काठमाडौं । परापूर्व कालदेखि नै मानिसले आफ्ना लागि उचित विकल्पको खोजी गर्दै बसाइँसराइ गर्ने गरेको पाइन्छ । अहिले झनै अवसरको खोजी गर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । पछिल्लो समय सूचनामा पहुँच, अवसरमा पहुँच, विश्वव्यापीकरणजस्ता वर्तमान यथार्थहरूका कारण तपाईं हामीले मान्छेलाई कुनै एक ठाउँमा बाँधेर राख्न सक्दैनौं । त्यसकारण बसाइँसराइ भनेको सधैंभरि बढिरहने एक विश्व घटनामात्र हो । फलस्वरूप रेमिट्यान्स पनि आगामी दिनमा लगातार बढ्ने नै अवस्था सिर्जना हुन्छ । यसमा घट्ने सम्भावनाहरू दूर क्षितिजसम्म पनि देखिँदैन ।
तर हामी रेमिट्यान्समा कति परनिर्भर हुन्छौं भन्ने बेग्लै पाटो हो । यो विषय नेपाली अर्थतन्त्रको आकारसँग जोडिन्छ । अर्थतन्त्रका अरु क्षेत्रहरू व्यापक विस्तार भए र कुल गार्हस्थ्य उत्पादन बढ्दै गयो भने रेमिट्यान्सको निर्भरता स्वतः खुम्चिन पुग्छ । तर आन्तरिक अर्थतन्त्रको विस्तार हुन सकेन र उत्पादन बढ्न सकेन भने रेमिट्यान्समा रहेको निर्भरता अझै बढ्न पनि सक्छ ।
तर हामीले आशा गर्न सक्छौं, अर्थतन्त्रका अन्य वास्तविक र सेवा क्षेत्रको विस्तार अहिलेभन्दा शीघ्र हुनेछ । त्यसपछि अहिलेजस्तो अर्थतन्त्रको २२–२३ प्रतिशत अनुपातमा रेमिट्यान्सको आकार देखिने छैन, त्यो अनुपात घट्दै जानेछ । आगामी दशक रेमिट्यान्सको आकार बढ्ने, तर अर्थतन्त्रमा यसको प्रभुत्व कम हुँदै जाने आकलन गर्न सकिन्छ ।
परिवर्तनशील गन्तव्य
हामी भन्छौं, ‘संसार परिवर्तनशील छ’ । यही परिवर्तनशील संसारमा अवसरहरू पनि परिवर्तनशील छन् । हाम्रा आवश्यकता र क्षमता पनि परिवर्तनशील छन् । त्यसैले श्रम बजारका गन्तव्य पनि परिवर्तनशील छ । मान्छेले हर दिन नयाँनयाँ बजारको खोजी गरिरहेको हुन्छ । यसमा नीति निर्माता वा व्यवसायीले धेरै टाउको दुखाइरहन पर्दैन । बरु सहजीकरण गरिदिनेमा उनीहरूको भूमिका बलियो हुन आवश्यक छ ।
हाम्रो श्रम बजारको पहिलो गन्तव्य मलेसिया थियो । त्यसपछि पश्चिम एसियाका खाडी मुलुकहरूमा वैदेशिक कामदारको माग बढ्दै गयो । नेपालीहरूको उपस्थिति त्यहाँ बढ्न थाल्यो । अहिले पनि हाम्रो मुख्य श्रम गन्तव्य त्यहीँ छ । तर मानिसहरू त्यतिमै रोकिएका छैनन् ।
विस्तारै जापान, मकाउ, हङकङजस्ता मुलुकमा नेपालीको संख्या बाक्लिन थाल्यो । अस्ट्रेलिया, ब्रिटेन र अमेरिका जाने नेपालीको संख्या ह्वात्तै बढ्न थाल्यो । दक्षिण कोरिया पनि नयाँ र सशक्त श्रम बजारको रूपमा अगाडि आयो । यी ठाउँहरू मानिसहरूले आफैँ खोज्दै गएका हुन् । पछि सहजीकरण गर्न राज्य र व्यवसायीहरूले अग्रसरता लिए । मान्छेले अवसर देखेर जान थालेपछि सरकारले तिनै तिनै मुलुकसँग श्रम सम्झौता गर्ने र दूतावास स्थापना गर्ने सिलसिला सुरु भयो । अहिले फेरि मानिसहरूले पूर्वी युरोपलाई नयाँ गन्तव्यको रूपमा देख्न थालेका छन् । रोमानिया, माल्टा, पोर्चुगलजस्ता देशमा मानिसहरू गइरहेका छन् । ती बजारमा अहिले नेपाली ठूलो संख्यामा जान थालेका छन् ।
मौरिसस, माल्दिभ्सजस्ता देशमा पनि अहिले हजारौंको संख्यामा नेपाली पुगिसकेका छन् । यसरी मानिसहरू आफैँले नयाँनयाँ गन्तव्यहरू खोजी गर्छन् र अवसर भएका देश वा श्रम बजारमा पुग्छन् । अहिलेको विश्वव्यापीकरण र सूचनामा बृहत्तर पहूँचका कारण सिंगो संसारको अर्थतन्त्र बुझ्न र अवसर खोज्न सहज भएको छ ।
राज्य तिनै नागरिकको निर्णय पच्छ्याइरहेको छ । पोर्चुगलमा धेरै नेपाली पुगेपछि भर्खरमात्रै सरकारले त्यहाँ राजदूतावास खोल्ने निर्णय गरेको छ । रोमानियासँग श्रम सम्झौता गर्नुप¥यो भन्ने कुरा उठ्न थालेको छ । आउँदा दिनमा हाम्रा युवाहरू थप शिक्षित र प्रशिक्षित हुँदै जान्छन् । भूमण्डलीकरण र सूचनामा पहुँच अझ सुलभ हुनेछ । यसले आगामी दशकका लागि नवीन श्रम गन्तव्यहरूको पहिचान गर्न सहज हुने देखिएको छ ।
अर्कातिर एउटै बजारले सधैं समान अवसर प्रदान गर्न सक्दैन । खाडी मुलुकहरूमा यसअघि देखिएको अभूतपूर्व अवसर अब घट्दै गएको छ । उदाहरणका लागि कतारले विश्वकप आयोजना गर्दा त्यहाँ विदेशी श्रमिकको माग अत्यधिक थियो । तर अहिले त्यस किसिमले माग बढ्न सकेको छैन ।
अहिले साउदी अरबले नयाँनयाँ परियोजना अघि बढाएको छ । ओलम्पिक र विश्वकप आयोजना गर्ने तयारीमा ऊ लागेको छ । अर्थतन्त्रको संरचना बदल्न त्यहाँ ठूलो लगानी भइरहेको छ । त्यतिन्जेल त्यहाँ धेरै मान्छे जान्छन् । तर त्यो विकास सधैं कायम रहँदैन । त्यसपछि स्वाभाविक रूपमा मानिसहरूले नयाँ गन्तव्य र नयाँ विकल्प खोज्नुपर्ने अवस्था आउँछ ।
फेरिँदो रंग
पछिल्ला वर्षमा नेपाली श्रमिकको गन्तव्यमात्रै फेरिएको छैन, यसको रंग पनि फेरिएको छ । सुरुवाती दिनमा सबैजसो नेपालीहरू ‘ब्लु कलर’ अर्थात् निलो पोसाक धारण गर्ने कठोर कामहरूका लागिमात्रै विदेश जान्थे । त्यसमा अत्यधिक परिश्रम गर्नुपर्ने, ज्याला तथा सामाजिक सुरक्षाहरूको अवस्था कमजोर हुने परिस्थिति थियो ।
तर अहिले अवस्था बदलिएको छ । विस्तारै नेपालीहरू सीपमूलक काममा विदेश जान थालेका छन् । यसको रफ्तार बढ्दै जाँदा आगामी दशक अहिलेजस्तो पश्चिम एसियाका खाडी मुलुकमा बढी श्रमिक जाने र त्यसमा पनि कठोर परिश्रम गर्न जानेको संख्या घट्दै जान्छ ।
नेपालमा अहिले शिक्षाको स्तर उकासिएको छ । त्योभन्दा धेरै प्रविधिप्रतिको बुझाइ चुलिएको छ । प्रविधिमा पहुँच बढेको छ । यी कारणले नेपालको सीपयुक्त जनसंख्या ह्वात्तै बढ्न थालेको देखिन्छ । सिक्ने ठाउँहरू बनेका छन् । १२ कक्षा पास गरेका मानिसहरू विदेश गइरहेका छन् । यसले गर्दा मानिसहरूले विदेशमा गर्ने श्रमको रंगमात्रै होइन, उनीहरूको आयस्तरमा पनि सुधार हुँदै गएको छ । आउँदा दिनमा यो क्रम अझ तीव्र भएर जानेछ । अहिले गैरआवासीय नेपालीको हिसाबले जुन खालका सुविधा र अवसरहरू हाम्रो सरकारले दिन खोजिरहेको छ, त्यसका लागि पनि नेपालमा सम्पत्ति जोड्ने, बैंकिङ कारोबार गर्ने संख्या बढ्न थाल्छ । यसले अस्ट्रेलिया, अमेरिकाबाट आइरहेको रेमिट्यान्समा थप सुधार हुनसक्छ ।
भूराजनीतिक असरको सम्भाव्यता
अहिले इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध वा भविष्यमा हुनसक्ने भनेर चिन्ता गरिएको चीन–ताइवान युद्धजस्ता घटनाले हाम्रो वैदेशिक रोजगारी र रेमिट्यान्सलाई कति असर पार्छ भन्ने प्रश्नहरू पनि सुनिन्छन् । तर कुनै दुई देशबीचमा हुने राजनीतिक एवम् सैन्य टकरावले हाम्रो बसाइँसराइलाई धेरै असर पारेको देखिँदैन । तर त्यो युद्धको आकार बढ्दै गएर क्षेत्रीय वा वैश्विक स्तरमा पुग्यो भने त्यसबेला हामीलाई गम्भीर असर पर्ने देखिन्छ । उदाहरणका लागि इजरायल र प्यालेस्टाइनको विवाद बढेर अरब मुलुकहरूमा युद्ध फैलिने अवस्था आयो भने त्यसको असर हाम्रो श्रम बजारमा पर्छ ।
रुस–युक्रेन युद्धमा पनि त्यसको दायरा बढेर नेटोको प्रत्यक्ष सहभागिता हुन थाल्यो र पूरा युरोपमा युद्ध विस्तार भयो भने त्यसले हामीलाई असर पर्छ । तर अहिलेको परिस्थितिले यस्ता सम्भावनाहरूलाई सहजै नकारिरहेका छन् । अहिले देखिएका द्विदेशीय समस्याले मात्रै हामीलाई असर पारिहाल्ने जोखिम देखिँदैन । आउँदो दशक यस किसिमको भूराजनीतिक परिदृश्य कसरी अघि बढ्छ भन्ने कुराले नेपालीहरूको बसाइँसराईलाई प्रभाव पार्छ कि पार्दैन भन्ने टुंगो लगाउने छ ।
करियर ट्रान्जिट
वैदेशिक रोजगारीमा अहिले अर्को नयाँ परिदृश्य देखिन थालेको छ । अहिले नेपालीहरू पारिवारिक रूपमा अर्थात् श्रीमान्श्रीमती नै सँगसँगै विदेश जाने प्रवृत्ति सुरु भएको छ । यसको मूल कारण कामको प्रकृति हो । पहिले नेपालीहरूले विदेशमा गएर सेवा क्षेत्रमा काम पाउँदैनथे । निर्माण, सुरक्षाजस्ता क्षेत्रमा मात्रै नेपालीको पहुँच थियो । होटेल, मल, डिपार्टमेन्टल स्टोरहरूमा फिलिपिनोहरूको बाहुल्य थियो । तर अहिले त्यस किसिमका संगठित र स्तरीय सेवा क्षेत्रमा नेपाली श्रमिकको उपस्थिति बाक्लिएको छ । अहिले मध्यपूर्व भनिने खाडी क्षेत्रमा नै यस किसिमको श्रममा नेपाली कामदारले फिलिपिनोहरूलाई विस्थापित गरेजस्तो अवस्था बन्न थालेको छ ।
यस कारण नेपाली कामदारको आयस्तर उकासिएको छ र उनीहरूको जीवनस्तर पनि फेरिएको छ । फलस्वरूप दुबईजस्तो बजारमा पुगेर नेपालीहरूले आफ्नो परिवारलाई बोलाउने गरेको देखिन्छ । त्यहाँ होटेल, मार्टहरूमा काम गरेर त्यहाँबाट फेरि अस्ट्रेलिया, युरोप वा अमेरिकातिर बसाइँ सर्ने प्रवृत्ति पनि बढ्न थालेको छ । यसरी खाडी क्षेत्रलाई कैयौं नेपालीले एक ‘करियर ट्रान्जिट’को रूपमा बदल्न थालेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो ।
भावी परिदृश्य
नेपालले सूचना प्रविधिमा विस्तारै राम्रो प्रगति गर्दै गएको छ । नेपालमा रहेर धेरै युवाहरूले विदेशी प्रविधि कम्पनीका लागि काम गरिरहेका छन् । हालैमात्र सार्वजनिक भएको अध्ययनले नेपालमै बसेर नेपाली युवाले करोडौं अमेरिकी डलर आम्दानी गरेको देखाएको छ । सूचनाप्रविधिको नयाँ युगमा त्यस किसिमको अवसर एसियामा स्थानान्तरण हुँदै छ भन्ने विश्वव्यापी आम मान्यता बन्न थालेको छ । वैश्विक अर्थव्यवस्थाको केन्द्र एसियामा स्थानान्तरण हुने पूर्वानुमानहरू भइरहँदा हामीले पनि भविष्यमा ठूला अवसरहरू प्राप्त गर्न सक्ने सम्भावना बढेर गएको छ । त्यस्तो अवस्थामा सीपयुक्त मानिसहरू विदेश जाने र त्यसबाट स्तरीय आम्दानी गर्ने परिस्थिति बन्छ ।
कुनै पनि देशको नागरिक वैदेशिक रोजगारीमा जाँदैमा अर्थतन्त्र नराम्रो हुने होइन । आज पनि भारतले झण्डै १०० अर्ब डलर रेमिट्यान्स भित्र्याइरहेको छ । तर विगत केही वर्षदेखि भारतले तीव्र आर्थिक वृद्धि गरिरहेको छ । यस्तो अवस्थामा मान्छेहरू विदेश नजानुपर्ने हो नि । बसाइँसराई र रेमिट्यान्स घट्नुपर्ने हो नि । तर त्यसो भएको छैन । बरु नयाँनयाँ कुरा सिकिरहेका दक्ष जनशक्ति विदेशिने क्रम बढेको छ । विदेशका ठूला कम्पनीमा काम गरेका छन् । स्वदेश फर्केर नयाँनयाँ कम्पनीहरू सुरु गरिरहेका छन् । सूचना प्रविधिमा नयाँ कम्पनीहरू खुलिरहेका छन् । यसले सिंगो राज्यको उन्नयन र उच्च आर्थिक वृद्धिमा पनि सघाइरहेको छ ।
यसले पनि के देखिन्छ भने, दक्ष जनशक्ति बाहिर जान थाल्यो भने उसले आफ्नो सीप र कौशलमा अझ निखार ल्याएर स्वदेश फर्किन्छ । घरेलु अर्थतन्त्र विस्तार भइरह्यो र यहाँ अवसर देखियो भने त्यही विदेशिएको नागरिक स्वदेशमा आएर नयाँ व्यवसाय सुरु गर्छ । यस हिसाबले आगामी १० वर्षमा हाम्रो अर्थतन्त्र र रेमिट्यान्स दुवैले पर्याप्त आशा गर्ने ठाउँहरू देखिएका छन् ।
त्यसका लागि सरकारले केही आधारभूत परिस्थिति तयार गरिदिनु आवश्यक हुन्छ । नवउद्यमलाई मान्यता दिने, उनीहरूलाई सहजीकरण गरिदिने, दक्ष जनशक्तिलाई विदेश पठाउने खालको रणनीति हामीले लिनु आवश्यक छ । वैदेशिक रोजगारीमा पठाउनै हुँदैन, आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्छ भनेर बस्ने हो भने त्यो सम्भव हुँदैन ।
यसमा हाल देखिएका केही विकृतिहरू हटाउन पनि आवश्यक छ । मानिसहरू अहिले पनि विदेश जाने क्रममा ठगिएको गुनासाहरू आइरहेका छन् । विदेशमा काम गर्दा पर्याप्त सुरक्षा उपायहरू नअपनाएका कारण अप्राकृतिक रूपमा मृत्युको संख्या बढेको आँकडाहरू सार्वजनिक भइरहेका छन् । न्यूनतम ज्यालाको प्रत्याभूति दिन र सरकारी तहको सम्झौताबाट वैदेशिक रोजगारी सञ्चालन गर्न आवश्यक छ । श्रमिकको जिउधन र उसले गर्ने कामको न्यायोचित प्रतिफलको सुनिश्चितता हुनु आवश्यक छ । रेमिट्यान्स नेपाल भित्र्याउँदा पनि वैधानिक बाटोबाटै आउने प्रत्याभूति गरिनु आवश्यक छ । यी कामहरू भए भने नयाँ दशकमा हाम्रो भविष्य उज्वल छ । ( पोखरेल ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ हुन । यो लेख चेम्बर स्मारिका २०८० बाट साभार गरिएको हो ।)