कोभिड महामारीका कारण नेपाली हवाई उद्योग सबैभन्दा बढी प्रभावित भयो । दुई वर्षसम्म निरन्तर कायम रहेको अनिश्चय र प्रतिकूल समयमध्ये ६÷७ महिना सबैजसो जहाज पूर्णरुपमा ग्राउण्डेड गर्नु पर्ने अवस्था बन्यो । त्यसबाट ‘रिभाइभल’ हुँदै जाँदा सन् २०२३÷२४ सम्म सामान्य भइसक्छ र त्यसपछि सन् २०१९ भन्दा अगाडीको अवस्थामा व्यवसाय पुग्छ भन्ने हाम्रो अनुमान थियो । दुर्भाग्यवशः आन्तरिक तथा बाह्य कारणले हामीले सोचेजस्तो गरी परिस्थिति बन्न सकेन । वायुसेवाको भविष्य पर्यटनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । पर्यटकबाट हुने आयले एयरलाइन्सको व्यापार निर्भर रहन्छ । त्यसले गर्दा यो समय निकै चूनौतिपूर्ण रहेको छ ।
भिजिट नेपाल २०२० घोषणा गर्दा बार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको थियो । सोही बर्ष २० लाख नै भित्रिने सम्भावना त थिएन । तर, १३÷१४ लाख मात्र आएको भए पनि सन् २०२४ सम्म २० लाख पर्यटक आगमन हुनुपर्ने थियो । अहिले ६÷७ लाख मात्र आउने अवस्था बनेको छ । यो भनेको पर्यटनमा ६० प्रतिशत व्यापार खस्किएको अवस्था हो । यसको प्रत्यक्ष असर यहाँको होटेल, अन्य पर्यटन उद्योग र एयरलाइन्सलाई पर्न जान्छ । पर्यटकले जहाज नचढेसम्म एयरलाइन्सको व्यवसाय नाफामा जाँदैन । नेपाली मात्रको हवाइ भाडाले एयरलाइन्सको खर्च धान्दैन । एयरलाइन्समा सञ्चालन खर्च निकै महँगो हुन्छ । मर्मत सम्भार पनि उत्तिकै खर्चिलो हुन्छ । दुर्भाग्यवशः दुर्घटना पनि घट्छन् । यो दुखदः पक्ष हो । तर, संसारभर नै हरेक दिन उचित स्याहारसम्भार पाउने मेसिन हवाईजहाज नै हो । अरु कुनै पनि उद्योगले मेसिनलाई हरेक दिन यसरी स्याहारसम्भार गरिराख्नु पर्दैन ।
हवाईहाजलाई घण्टा, दिन वा साइकलमा गर्नुपर्ने परीक्षणको लिस्ट नै हुन्छ । सोहीअनुसार अनिवार्य परीक्षण हुन्छ । लिस्टबाहेक हरेक दिन वा हरेक उडानमा समेत हवाईजहाजको परीक्षण गरिन्छ । नेपालको भूगोल, मौसममा आउने छिनछिनको परिवर्तनका कारण कहिलेकाहीँ जोखिमपूर्ण अवस्था आउँछ । त्यसले गर्दा हवाई उद्योगले हरक्षण चुनौति सामना गर्नुपरेको छ । यो चुनौति निरन्तर देखिन्छ । हवाई सेवा सुरक्षित हुनुपर्छ र यसमा सबै सरोकारवालाले उत्तिकै योगदान दिनु पर्छ । यसमा विमानस्थललगायत पूर्वाधारको सबैभन्दा धेरै भूमिका हुन्छ । नेभिगेसन सिस्टमदेखि लिएर अन्य उपकरणहरु चुस्त हुनुपर्छ । प्रविधिमा धेरै लगानी गर्नुपर्छ । जति धेरै सुरक्षित पूर्वाधार र प्रविधिको विकास गर्न सक्यौं, यो क्षेत्र त्यति नै सुरक्षित हुन्छ ।
यती एयरलाइन्सको हालै भएको दुर्घटना २५ वर्षको इतिहासमा सुगम क्षेत्रमा भएको पहिलो दुर्घटना हो । कुनै पनि एयरलाइन्सले जानाजान यस्तो होस् भन्ने चाहेको हुँदैन । मर्मत सम्भारमा शतप्रतिशत प्रबन्ध हुँदा पनि यस्तो अवस्था आउन पुग्यो । यो भवितव्य हो । यो दुर्घटनाले हामीलाई ठूलो क्षति गरेको छ । यस्तो अवस्थामा सञ्चारमाध्म, आम यात्रु र सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीले अझ बढी असर गर्छ । कुनै पनि एयरलाइन्स कम्पनीले आफ्नो जहाज दुर्घटनामा परोस् भन्ने कहिले पनि चाहँदैन । एउटा जहाज दुर्घटना हुँदा कम्पनीले तत्काल र दीर्घकालमा ठूलो क्षति व्यहोर्नुपर्छ । नेपाली वायुसेवा कम्पनीहरु यस्तो क्षति धान्न सक्ने अवस्थामा छैनन् । त्यस्तो हुँदा कम्पनी नै धराशयी हुन सक्ने अवस्था आउन सक्छ । यो कुरा सबैले बुझ्नु जरुरी छ । यस्तो घटनापछि अपरेशन, मेन्टिनेन्ससहित सबै पक्षमा अझ बढी सुधार गर्नुपर्छ । बढीभन्दा बढी चेकिङ, तालिम, अन्तर्राष्ट्रिय अडिट गराउने काम यसबीचमा भएको छ । यसले हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्छ ।
कोभिडपछि पर्यटनलाई बढावा दिन जसरी काम गर्नुपर्ने थियो, त्यसो हुन सकेन । यसले पर्यटनमा आधारित धेरै उद्योग अझै पनि तङ्ग्रिन सकेका छैनन् । एकाध बाहेक धेरै होटेल चल्न सकेका छैनन् । काठमाडौं आसपासका रिसोर्टहरु बिदाको दिन केही व्यस्त देखिन्छन् । त्यसबाहेक ती होटेल मुस्किलले चलेका छन् । पर्यटनबाट ग्रामीण भेगसम्म लाभ हुने अवस्था बनाएको भए यसले पर्यटनमा आधारित उद्योगलाई चल्न समस्या हुने थिएन । वायुसेवा यस क्षेत्रको एक सरोकारवाला उद्योग हो ।
परिस्थिति अहिले जस्तो भएपनि हामीले देख्ने सम्भावना पनि फेरी पर्यटन र हवाई उद्योगमै छ । हामी संसारकै सुन्दरमध्ये एक मुलुक हौं । संसारका ट्राभल साइटमा आउने रिभ्यूले बताएअनुसार हरेक वर्ष नेपाल सबैभन्दा बढी घुम्नुपर्ने गन्तव्यको सूचीमा पर्छ । यसले पनि विश्वभरका मानिस नेपाल घुम्न चाहन्छन् भन्ने पुष्टी गर्छ । तर, त्यो विशाल सम्भावनालाई हामीले अवसरमा बदल्नै सकेनौं । अहिले नेपाल आउन चाहने धेरै मानिसका लागि सबैभन्दा ठूलो समस्या नै हवाई सञ्जालको उपलब्धता नहुनु हो । नेपाल धेरै मुलुकसँग सिधा हवाई सम्पर्कमा जोडिन सकेको छैन । यूरोप र अमेरिकी मुलुकबाट आउन चाहेर पनि लामो यात्रा र कनेक्टिङ फ्लाइटको झञ्झटका कारण धेरै पर्यटक आउन मानिरहेका छैनन् । नेपाली ध्वजाबाहकको सेवा यूरोप र अमेरिकासम्म लैजानु पर्ने थियो । सकेसम्म धेरै गन्तव्यमा नेपाल एयरलाइन्सले आफ्नो व्यवसाय विस्तार गरेर संसारभरबाट पर्यटक ल्याउनु पर्ने थियो । त्यसो हुँदा आन्तरिक एयरलाइन्सले सहजै व्यवसाय पाउँथे । यहाँ आर्थिक गतिविधि निरन्तर चलायमान हुने थियो । विदेशी मुद्रा आइरहन्थ्यो ।
अहिले टर्किस एयर, कतार एयर, सिंगापुर एयरजस्ता कम्पनीका कारण धेरै पर्यटक आइरहेका छन् । यो सीमित भयो । यो ‘बोटलनेक’लाई सुधार गर्न सक्यौं भने पर्यटक बढ्छन् । आजको दिनमा संसारभर नै हवाई यात्रा महँगो बनेको छ । इन्धनको मूल्य आजभन्दा दुई वर्ष अगाडीको तुलनामा तेब्बरले वृद्धि भएको छ । यसमा रुस–युक्रेन युद्ध मूख्य कारण हो । नेपालमा विश्वव्यापी औसतको तुलनामा हवाई इन्धनको मूल्य धेरै माथि छ । संसाभरभर इन्धनको मूल्य घट्दा पनि यहाँ घट्दैन । यो विडम्बना हो । अर्कोतर्फ नेपालमा आयल निगमले सबैभन्दा धेरै नाफा पनि यसैमा खान्छ । खाना पकाउने ग्यासमा सहुलियतको नाममा हवाई इन्धनलाई चर्को बनाइएको छ । एउटालाई सहुलियत दिँदा अर्को उद्योग नै धरासायी हुने अवस्था छ । सरकार वा आयल निगमले यस्तो नीति लिनुहुँदैन । अन्तर्राष्ट्रियरुपमा पनि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चर्को मूल्यका कारण कतार र दुबई एयरसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यतातर्फ सरकार गम्भीर हुनुपर्छ । किनकी यी कम्पनीले हामीले भन्दा ५० प्रतिशत सस्तोमा तेल किनेर उडान गर्छन् । यो अवस्थामा कसरी हवाई उद्योग प्रतिस्पर्धी हुन्छ ? यो समस्या सल्टाउन सबै सरोकारवाला बसेर गहन अध्ययनमा लाग्नै पर्छ ।
आन्तरिक हवाई उद्योगले भोगेको समस्या पनि यही हो । इन्धनको मूल्य बढी छ भने मेन्टिनेन्सको मूल्य हाम्रो हातमा हुँदैन । पछिल्लो एक वर्षयता इन्जिनदेखी अन्य उपकरणको मूल्य ७० प्रतिशतसम्म बढेको छ । हवाई उद्योगलाई संरक्षण गर्नु भनेको कुनै एक निजी कम्पनीलाई पोस्नु हो भन्ने मान्यता राख्नु हुँदैन । यसलाई बचाउनु भनेको नेपालको अर्थतन्त्रको वृद्धिमा योगदान दिनु हो । मुलुकमा जब निजी क्षेत्र सक्षम हुन्छ, तब उनीहरुले कर तिर्छन् । हामी बर्षेनी राज्यलाई करोडौं रुपैयाँ कर बुझाउँछौं । कम्पनी घाटामा भएपनि कर तिर्नैपर्छ । घाटामा पनि भ्याट, अन्तःशूल्क, भन्सारको कर तिर्नैपर्छ । एयरलाइन्स छ र त राज्यले पनि कर पाएको छ ।
नेपालमा पर्यटन विकासमा एयरलाइन्स अपरिहार्य उद्योग हो । नेपालको सबै स्थानमा सडक यातायात पुग्न सकेको छैन । सडक नै पुगेको भएपनि लामो समय लाग्ने भएकाले सहजै यात्रा गर्न सक्ने अवस्था छैन । वर्षायाममा बाटो नै अवरुद्ध हुन्छ । कर्णाली भेगमा समय–समयमा औषधी, खाद्यान्न पुरयाउने माध्यम नै हवाईजहाज हो । स्थानीय उत्पादन, जडिबुटी र फलफुलाई सहरसम्म ल्याउने माध्यम पनि हवाईजहाज हो । पर्यटनले जीडीपीमा कम योगदान दिएको भनिन्छ । तर यसलाई समग्रमा अध्ययन गरियो भने पर्यटन र हवाई सेवाले बहुआयामिक क्षेत्रमा योगदान गरिरहेका छन् । एयरलाइन्सबाट एक जना यात्रुले यात्रा गर्दा होटेलले विजनेश पाउँछ, होटेलका माध्यमबाट कृषकले त्यसको लाभ लिएको हुन्छ । यसका साथै यातायात तथा मजदुरका क्षेत्रमा पनि यसले योगदान गरिरहेको हुन्छ । गाडीमा जाँदा १० घण्टा लाग्ने स्थानमा ३० मिनेटको उडानमा पुग्दा त्यसले दिने योगदानको मूल्य निकै धेरै हुन्छ । तर यति महत्वपूर्ण क्षेत्रलाई राज्यले त्यति प्राथमिकता दिन नसकेको महसुस व्यवसायीहरुको छ ।
हवाई उद्योगलाई अन्य उद्योगसँग तुलना गरेर समान धारणा बनाउनु हुँदैन । यो उद्योगलाई सरकारले अझै उद्दार गर्नुपर्ने हुन्छ । व्यापारीले आफ्नो हिसाबले जसोतसो थेगिरहेका छन् । तर, भविष्यलाई सुरिक्षत बनाउन राज्यले साथ दिनु पर्छ । हामी यसकै अपेक्षामा छौं । मुलुकभित्रका उद्योग धन्दा कमजोर हुँदा रोजगारी गुम्छ, अनावश्यक वस्तु आयात गर्नुपर्ने हुन्छ । विदेशी मुद्राको सञ्चिति घट्न थाल्छ, अन्ततः राज्यले नथेग्ने अवस्था नै आउन पनि सक्छ । यसतर्फ बेलैमा सचेत हुनु जरुरी छ । (रिमाल यती एयरलाइन्सका प्रवन्ध निर्देशक हुन्) चेम्बर स्मारिकाबाट