Logo

प्रविधिसँगै फेरिएको पर्यटन प्रवृत्ति : दीपकराज जोशीको विचार

प्रविधिसँगै फेरिएको पर्यटन प्रवृत्ति : दीपकराज जोशीको विचार



काठमाडौं । साढे दुई दशकअघि नेपाल पर्यटन बोर्ड गठन गरेर प्रवद्र्धनको काम शुरू गरेपछि अन्तर्राष्ट्रिय पर्यटकको प्रवाहमा ठूलो परिवर्तन देखिएको छ । पर्यटन प्रवद्र्धनका दृष्टिले गन्तव्य र गतिविधि, घुम्न निस्कने पर्यटक र गतिविधिलाई जोड्ने र जोडिने पक्ष महत्वपूर्ण हुन्छन् । यी सबै पक्षमा हुँदै गएको सुधारसँगै पर्यटक आगमन पनि बढेको देखिन्छ ।

नेपालमा घुम्न आउने पर्यटक धेरैजसो पहिलो पटक आएका र उनैको सिफारिसमा आउने बढी छन् । विभिन्न देश र त्यहाँका नागरिकसँग जोडिने र घुलमिल हुने वर्ग पर्यटकका रूपमा वर्षेनि घुम्न निस्किरहेका हुन्छन् । त्यसैले पर्यटकले खोज्ने विषयमा पनि परिवर्तन देखिन्छ । कला, संस्कृति, घुमघाम, रमाइलोसँगै ज्ञान र अनुसन्धानले गर्दा पनि पर्यटन प्रवद्र्धनका हिसाबले निकै ठूलो परिवर्तन आएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डको भूमिका हेर्ने हो भने पछिल्लो १०/१२ वर्षको गतिविधि र अवस्थासँग जोड्नुपर्छ । पर्यटकको आगमनकै संख्या, खर्च गर्ने प्रवृत्ति र पर्यटक आकर्षित गर्ने पक्षमा बोर्डको भूमिका उल्लेख्य देखिन्छ । योसँगै कस्ता पर्यटक आउँछन् र कहाँबाट आइरहेका छन् भन्ने पनि हेरिनुपर्छ । पहिले ठूलाठूला मेलामा जाने नेपालको प्रवद्र्धन गर्ने, स्रोत बजारको प्रवद्र्धन गर्ने हुन्थ्यो । अहिले त्यो ट्रेण्ड फेरिएको छ । पर्यटक मेला महोत्सवमा पुगेर जान्ने, बुझ्ने भन्दा पनि स्वतःस्फूर्त रूपमा आफै प्रविधिको प्रयोग गरेर सूचना र जानकारी लिएर हिँडडुल गर्ने प्रवृत्ति विकसित भएको छ । पहिले मानवीय उपस्थितिमा नै धेरै सेवा प्रवाह हुन्थ्यो भने अहिले प्रविधिको प्रयोग र हस्तक्षेप बढेको छ । प्रविधिले प्रवद्र्धन गर्न सहज र प्रभावकारी भएको छ ।

विगतमा ट्राभल एजेन्सीले आइटिनरी बनाउने, घुम्ने र घुमाउने गन्तव्यको सूची तयार पार्ने काम गर्थे । जहाँ एजेन्सीले प्याकेज बनाएको छ, त्यही ठाउँमा पर्यटक पुग्ने हुन्थ्यो भने गाइडहरूले पनि सम्बन्धित ठाउँमा मात्रै लैजाने हुन्थ्यो । पर्यटकीय गतिविधिका बारेमा जानकारी, सूचना र ज्ञान पर्यटकले पाउने माध्यम पनि गाइड नै हुने गरेका थिए । तर, अहिलेको घुमघाम संस्कृति परिवर्तन भएसँगै गाइडमा मात्रै सीमित हुनुपर्ने अवस्था छैन । पर्यटकले जहाँ रुचि लागेको छ, त्यहीँ घुम्ने आवश्यक ज्ञान र जानकारी लिने गर्न थालेका छन् । पर्यटक पनि जहाँ सम्भावना छ र परिचित गन्तव्य बनिसकेको छ, त्यही ठाउँहरूमा घुम्न जान मन पराउँछन् ।

पर्यटकले खोज्ने नयाँ र आकर्षक ठाउँ भएकाले घुमन्तेहरू त्यसैलाई खोज्दै हिँड्न थालेका छन् । डिजिटल युगका कारण पर्यटक पुरानो शैलीमा घुम्न रुचाउँदैनन् । पर्यटकको घुम्ने शैली जसरी परिवर्तन भएको छ, सोहीअनुसार अरू पर्यटनका निकाय पनि परिवर्तन हुँदै गएका छन् । पहिलेजस्तो ट्राभल एजेन्सीले सुझाव दिएका, गाइडले भनेका गन्तव्यभन्दा पनि आफै रोजेर र खोजेर भ्रमण गर्नेहरूको जमात बढेको छ । समाजिक सञ्जालको प्रयोग, इन्टरनेटको सहजता र अनलाइनमा पाइने प्रशस्त पर्यटकीय गन्तव्यको जानकारीले घुम्न जानेहरूका लागि सहजसमेत भएको छ ।

प्रविधिको विकाससँगै हामीले गन्तव्यभित्रको तयारी पनि निकै बढाउनुपर्ने भएको छ । पर्यटक जहाँ पनि र जतिबेला पनि यात्रा गर्न, घुमघाम गर्न सक्ने भएकोले उनीहरूको सुरक्षा तथा खानपानमा चासो राख्नुपर्ने हुन्छ । पर्यटकीय ठाउँमा मात्रै सरसफाइ गर्ने, पूर्वाधार बनाउने भन्ने हुँदैन । परम्परागत रूपमा दिइने पर्यटकको सेवाले अब काम गर्दैन । पर्यटकको रुचि भएका ठाउँमा पर्यटकीय सेवा सुविधा र आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने बेला भएको छ । त्यसैले पर्यटन बोर्डले पनि पर्यटकको रुचि, चाहना, गन्तव्य, भ्रमणको माध्यमअनुसार प्रवद्र्धन गर्नुपर्ने भएको छ ।

हामीले प्रवद्र्धन गर्दा पनि पर्यटकलाई कस्ता सन्देश दिने र कहाँ कहाँ पुगेर प्रवद्र्धन गर्ने भन्ने करिडोर पत्ता लगाउनुपर्ने छ । गर्मी आउँदै छ भने धेरै गर्मी हुने गन्तव्यमा पुगेर र त्यो ठाउँसम्मको पहुँच नेपालले राख्नुपर्ने हुन्छ । उत्तरी भारत, बंगलादेश, एसियाका विभिन्न गन्तव्यमा पुगेर नेपालले गर्मीमा शितलताको प्याकेज विक्री गर्न सक्नुपर्छ । यस्तो विषयमा नेपालको तयारी जे जति छ, त्यो निकै कम छ । त्यसलाई बढाउँदै लैजानुपर्छ । त्यसो त पर्यटकलाई अपिल गर्ने कन्टेन्ट अझै पनि स्रोत बजारमा पुगिसकेका छैनन् । नयाँ स्कोप बढेको छ । नेपालकै सन्दर्भमा घुम्ने, कन्टेन्ट क्रियट गर्ने युवा बढिरहेका छन् । त्यसलाई स्रोत बजारसम्म पु¥याउनुपर्ने चुनौती छ । त्यसका लागि नेपालमै ट्राभल एजेन्सीमार्फत कन्टेन्ट क्रियटरसँग जोडिने काम पर्यटन बोर्डले गर्दैछ ।

अहिले पनि स्वस्फूर्त रूपमा कन्टेन्ट भने क्रियट भएका छन् । ती कन्टेन्ट पर्यटकलक्षित नभएको हुन सक्छ । अब भने स्वतन्त्र रूपमा घुम्ने, डुल्ने ट्राभलरले पनि पर्यटक र पर्यटकीय गन्तव्यलक्षित कन्टेन्ट क्रियट गरून् भन्ने हाम्रो चाहना हो । अब हामीले त्यसमा ध्यान दिनुपर्छ । प्रवद्र्धनका लागि अहिले डिजिटल मिडियाको प्रयोग निकै धेरै बढेको छ । हामीले यसको प्रयोगलाई पनि बढाएका छौं । उदाहरणका लागि भर्खर सकिएको भारतको कुम्भ मेलाको नाम लिन सक्छौं । त्यहाँ पुग्न र लाग्ने खर्च प्रत्यक्ष पुगेर प्रवद्र्धन गर्नुभन्दा डिजिटल मिडियाबाट गर्ने काम निकै धेरै प्रभावकारी हुन्छ । गोरखपुर, वनारस, दिल्लीसहितका मुख्य गेटवेमा प्रवद्र्धन र सोसल मिडियाबाट गरेको प्रवद्र्धनले कुम्भबाट काठमाडौं, प्रयागराजबाट पशुपतिसहितको टे«ण्ड चलाउन सकियो । जसले गर्दा सोसल मिडिया प्रयोगकर्तामार्फत प्रभावकारी अभियान हुन सक्यो । यसलाई वास्तविक लक्षित वर्गमा पु¥याउन बढीभन्दा बढी प्रवद्र्धनको जरुरी हुन्छ ।

आजभन्दा १०/१५ वर्ष अगाडि प्रवद्र्धनमा जाँदा गाइडबुक, ब्रोसर, पम्प्लेट, पर्चासहितको सामग्रीको प्रयोग निकै धेरै हुन्थ्यो । यसलाई लिन मन पराउने पनि धेरै हुन्थे । अहिले यस्ता ब्रुसर पर्चा पम्पेट लिनेको संख्या १० प्रतिशतमा झरेको छ । अहिले धेरैले डिजिटल माध्यमबाटै ती कन्टेन्ट पाइरहेका वा लिन खोजिरहेका छन् । हामीले दिएका कन्टेन्ट प्रभावकारी भएको पनि छ । तर हामीले जति मात्रामा गर्नुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौं । यसलाई बढाउन जरुरी छ ।

नेपाल गन्तव्यका रूपमा सिजनमुखी छ । यहाँ आउने पर्यटक मौसमी हुन् । यहाँ प्रवद्र्धन गर्नुपर्ने पनि नेपाल विशेष गन्तव्यकै रूपमा हो । पर्यटकलाई लाइफटाइम एक्सपिरियन्सको गन्तव्य हो नेपाल भनेर हामीले प्रवद्र्धन गर्नुपर्छ । एकपटक आएका पर्यटकको बुझाइ पनि त्यही बनाउने हो ।

नेपाल साहसिक गतिविधिका पर्यटन, पर्वतीय आकर्षण, संस्कृति र सम्पदामुखी, वन्यजन्तुसहित सम्भाव्यता भएको गन्तव्य हो । यहाँ योग, वेलनेस तथा धार्मिक पर्यटक आकर्षित गर्न सकिन्छ । नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन त्यही अनुसार लगानीको पनि आवश्यकता छ । यसका लागि पर्यटन बोर्डले सहजीकरण पनि गरिरहेको छ ।

समूहमा आउने पर्यटकको संख्या बढाउन नसक्नु र सभा, सम्मेलन, गोष्ठी, सेमिनार (माइस)लाई निरन्तरता दिन नसक्नु हाम्रो ठूलो कमजोरी हो । यसले पनि केही न केही मात्रामा पर्यटक आकर्षित गरेकै हुन्थ्यो । पर्यटकलाई घुम्न ल्याउने र पठाउने तथा ठूलो खर्च गर्ने ट्राभल तथा कर्पोरेट क्षेत्र हो । उनीहरूले नै पर्यटक ल्याउने हुन् । माइसमा पर्यटक ल्याउने एजेन्सीले खर्च गर्ने र पर्यटकले पनि गर्ने भएकोले यसमा दोहोरो खर्च हुन्छ, जसबाट लाभ पाउने भनेको सरकारले नै हो ।

पछिल्ला दिनमा हामीले मास पर्यटक आकर्षित गर्ने खालका यस्ता गतिविधि बढाउन सकेनौं । यसको अर्थ पर्यटकीय पूर्वाधारमा लगानी हुन छोड्यो कि भन्ने पनि हो । हामीले गन्तव्यको पहुँच बढाउन नसकेको, पूर्वाधारमा लगानी बढाउन नसकेका कारण पर्यटक ल्याउन निकै महँगो हुन थालेको छ, जसले गर्दा घुम्न निस्कने पर्यटकलाई पनि महँगो परिरहेको छ । पछिल्लो समय जति मात्रामा पर्यटक बढ्नुपर्ने थियो । त्यति मात्रामा बढ्न सकेको छैन । अर्को कुरा, पर्यटक प्रवद्र्धनमा कमी भयो । यसलाई रोक्नु भएन । पर्यटक प्रवद्र्धनलाई निरन्तरता दिइरहनुपर्ने भयो ।

अहिले नै हेर्ने हो भने माइसमार्फत ५ देखि ६ सय पर्यटक ल्याउनुप¥यो भने पनि उनीहरूलाई राख्न र सभा सम्मेलन गर्न समस्या छ । सीमा क्षेत्रका सहरबाट पर्यटक आकर्षित गर्न सकिने भए पनि हाम्रो सडक पूर्वाधार राम्रो नहुँदा त्यो अनुसारको काम हुन सकेको छैन । पूर्वाधार विकास गरेरै आकर्षित गर्न सक्ने पर्यटक ल्याउन हामी चुकिरहेका छौं ।

माइस पर्यटनको प्रवद्र्धनमा हामी छौं तर विकास र व्यवस्थापन गर्न फोकस युनिट बनाएर जानुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र केही समयपछि खाली हुँदैछ । त्यसपछि हामीले फोकस गर्नुपर्ने भनेकै माइस टुरिजममा यसको प्रयोग हो । त्यसपछि गोदावरी, प्रज्ञा भवन, भृकुटीमण्डप, चितवन, बुटवलसहितका पर्यटकीय गतिविधिका सभाहललाई फोकस युनिट बनाएर जानुपर्छ । जसरी अहिले प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड छ, त्यसैगरी माइस टुरिजम ब्यूरो वा यस्तै केही नामको संरचना आवश्यक देखिन्छ । यसलाई सञ्चालन गर्ने छुट्टै संयन्त्रको आवश्यक छ । त्यसो भयो भने पर्यटन प्रवद्र्धन र विकासमा केन्द्रित भएर काम गर्न सकिन्छ, जसले दीर्घकालीन संरचनाको विकासमा सहयोग गर्छ ।

नेपालमा यही वर्ष ३० लाख पर्यटक ल्याउँछु भन्यो भने पूर्वाधारले सम्भव छैन । अबको दुई वर्षमा भने हामीले त्यो लक्ष्यअनुसारको पर्यटक ल्याउने सक्ने आधार देखिन्छ । यसका लागि काठमाडौं विमानस्थलको मर्मतको काम सकिएसँगै धावनमार्ग मर्मत शुरू हुनु अगाडि रोकिएर र थप उडान गर्न नपाएका वायुसेवाको उडान पुनः सुचारु हुन सक्छ । यसले २ देखि ४ लाख पर्यटक बढाउन सक्छ । अरू दुई अन्तर्राष्ट्रिय विमानस्थल पनि तयार भएका छन् । त्यहाँ दिनुपर्ने इन्सेन्टिभ लागू भइसकेको अवस्था छैन । ती विमानस्थलाई पर्यटकले रुचाउने बनाउनुपर्ने छ । हवाई टिकटमा काठमाडौं आउनुभन्दा १०/१२ हजार सस्तो पर्ने हुँदाहुँदै पनि हामीले त्यसलाई बेच्न सकिरहेका छैनौं । नेपाल आउन चाहिने विभिन्न मुलुकका पर्यटक तथा यात्रुलाई सहज हुने र एयरलाइन्सलाई पनि लाभ हुने भएकाले यसैमा फोकस गर्न सकियो भने केही वर्षमै १२ लाख पर्यटक थपिन सक्छन् ।

काठमाडौं, पोखरा, चितवन जोडिने बाटोलाई पनि डेढ दुई वर्षमै राम्रो बनाउन सकिन्छ । राज्यले तदारुकता दिएर स्थलमार्ग र हवाई मार्ग दुवैबाट पर्यटक बढीभन्दा बढी भित्र्याउन जोड दिन सक्यो भने हाम्रो पर्यटक बढाउने योजना अवको तीन वर्षमै पूरा हुन सक्छ । त्यसका लागि सकारात्मक सन्देशले सधैं ब्याकअप भने गरिरहनुपर्छ ।

नेपाल पर्यटन बोर्ड २५ वर्ष अगाडिको कानुनले चलिरहेको छ । पछिल्लो समय बोर्डको दायरा बढाउने र यसको क्षमता विकास गर्नुपर्नेमा झन् ‘कन्जरभेटिभ’ बनाएर बोर्डलाई राखिएको छ । यसलाई अरू सार्वजनिक निकायको जस्तो खरिद ऐनले बाध्न नहुने भन्दै पटकपटक सहजीकरण गरिदिन माग गरिरहेका छौं, तैपनि सहजीकरण हुन सकेको छैन ।

बोर्ड सफल हुन कार्यकारी समितिमा पनि निजीक्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति व्यावसायिक पृष्ठभूमिकै चाहिन्छ, अर्थात् पर्यटन बोर्डमा आउने बोर्ड सदस्य पर्यटन व्यवसायबाटै हुनु उपयुक्त हुन्छ । पर्यटन प्राविधिक विषय भएकाले प्रशासनिक संरचनाले चलाउन खोज्नु भएन । प्राविधिक जनशक्ति नै खटाएर बोर्डलाई चलाउनुपर्ने आवश्यकता छ ।

सार्वजनिक खरिद ऐन पालना गर्दा त्यसले प्रवद्र्धन र सेवा खरिदमा अपेक्षित सहजता दिन सकेन । यो ऐन वस्तु खरिदमा केन्द्रित भएर बनाइएको छ तर बोर्डको काम सेवा मात्रै खरिद गर्ने हो । यसर्थ कानूनी पाटोले पनि सहजता प्रदान गर्नुपर्ने छ । कार्य प्रकृतिअनुसार काम गर्नेलाई खरिद ऐनले नबाँध्ने हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखापरीक्षकका नाममा काम पन्छाउने, तर्सिने र डराउने क्रम बढेको छ, जसले अत्यावश्यक काम पनि हुन सकेको छैन । संस्थाअनुसार कामको प्रकृति फरक हुन्छ । त्यसका लागि संस्थाको प्रकृतिअनुसार चलाउन सक्ने ऐन नियम चाहिन्छ ।
जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् । चेम्बर स्मारिका २०८१ बाट साभार :

प्रतिक्रिया दिनुहोस्