Logo

वैकल्पिक व्यवस्था विनाको कर्जा कडाइले गरिबलाई बढाउँदैछ सङ्कट, सर्वेक्षणमा आधारित नुमनाथ पौडेलको लेख

वैकल्पिक व्यवस्था विनाको कर्जा कडाइले गरिबलाई बढाउँदैछ सङ्कट, सर्वेक्षणमा आधारित नुमनाथ पौडेलको लेख



अहिले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारी र साहु महाजनले पनि कर्जा लगानीमा पहिलेको तुलनामा धेरै कडा शर्तहरु राख्न पर्ने अवस्था छ । यस्तो बेलामा वैकल्पिक व्यवस्था बेगर चलन चल्तीको व्यक्तिगत लेनदेन अव्यवहारिक बनाइएको छ । राष्ट्र बैंकको कर्जा पूर्ण सदुपयोग हुने निश्चित हुने गरी मात्र कर्जा प्रदान गर्नु पर्ने, चालू पूँजी कर्जा सम्बन्धी निर्देशिका र कर चुक्ता प्रमाणपत्रको समेत व्यवस्थाले विगतको जस्तो सहज धितो कर्जा प्रवाह हुने अवस्था छैन । कर्जाको माग समेत उल्लेख्य घटेको छ ।

अर्थतन्त्रको शिथिलता, ऋणीहरुको खस्केको भुक्तानी क्षमता, बैंकिङ क्षेत्र विरुद्धको अराजकता समेतको कारणले कर्जा लगानी धेरै सुस्त अवस्थामा छ । राष्ट्र बैंकले एक सदस्यलाई एक मात्र लघुवित्तबाट कर्जा र कर्जाको सीमा घटाएर ७ लाख गर्ने निर्देशन जारी गरेको छ । व्यक्तिगत लेनदेन पुरै निरुत्साहित गर्ने मीटर व्याज सम्बन्धी कानुन जारी भएको छ । सहकारीहरुको वासलात दुई वर्ष देखि खुम्चेर ४.५ खर्बमा सीमित भएको छ । यी कारणहरु समेतले गर्दा बैंकिङ क्षेत्र बाहेकको कर्जा लगानी पनि पहिलेको तुलनामा धेरै कम भएको छ ।

वैदेशिक रोजगारमा जानेहरु मध्ये धेरै जसो अनौपचारिक सर सापटीमा निर्भर थिए । तिनीहरूले समेत अब सहज कर्जा नपाउँदा वैदेशिक रोजगारीमा जाने संख्या घट्न सक्छ । राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार स्थापित निकाय वा प्रतिष्ठानहरु मध्ये ५.१ प्रतिशतले व्यक्तिगत वा घरायसी कर्जा सापटी लिएका छन् । उक्त आर्थिक गणनामा नेपालभरीमा दर्ता भई वा नभई सञ्चालनमा रहेका ९ लाख प्रतिष्ठानहरुको अध्ययन गरिएको थियो ।

जसको जहाँ पहुँच छ, त्यहीँबाट कर्जा लिने हो भनेर बारा जिल्ला फेटाका कृषक बृजेश प्रसाद कलवार भन्नु हुन्छः ‘आफ्नो मान्छे भएकोले मैले बैंकबाट कर्जा पाएको हो । आफ्नो मान्छे छैन भने कसैले बिचौलियालाई प्रयोग नगरी कर्जा कहाँ पाउँछन् र?’ मधेस प्रदेशमा कर्जाको कारोबारमा समेत बिचौलियाको संलग्नता अपवाद र छिटफुट घटनाको अनुमान भन्दा अधिक रहेको हुन सक्ने देखिन्छ ।

बारा जिल्ला फेटा गम्हरियाका श्रीलाल शाहले घर, खेत र अर्को एक घडेरी राखेर बैंकबाट ३० लाख कर्जा लिएका छन् । तिनले फर्नीचर उद्योग चलाएका र पुरानो साहुको कर्जा तिर्न र उद्योगको बक्यौता तिर्न कर्जा प्रयोग गरेका छन् । उनले कर्जा पाएको भए पनि तिनकै हैसियत भएका अरूले भने बैंकबाट सहजै कर्जा पाउन सकेको देखिन्न । उनको भाई वैदेशिक रोजगारीमा गएकोले भाइको आम्दानीले कर्जा चुक्ता गर्ने बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको ग्रामीण भेगमा भेट भएका महिला तथा पुरुषको समुहहरुको भनाइहरु उस्तै थियो । बैंकमा जाँदा कर्जा पाउन गार्हो हुन्छ । लघुवित्तको समुहमा बस्दा तुरुन्त कर्जा पाइन्छ । ऋण लिन गएकोलाई बचत राख्न लगाउने गर्दा पाउने रकम कम हुन्छ । अझ १५ वर्ष सम्मको बचत गर्न लगाउने गर्दा पैसा रकम जम्मा मात्र हुन्छ । बचत फिर्ता माग्दा चाँहि भनेको बेला फिर्ता पाइँदैन ।

पहुँच वाला मीटर ब्याजी वा खेपि व्याज वा ट्याक्सी व्याजको ठगलाई अझै कारवाही नगर्ने, तर कानुन बनाएर समाजमा चलन चल्तीमा रहेको र सामाजिक रहनसहन बिगार्ने काम भयो भनेर धनुषा जिल्लाका स्थानियहरु भन्दछन् । उनीहरू भन्छन् ‘कानून गरिवलाई सजिलो बनाउन ल्याइएको छैन । पहिले पनि गरीबलाई हुने कानुन थिएन । अहिले पनि यो कानुनले हाम्रो गाउँ घरमा पाइने ऋण सापटी नै ठप्प पारिदियो । पहिले बिना धितो पनि कर्जा पाइन्थ्यो । अब धितोमा पनि कर्जा पाइन्न । अब कसले हामीलाई खाँचो परेको बेला दिन्छ ?’

धनुषा जिल्लाका राम दरेश शाह भन्छन् ‘कर्जा विवाह खर्च र छोरा छोरीको पढाइमा खर्च हुन्छ । विदेशमा रोजगारीको आम्दानीबाट, घरायसी आम्दानी र जग्गा बेचेर कर्जा तिर्ने गरिन्छ । विवाह गर्न २०–२५ लाख खर्च हुन्छ । तराईमा गरिव भन्दा गरिवको छोरीको विवाह गर्न कमसे कम ५ लाख खर्च लाग्छ ।’ यस्तो कामको लागि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिने गरेको छैन ।

महोत्तरीका शेख मुजरे आलम भन्छन् ‘गाउँमै घरायसी सापटी चाहिँदा पनि तत्काल कर्जा पाइन्छ । तर यो कर्जा १ रुपैयाँ २ रुपैयाँ ३ रुपैयाँको मासिक दरमा पाइन्छ । अहिले नियम परिवर्तन भएकोले छिमेकीहरुले पनि दिन छोडेको छ । खेतीपाती, पशुपालन र भएको व्यवसाय देखाएर कर्जा लिने गरिएको छ । लघुवित्तको झन्झट धेरै छ, गाउँ घरबाट कर्जा लिन सजिलो छ । त्यसैले गाउँ घरबाट लिने गरेको छु ।’

बारा जिल्ला, बेरी गाउँ, डुमरवानाका फुलसरिफ मियाँका अनुसार उनको गाउँमा उनले र अर्को एक जनाले मात्र कर्जा सदुपोग गरेर आम्दानीबाट कर्जा चुक्ता गरिसकेका छन् भने गाउँकै अन्य २५ जना कर्जा लिने घरपरिवारले कर्जा उपभोग र घरायसी खर्च गरेर तिर्न नसकेको अवस्थामा छन् । त्यहाँ मुख्यतया सहकारी र लघुवित्तले कर्जा प्रदान गरेका छन् ।

कर्जामा पहुँच असहज भइरहेको बखत अनुचित लेनदेन सम्बन्धी कानुन सडकबाट दिईएको दबाबले बन्यो । कर्जामा पहुँच सहज भएको अवस्थाबाट एकाएक सबैतिरबाट असहज हुने अवस्थामा पुग्यो । सहज १२–१५–२५ प्रतिशतमा समेत गाउँ घरमा हुने घरायसी लेनदेन रोकेर बैंक तथा वित्तीय संस्थाबाट धेरै शर्त र नियमहरु पूरा गरेर सबैले कर्जा लिन सक्ने क्षमता देखिन्न ।

बजेटमा जीडीपीको २६.४ प्रतिशत राजस्वको लक्ष्य राखिएको छ । अर्थात् उत्पादन वा सेवाबाट रू १०० को मूल्य अभिवृद्धि गरेर बेच्दा हातमा रू. ७३.६ बाँकी रहन्छ । त्यो बाँकी रकम कसैले व्यक्तिगत सापटी दिंदा त्यही १० प्रतिशत भन्दा बढी लिन पाउँदैन भन्ने नियम बनाउने शासकहरु वास्तविकता र ग्रामीण जनताको आवश्यकता समेत बिर्सेको देखिन्छ ।

मधेस प्रदेश र तराईका केही जिल्लाहरूमा मीटर ब्याजको प्रकोप अधिक देखिन्छ । मीटर ब्याजको प्रकोप अधिक भएको जिल्ला नै वैदेशिक रोजगारीको लागि धेरै श्रम स्वीकृति लिने जिल्लाहरु रहेका छन् । तिनै जिल्ला गरिव जनसंख्या बढी भएको क्षेत्र समेत रहेको पाइन्छ । सहजै तथा बिना धितो कर्जा पाउन नसकेको वा बिना धितो कर्जा नपुगेको कारण मीटर ब्याजीको शरणमा जाने धेरै देखिन्छ ।

उजुरी परेको मीटर व्याज बिरुद्धको निवेदन प्रायः जसो ठगी गरेको र घर खेत खाइदिएको, १ लाख दिएर ३–४–५–६ लाखको तमसुक बनाएको, कर्जा चुक्ता भएर पनि घर खेत वा तमसुक फिर्ता नदिएको आदि अधिक रहेको छ । वैदेशिक रोजगारीको खर्च, छोरीको विवाहको नगद दाइजो, उपचार तथा घरायसी खर्च र पुरानो कर्जा तिर्नको लागि कर्जाको प्रयोग भएको देखिन्छ ।

धनुषाका स्थानीय भन्छन् ‘राति बिरामी पर्दा वा विदेशमा भिसा लाग्दा बित्तिकै वा छोरीको विवाह पक्का गर्नलाई तत्काल पैसा चाहिन्छ । बैंकमा धितो राखेर पनि कर्जा पाउन धेरै गार्हो छ । छर छिमेकबाट मात्रै तत्काल पाइन्छ । राती १२ बजे समेत कर्जा माग्न सकिने भनेको आफन्त, छरछिमेक र साहु महाजन नै हो ।’ तिनीहरू मध्ये केहीलाई भने अहिले नयाँ कानुनले समेत असर नपर्ने भनेर भन्छन् ।

‘मीटर ब्याज सम्बन्धी कानून गरिवलाई सजिलो बनाउन ल्याइएको छैन । पहिले पनि गरीबलाई हुने कानुन थिएन । अहिले पनि यो कानुनले हाम्रो गाउँ घरमा पाइने ऋण सापटी नै ठप्प पारिदियो ।’

तर गाउँ घरमा त्यसरी बेईमानी वा ठगी नगर्ने तर मासिक २–३ प्रतिशतको दरले कर्जा लिने र तिर्नेहरु उजुरी गर्नेहरुको संख्या भन्दा कैयौँ गुणा बढी छन् । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन अनुसार वैदेशिक रोजगारीबाट फर्केका मध्ये १७ प्रतिशतले आफूले कमाएको पैसा अरुलाई सापटी दिने गरेका छन् । गाउँ घरमा आज सापटी लिने भोलि सापटी दिने अवस्थामा पुग्न सक्छन् । तर यो मीटर व्याजको अनुचित कारोबार भन्ने कानुन आए पछि अब आफन्त, छिमेकी र साहु महाजन कसैले पनि सापटी दिंदैनन् भन्ने धेरै भेटिए ।

अहिले नयाँ कानुन बनेपछि पनि मधेश प्रदेशमा १ लाखको कर्जा दिएर ३ लाखको तमसुक बनाउने र वडामा नै दर्ता गर्ने नयाँ श्रृङ्खला समेत सुरु भएको पाइन्छ । धेरै ठाउँमा निर्वाचित पदाधिकारी र बैंक वित्तीय संस्थाका कर्मचारीहरु समेत यो कानुनको विरुद्धमा उभिएको पाइन्छ । कतिपय ठाउँमा स्थानीय निकायका निर्वाचित पदाधिकारी, शिक्षक, विभिन्न संस्थाका कर्मचारीहरुले मीटर व्याजीको लागि कर्जाको बिचौलियाको कार्य गर्ने गरेको समेत देखिन्छ ।

नेपालमा बाल अधिकारको कानून बन्यो । वैकल्पिक व्यवस्थाको अभावमा होटल, गलैँचा र घरमा काम गर्नेहरु धेरै सडक बालबालिका र माग्ने बन्न बाध्य भए । राज्यले तिनको जिम्मा लिन सकेन । मीटर व्याज पीडितको आन्दोलनको दबाबले १० प्रतिशत माथिको ब्याजदरको सापटीलाई अनुचित कारोबार भन्ने कानून भर्खरै अध्यादेश मार्फत बन्यो । अहिले बैंक, वित्तीय संस्था र सहकारी र व्यक्तिगत लेनदेनको कर्जामा समेत धेरै कडाइ गरिएकोले पहुँच नहुनेले कतैबाट पनि कर्जा नपाउने अवस्था आएको छ ।

गाउँले भन्छन् ‘सरकार आफू पनि कर्जा दिँदैन, अरुलाई पनि नदे भन्छ । त्यसले गर्दा धेरै जसो ग्रामीण क्षेत्रमा घरायसी र छिमेकीहरुबाट ऋण सापटी नपाएर घर व्यवहार चलाउन, उपचार गर्न र विदेश जान धेरैलाई असहज भएको छ ।’ मीटर ब्याज अपराध अध्ययन कार्यदलको प्रतिवेदनमा कर्जाको पहुँच २० प्रतिशतमा मात्र पुगेको उल्लेख छ । नेपाल राष्ट्र बैंकले २०७९ पौषमा प्रकाशित गरेको वित्तीय साक्षरता सर्वेक्षणमा ग्रामीण क्षेत्रका ७६ प्रतिशत वयस्क आर्थिक गतिविधिको लागि साथीभाइ र परिवारको अन्य सदस्यहरु माथि निर्भर रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले २०१९ मा गरेको वित्तीय पहुँच सम्बन्धी अध्ययनले साना तथा लघु व्यवसायीहरु कर्जाको लागि बैंक तथा वित्तीय संस्थाको तुलनामा दोब्बर मात्रामा अनौपचारिक क्षेत्रमा निर्भर भएको देखिएको थियो ।

वैकल्पिक व्यवस्था नबनाई बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा पाउन सहज नबनाई अझ कठिन अवस्थामा आएको अनुचित लेनदेनको कानुनको प्रतिकूल परिणाम समेत त्यो कानुन निर्माताहरुलाई सरोकार भएको देखिन्न । राज्यका नीति र कानुन निर्माताले आफ्नो जिम्मेवारीको रूपमा ‘समस्या आउने कुनै काम नगर्नु’ भनेर उपदेश, निर्देशन या कानुन बनाउनेमा मात्र सीमित देखेका छन् । उदाहरणको लागि कसैले बोतलमा पेट्रोल किनेर आत्म दाह गरेकोले ‘बोतलमा पेट्रोल बेच्न’ रोकेपछि आफ्नो जिम्मेवारी सकियो भन्ने राज्यका नीति निर्माताहरुको रवैया देखिन्छ । प्रतिबन्ध लगाउनु बाहेक वैकल्पिक व्यवस्था सहित समाधान गर्न जरुरी देखिन्छ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पौडेल आर्थिक तथा वित्तीय क्षेत्रको विश्लेषक हुन् ।

प्रतिक्रिया दिनुहोस्