रदान गरिरहेका छन । बैंकले आफनो ग्राहकलाई लक्षित गरि क्यास लेस कारोबार गर्न प्रेरित गर्न हाल भिसा कार्डबाट गरिने कारोबारमा १० प्रतिशत नगद फिर्ता स्किम पनि ल्याएको छ ।
(लेखक माच्छापुच्छ्रे बैंकको प्रमुख प्राविधिक अधिकृत हुन्)