Logo

होटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार

होटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार



नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटलको आ–आफ्नो ग्रेड हुन्छ । मध्यमको र उच्चको निश्चित गुणस्तर हुन्छ । जुन ग्रेडको पैसा लिन्छौँ, सोही अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नु अनिवार्य छ । अब तीनतारे होटलको मान्यता लिने अनि प्रतिस्पर्धा छ, नाफा छैन भन्दैमा एकतारे स्तरको सुविधा दिनु गलत हो । जहाँसम्म मलाई लाग्छ, नेपालमा सञ्चालित अधिकांश होटलले आफ्नो गुणस्तरअनुसारका सेवा दिँदै आएका छन् । त्यसमा १९/२० हुनु स्वाभाविक हो ।

तर अहिले नेपालको समग्र आतिथ्य उद्योगको कुरा गर्ने हो भने यही स्थितिमा गुणस्तर कायम गर्न गाह्रै छ । अहिले होटल उद्योगले आफ्नो तर्फबाट गुणस्तर कायम गर्न जति नै लगानी गरे पनि पाहुनाको आगमन पर्याप्त छैन । स्तरअनुसारको सेवा प्रवाह गर्नु होटलको मुख्य दायित्व हो । होटलको गुणस्तर कायम गर्नमा खाद्य सामग्रीको गुणस्तरदेखि जनशक्तिको व्यवहारसम्मले महत्वपूर्ण भूमिका खेल्छन् । तर अहिले यहाँ जनशक्ति अभाव छ । यहाँको जनशक्ति विदेशमा अवसर खोज्दै पलायन भइरहेको छ । तर यो कुरा पाहुनाको सरोकारको विषय होइन । यो त सेवाप्रदायक अर्थात् होटलको दायित्व हो ।
जुन स्तरको होटल हो, सोहीअनुसार पाहुनाको अपेक्षा हुन्छ । कतिपय अवस्थामा प्रतिस्पर्धा हुन्छ । २ सय अमेरिकी डलर मूल्यको होटल रुम १ सय अमेरिकी डलरमा पनि बिक्री गर्नुपर्ने हुन्छ । तर मूल्यमा सम्झौता भए पनि सेवा सुविधाको गुणस्तरमा सम्झौता हुँदैन र हुनुहुँदैन पनि ।

स्तरीय होटलको जिम्मेवारी भनेकै जनशक्ति व्यवस्थापन हो । ५० हजार रुपैयाँ तलब दिँदै आएको ठाउँमा २ लाख रुपैयाँ नै तलब दिएर भए पनि जनशक्ति ल्याउनुपर्ने हुनसक्छ । यो हाम्रो जिम्मेवारी हो । चुनौती भए पनि जनशक्ति तालिम र स्तरमा विशेष ख्याल गरिँदै आइएको छ । जनशक्ति अभाव सम्बोधनका लागि अहिले विभिन्न होटलले आफ्नो रणनीति अनुसार इन्टर्नशीप पनि गराउँदै आएका छन् । त्यसो त कतिपय होटलले जनशक्ति व्यवस्थापन गर्न नसकेको पनि पाइएको छ । राज्यले पनि पर्यटन विभागमार्फत चुस्त अनुगमन गरेर स्तरअनुसार होटलको वर्गीकरण गर्नु आवश्यक छ । यस सन्दर्भमा जिम्मेवार र सामथ्र्यवान् निकाय भनेकै पर्यटन विभाग हो । विभागले बेलाबेलामा आकस्मिक निरीक्षण पनि गर्नु आवश्यक छ ।

हस्पिटालिटी क्षेत्रमा गुणस्तर अनुगमनकै कुरा गर्दा खाद्य क्षेत्रमा तदारुकता कम देखिएको छ । त्यसमा ध्यान जानु आवश्यक छ । त्यसैगरी, धेरै होटल भएर गुणस्तर खस्किएको कुरा आइरहेको छ । तर यो भाष्य गलत छ । न्यूयोर्ककै उदाहरण लिउँ, त्यहाँ १ हजार होटल होलान् । त्यहाँ मूल्यमा प्रतिस्पर्धा हुन सक्छ, गुणस्तरमा हुँदैन । हामीले नै यहाँ २ सय डलरको होटल रुम डेढ सय डलरमा दिन्छौं । तर पाहुनालाई मूल्य घटाएअनुसार गुणस्तर पनि घटाउने कुरा मान्य हुँदैन । कसैले यसो गर्छ भने यो बेइमानी हो । कफीकै मापदण्डको कुरा गर्दा दूध, पानी र कफीको मात्रा निश्चित हुन्छ । कफीमै ‘बाइ वन गेट वन’ स्किम ल्याउँदा पनि गुणस्तर घटाउने कुरा हुँदैन ।

खानपिनको गुणस्तर मूल्याङ्कन हुने रेष्टुरेण्टमा हो । स्तरीय रेष्टुरेण्टमा पनि अहिले प्रतिस्पर्धासँगै गुणस्तर विस्तार हुँदै आएको छ । प्रतिस्पर्धा नै गुणस्तर थप चुस्त बनाउने आधार हो ।

अब काठमाडौं रहेका पाँचतारे होटलको मूल्यको कुरा गर्दा यहाँका रुमको न्यूनतम २ सयदेखि २ सय ५० अमेरिकी डलर हो । तर कतिपय होटलहरू सोही सेवा ८० डलरमा पनि सञ्चालन गर्न बाध्य छन् । अहिले यहाँ कतिपय होटल नेपाली व्यवस्थापनमै छन् भने कतिपय फ्रेन्चाइजी र म्यानेजमेन्ट आउटसोर्सिङअन्तर्गत छन् । सबैको आ–आफ्नो शैलीको आतिथ्य छ । अब अन्तर्राष्ट्रिय होटल चेनको कुरा गर्दा गुणस्तर उनीहरूकै मापदण्डअनुसार लागू हुँदै आएको छ । यसरी अन्तर्राष्ट्रिय चेन आइरहेको अवस्थामा आतिथ्य सेवामा थप गुणस्तर कायम भइरहेको छ । त्यसका लागि बाथरुममा कुन केमिकल कति मात्रामा प्रयोग गरेर सफा गर्ने, कुन ब्राण्ड र गुणस्तरका सामग्री प्रयोग गर्ने, बेडसिट ब्राण्डदेखि लिएर भान्सामा प्रयोग हुने सबै सामग्रीको सूक्ष्म रूपमा अध्ययन गरेर प्रयोग गरिन्छ । आतिथ्य सेवा भनेको अनुभूत गर्ने खालको हुनुपर्छ । त्यो अनुभूतिमा हुने सन्तुष्टि नै भविष्यमा सेवा विस्तारको आधार हो भन्ने बिर्सनु हुँदैन ।

तर कतिपय अवस्थामा केही होटलले चुस्त रूपमा गुणस्तर कायम नगर्दा एक पटक आएको पर्यटक पुनः आउन नचाहेको अवस्था पनि देखिएको छ । जसका कारण मौखिक प्रचार नै नकारात्मक हुन पुग्छ । पर्यटन विभागले दिएको स्तर मान्यता पालना भएको छ या छैन भन्ने विषय सुनिश्चित गर्नकै लागि पनि पटकपटक आकस्मिक अनुगमन गर्न आवश्यक छ ।

यहाँनिर के कुरा बुझ्नु आवश्यक छ भने रेटको हिसाबले विश्वकै सबैभन्दा सस्तो होटल नेपालमै छ । तर हवाई भाडादर महँगो भएको कारण पर्याप्त पर्यटक यहाँ आएका छैनन् वा आउन चाहँदैनन् । त्यसको मार होटल उद्योगले खेपिरहेको अवस्था छ । हामीले सुरुमा नेपाल संसारकै सुन्दर पर्यटकीय गन्तव्य भनेर एउटा रेट लागू ग¥यौं । तर यही गतिमा हामी कति दिन अडिग रहन सकौंला ? हामीले पाइरहेको पर्यटकको संख्या विस्तार हुन सकेन भने पर्यटन तथा आतिथ्य उद्योगका धेरै व्यवसाय तथा सेवाहरू प्रभावित हुनेछन् । त्यस्तो अवस्थामा व्यवसाय बन्द हुने, रोजगारी प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । अहिले नै अधिकांश होटल सस्तैमा सेवा दिन बाध्य छन् ।

सबै होटललाई ‘ब्रेक इभन’मा आउन गाह्रो छ । जनवरीकै कुरा गर्दा काठमाडौंको तारे होटलको औसत अक्युपेन्सी ३३ प्रतिशत थियो । फेब्रुअरीमा आउँदा ४२ प्रतिशत पुग्यो । मार्चमा त्यस्तो अक्युपेन्सी ५० प्रतिशत पुग्ने भनिएको छ । यो दुर्भाग्य हो । नेपालजस्तो सुन्दर मुलुक, जहाँ असंख्य पर्यटकीय, प्राकृतिक तथा सांस्कृतिक आकर्षण छन्, भारत र चीनजस्ता ठूला मुलुक नजिक छन्, त्यहाँ त अक्युपेन्सी कम्तीमा पनि ९० प्रतिशत हुनुपर्ने हो ।

अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ भन्ने भाष्य बनेको छ । तर यहाँ प्रतिस्पर्धा सधैं स्वस्थ नै हुने हो । अस्वस्थ तब हुन्छ, जब होटलको गुणस्तर कम हुन्छ तर उच्चस्तरको मान्यता दिइन्छ । जस्तै एउटा होटलले १ सय अमेरिकी डलरमा कोठा बिक्री गर्दैगर्दा अर्को सोही स्तरको होटलले त्यसलाई ८० मा बिक्री ग¥यो भने त्यो हानिकारक प्रतिस्पर्धा हुन्छ । यसले कसैको हित गर्दैन । यो अस्वस्थभन्दा पनि हानिकारक प्रतिस्पर्धा हो ।

पाँचतारे होटल छ भनेर बोलाउने तर गुणस्तर शून्य वा न्यून छ भने त्यो अस्वस्थ प्रतिस्पर्धा हो । यस्तो परिवेश नेपालमा नभएको होइन । अहिले गुणस्तरमा कुनै सम्झौता नगरे पनि कतिपय होटल मारमै छन् । किनभने धेरै होटलहरू बैंकको ऋण लिएर सञ्चालित छन् ।

महँगो हवाई भाडादर, अव्यवस्थित रोड कनेक्टिभिटी, डलर फेयर लगायतले पर्यटक आगमनमा थप प्रभाव पारेको अवस्था छ । विदेशमा हेर्ने हो भने भाडामा कुनै भेदभाव छैन । तर यहाँ हवाई भाडादरमा भइरहेको भेदभावमा सुधार ल्याउन आवश्यक छ । अब यो विषय प्रत्यक्ष रूपमा नेपाल वायुसेवा निगमसँग जोडिन्छ । जबसम्म राष्ट्रिय ध्वजावाहक सक्षम हुँदैन, तबसम्म हवाई भाडादर घट्ने सम्भावना न्यून रहन्छ । अहिले निगमसँग जम्मा साढे २ थान जहाज छ भन्दा हुन्छ । एयरबस कम्पनीको दुईवटा वाइडबडी ए–३३० र दुईवटा न्यारोबडी ए–३२० गरी कुल चारवटा जहाजमध्ये एउटा प्रायः बिग्रिरहेको अवस्था छ भने अर्को एउटा पनि आंशिक रूपमा मात्र सञ्चालनमा रहेको देखिन्छ ।

नेपाल वायुसेवा निगमलाई जबसम्म बलियो बनाइँदैन, तबसम्म पर्यटक संख्यामा वृद्धि हुँदैन । निगमको जहाज संख्या विस्तारसँगै चुस्त हवाई सेवा सञ्चालन अहिलेको प्रमुख आवश्यकता हो । एयर कनेक्टिभिटी नै पर्यटनको मुख्य मेरुदण्ड हो । हवाई भाडादर सस्तिनका लागि ध्वजावाहकलाई बलियो बनाउनुको विकल्प छैन । यसमा सरकार चुकेको देखिन्छ । गन्तव्य विस्तारले थप पर्यटक आगमनमा टेवा पुग्ने देखिन्छ । जहाज कम भएकै कारण दुईपक्षीय हवाई सम्झौता भएका अधिकांश मुलुकमा ध्वजावाहक पुग्न नसकेको हो । अबको योजना यो समस्या समाधानका लागि हुनुपर्छ ।
अग्रवाल काठमाडौं म्यारियोट होटलका संचालक हुन् । चेम्बर स्मारिका २०८१ बाट साभार :

प्रतिक्रिया दिनुहोस्