Logo

लगानीलाई यथार्थमा बदल्न विश्वसनीय वातावरण, लगानी बोर्डका सिइओ सुशील भट्टको लेख

लगानीलाई यथार्थमा बदल्न विश्वसनीय वातावरण, लगानी बोर्डका सिइओ सुशील भट्टको लेख



विदेशी लगानीका कम्पनीहरूको सफलताका सम्बन्धमा चर्चा गर्दा तिनीहरू नेपाल भित्रिएपछि राम्रोसँग चले कि चलेनन्, आफूलाई बचाउन र व्यवसाय विस्तार गर्न सके या सकेन भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । निर्माण क्षेत्रमा आएको शिथिलताले होस् वा अरु सबै अवस्थाको मूल्याङ्कन गरेर हेर्नुपर्ने हुन्छ । अहिले निर्माण सामग्रीको खपत कम हुँदा व्यावसायिक सञ्चालनमा आइसकेका होङ्सी र हुवासिन सिमेन्ट जस्ता विदेशी लगानीका कम्पनीलाई पनि पक्कै असर पारेको छ तर यो समस्या अल्पकालीन प्रकृतिको हो । निर्माण चरणमा प्रवेश गरिसकेको कम्पनीलाई भने त्यसको तुलनामा कम असर परेको छ ।

लगानी बोर्डले सहजीकरण गरिरहेका केही परियोजनाको कामको गति ढिलो भयो भने विकासकर्तासँगको छलफल र समन्वयमा हामीले त्यस्तो असहजताको सम्बोधन गरिहाल्छौं । कोभिडपछि वैदेशिक लगानी र खासगरी ठूला लगानीहरूमा केही शिथिलता आएको छ । तर जसले परियोजनाको वित्तीय व्यवस्थापन गरिसकेका थिए, तिनीहरूको काम रोकिएको छैन, अगाडि बढिरहेको छ । विदेशी लगानीका परियोजनामा विदेशी लगानीकर्ता आफैंले नै लगानी जुटाइरहेका छन् । ती लगानीकर्ताले जोखिम बहन गरेर आइसकेपछि सहजीकरणमा हामीले कुनै पनि कसर बाँकी राख्नुहुँदैन । ठूलो लगानीका परियोजनामा स्वपुँजी (इक्विटी)का अतिरिक्त ऋण पनि परिचालन भएको हुन्छ । एक दिन पनि ढिलाइ भयो भने त्यसले उसको प्रतिफल र ऋण भुक्तानीको तालिकालाई प्रभावित गर्छ । तर लगानीकर्तालाई उचित सहजीकरण गरेर निर्धारित समयमै काम भयो भने त्यसले हामीप्रतिको विश्वास बढाउँछ । यसले हामीलाई नियालिरहेका अन्य लगानीकर्तामाझ पनि राम्रो सन्देश प्रवाहित हुन्छ ।

वित्तीय व्यवस्थापन गरिसकेका परियोजनाका अतिरिक्त जुन विकासकर्ताहरूलाई लगानी बोर्डले परियोजना अध्ययन अनुमति दिएको थियो, तिनको पनि काम पनि अगाडि बढिरहेकै छ । अध्ययन प्रतिवेदन बुझाएका परियोजनाको मूल्याङ्कन भइरहेको छ । उदाहरणका लागि तल्ल्लो अरुण जलविद्युत् परियोजनालाई लिन सकिन्छ । यो महामारीका कारण प्रभावित भयो । यद्यपि यो परियोजना आउनु भनेको लगानीकर्ताको हामी प्रतिको भरोसा नै हो । अरुण–३ जलविद्युत् परियोजनामा लगानी गरिरहेको लगानीकर्ताले अर्को पनि परियोजनामा लगानी गर्छु भनेर आउनु भनेको यो संस्था र मुलुकप्रतिको विश्वास हो । विकासकर्ताले टुंग्याएको अध्ययन प्रतिवेदन मूल्याङ्कन सकेर अहिले हामी तल्लो अरुण जलविद्युत् परियोजना सम्बन्धमा परियोजना विकास सम्झौताका लागि वार्ताको पूर्वतयारीमा छौं । परियोजना पूर्वतयारीमा लाग्ने समय अहिले उल्लेख्य रुपमा कम भएको छ । अहिले हामीसँग स्पष्ट लगानी ढाँचा, प्रक्रिया र प्रक्रियागत फ्रेमवर्क छ । नियमन ढाँचासहितको स्पष्ट फ्रेमवर्क र दूरदृष्टि अहिले तयार भएको छ । यसले गर्दा लगानीकर्तासँग छिटो समन्वय र सहजीकरण गर्न सम्भव भएको छ । प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरेर काम गर्नुपर्ने भएकोले केही सन्दर्भमा विगतमा भन्दा केही परिवर्तन भने भएको छ ।

काम गर्दै जाँदा आउने समस्या भनेका समाधान गर्दै जाने विषय हुन् । जसरी हरेक व्यक्तिले दैनिकी चलाउँदा बिहानदेखि बेलुकासम्म विभिन्न समस्या समाधान गर्दै हिंड्नुपर्छ, त्यसैगरी आयोजना सुरु गरेपछि एकपछि अर्को गर्दै समस्या आउन सक्छन् । कतिपय पहिल्यै पहिचान भैसकेका समस्या हुनसक्छन्, त्यसलाई सम्बोधन गर्ने फ्रेमवर्क तयार गरिएको हुन्छ भने कतिपय अवस्थामा कल्पनाबाहिरका वा अनपेक्षित समस्याहरू पनि आइदिन सक्छन् । त्यस्ता समस्यालाई सोही समयमा समाधान गर्दै लैजानुपर्छ ।

विश्वासको वातावरण निर्माण

विदेशी लगानीका परियोजनाको लागि विश्वासको वातावरण बनाउन सक्नु हाम्रो महत्वपूर्ण उपलब्धी हो । यस्ता परियोजनालाई जति धेरै सुविधा, सहजता र विश्वसनियता प्रदान गर्न सक्छौं त्यसको कार्यान्वयन पनि त्यत्ति नै सहज हुन्छ । पछिल्लो समय विश्वव्यापी रुपमै विदेशी लगानी घटिरहेको अवस्था छ । यस्तो अवस्थामा पनि हाम्रोमा विदेशी लगानीका आयोजनालाई सहजीकरण गर्ने, सुविधा तथा प्रोत्साहन प्रदान गर्ने र विश्वासको वातावरण मात्रै बनाइदिने हो भने पनि सहजै काम हुन्छ भन्ने सन्देश विदेशी लगानीकर्तामार्फत् प्रवाहित भैरहेको छ । तुलनात्मक रूपमा लाभ दिने र लगानी बोर्डको कार्यक्षेत्र भित्रका परियोजना नतिजामुखी ढंगले अघि बढेका छन् । खानी तथा खनिज उत्खननमा दुई वटा परियोजना सफलतापूर्वक कार्यान्वयन भई सञ्चालनमा आइसकेका छन् । अरु गैर–ऊर्जा परियोजना पनि छन् । लजिस्टिक पूर्वाधार योजना पनि अगाडि बढ्दै छन् ।

नेपालमा होङ्सी, हुवासिनसहितका प्रत्यक्ष वैदेशिक लगानीको परियोजना आउँदा परियोजना पहिचान, अध्ययन, निर्माण र व्यवसायिक सञ्चालन गर्नेसहितका सबै काम उनीहरु आफैले गरेका हुन । उनीहरूलाई उद्योग निर्माणका लागि जमिन हामीले उपलब्ध गराएका हौं । दुई वर्षमै उनीहरूले उद्योग स्थापना गरी सञ्चालनमा समेत ल्याएका छन् । बोर्डसँग परियोजना लगानी सम्झौता गरेर उनीहरूले परियोजना निर्माण गरेका हुन् । जलविद्युत् परियोजनाको हकमा भने भने सार्वजनिक–निजी साझेदारीमा विकास कार्य अघि बढाइएको छ । लगानी बोर्डले झन्डै ५,००० मेगावाटका परियोजनालाई परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढाएको छ । पछिल्लो समय अरुण–३, तल्लो अरुण, पश्चिम सेती, माथिल्लो कर्णाली, अपर मस्र्याङ्दी–२, माथिल्लो त्रिशुली–१ जलविद्युत् परियोजना विकासको विभिन्न चरणमा छन् । अरुण–३ को परियोजना विकास सम्झौता भएर भौतिक निर्माणतर्फ प्रगति ६५ प्रतिशत पुगेको छ ।

माथिल्लो कर्णाली जलविद्युत्को परियोजना विकास सम्झौता सम्पन्न भएपनि वित्तीय व्यवस्थापन तोकिएको समयमा हुन नसकेकाले तीन पटक म्याद थप भएको छ । पछिल्लो पटक भने शर्तसहित वित्तीय व्यवस्थापनको म्याद थपिएको हो । परियोजना अध्ययन विश्वसनीय बनाउन सकियो भने कार्यान्वयन सहज हुन्छ । परियोजनाको पहिचान, छनौट, अध्ययनलाई विश्वसनीय बनाउन र सार्वजनिक–निजी साझेदारीका लगानीयोग्य, विश्वसनीय र दिगो परियोजनाहरूको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्ड परियोजना विकास मार्गनिर्देशिका तयार गरिएको छ । सार्वजनिक–निजी साझेदारीका क्षेत्रमा सेन्टर अफ एक्सिलेन्स बन्ने उद्देश्यले लगानी बोर्डले ज्ञान, क्षमता, दक्षता विकास, अनुभव र विज्ञतालाई संग्रह गर्दै आएको छ ।

परियोजना निर्माण गर्दा अध्ययन टुंगिएर जोखिम व्यवस्थापन नगरिदिएसम्म, उसलाई दिनुपर्ने सुनिश्चितता नदिएसम्म, र उसको प्रतिफल सुनिश्चित नभएसम्म लगानीकर्ताले लगानी गर्छु भन्ने निधो गर्दैनन् । त्यसो त प्रतिबद्धता आएका परियोजनामा लगानीको विषय पनि आउन सक्छ । यसका लागि प्रतिबद्धता मात्रै गरेर हुँदैन, लगानी गर्ने र प्रतिफल पाउने सुनिश्चित आधार भएर अगाडि बढेको खण्डमा मात्र परियोजना कार्यान्वयनले गति लिने अपेक्षा गर्न सकिन्छ । दुई पक्षले सहमति नगरी सार्वजनिक–निजी साझेदारीका परियोजना अगाडि बढ्ने भन्ने हुँदैन् । सार्वजनिक–निजी साझेदारी होस् या प्रत्यक्ष निजी लगानीका परियोजना, विकासकर्ताले जोखिम वहन गर्छु भनेर आइसकेपछि परियोजना निर्माण र सञ्चालनमा आइपर्न सक्ने हरेक समस्या र अवरोधलाई संवेदनशील ढंगले सम्बोधन गर्नुपर्छ । लगानीकर्ताको विश्वासले मात्र हामीले थप लगानी आकर्षित गर्न सक्छौं ।

अनुकुल सार्वजनिक–निजी साझेदारी

सार्वजनिक–निजी साझेदारीमा जलविद्युत् परियोजना विकासका लागि नीति, नियम, प्रक्रिया अनुकुल छन् । विकासकर्तासँग परियोजनालाई लगानीयोग्य (ब्याङ्केबल) गराउने विद्युत् खरिद सम्झौता हातमा आएपछि ऋण लगानी जुटाउन सम्भव भएको हो । जलविद्युत् क्षेत्रको यो अनुभवलाई अन्य क्षेत्रमा पनि प्रयोग गरी सार्वजनिक–निजी साझेदारीमा पूर्वाधार परियोजना विकासलाई सघन ढंगले अघि बढाउन सकिन्छ । परियोजना विकास, व्यवस्थापन र कार्यान्वयनका अतिरिक्त बोर्डले लगानी प्रवद्र्धनको काम पनि गर्दै आएको छ । लगानी प्रवद्र्धनका लागि हामीले नेपालका विदेशस्थित दूतावास, महावाणिज्य दूतावास, स्वदेशी र विदेशी निजी क्षेत्रका संस्थाहरू, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन लगायतसँग सहकार्य गर्दै आएका छौं । त्यस्तै संस्थागत विकास र परिणाममुखी कार्यसम्पादनका लागि व्यावसायिक योजनासहितको रणनीतिक योजना प्रधानमन्त्रीको अध्यक्षताको बोर्डबाट स्वीकृत भएको छ, जसमार्फत् चार खम्बे रणनीति अंगीकार गरिएको छ ।

परियोजना विकास र व्यवस्थापन रणनीतिक स्तम्भअन्तर्गत परियोजना सहजीकरण, कार्यान्वयन र व्यवस्थापनका अतिरिक्त विश्वसनीय र लगानीयोग्य परियोजनाको सूची तयार गर्ने र ती परियोजनामा विकासकर्ताको प्रस्ताव आह्वान र प्रत्यक्ष वार्ता जस्ता दुवै माध्यमबाट लगानी आकर्षित गर्ने गृहकार्य हामीले गरिरहेका छौं । लगानी प्रवद्र्धनमार्फत् लगानीकर्तालाई आश्वस्त गरेर लगानी भित्र्याउनु आफैंमा चुनौतीपूर्ण कार्य हो । नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताले सँगसँगै भियतनाम, कम्बोडियाजस्ता मुलुकमा पनि लगानीको सम्भावना हेरिरहेका हुन्छन् । लगानी गर्नेले कहाँ बढी सहजता र प्रतिफल आउँछ भनेर निरन्तर खोजिरहेको हुन्छ । हामीले पनि सबै पक्षबाट सहजीकरण गर्ने गरी अगाडि बढ्नुपर्छ । लगानीको वातावरण र सहजतामा सबैभन्दा पहिले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्छ । कतिपय मुलुकले सार्वजनिक–निजी साझेदारीका पूर्वाधार परियोजनालाई सम्भव बनाउन न्यूनपूर्ति कोष (भायबिलिटी ग्याप फन्डिङ) र भायबिलिटी ग्याप लेन्डिङका विकल्प समेत अघि सारेका छन् । हामीकहाँ काठमाडौं–तराई द्रुतमार्गमा तत्कालीन विकासकर्ताले न्यूनतम प्रतिफल सुनिश्चितता (मिनिमम रेभेन्यू ग्यारेन्टी) खोजेको चर्चा चलेको थियो । यस्ता परियोजना अध्ययन गर्दा तथ्यांकको विश्वसनीयता त्यत्तिकै आवश्यक छ । त्यसैले हामीले विश्वसनीय अध्ययनमार्फत् परियोजना विकासको ढाँचा तयार गरेर मात्र त्यसलाई सोकेस गर्नुपर्छ ।

बोर्डले यस अघि ५० वटा परियोजनालाई लगानी भित्र्याउन सकिने गरी सोकेस गरेको थियो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने योजनाको सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट ललितपुर र काठमाडौं महानगरलाई हस्तान्तरण भएको छ । हामीले पहिले सोकेस गरेका परियोजना स्क्रिनिङ गरेर सात वटालाई प्राथमिकीकरण गरेका छौं । यसलाई निर्माण चरणमा जान प्रस्ताव (एक्स्प्रेसन अफ इन्ट्रेस्ट) आह्वान गर्ने काम भइरहेको छ । लगानी भित्र्याउन प्रतिबद्धता मात्रै भएर हँुदैन, लगानीकर्ताको आवश्यकताअनुसार परियोजना निर्माण र सञ्चालनमा सहजीकरण गर्नुपर्छ । अहिले लगानी बोर्डले सहजीकरण गरिरहेका तीन खर्ब रुपैयाँका परियोजना निर्माणको चरणमा रहेका छन् । त्यसकारण, प्रतिबद्धता बटुल्ने भन्दा पनि गम्भीर खालका लगानीकर्तालाई विश्वसनीय अध्ययन भएका परियोजनामा लगानी गर्न आह्वान गर्नुपर्छ र लगानी प्रतिबद्धतालाई यथार्थमा परिणत गर्नुपर्छ ।

चाँडै अर्को लगानी सम्मेलन

लगानी बोर्डले अब चाँडै अर्को लगानी सम्मेलन आयोजना गर्दैछ । यसका लागि प्रि–इभेन्ट, मुख्य इभेन्ट, पोष्ट इभेन्टको ढाँचामा कार्यक्रम डिजाइन गरिएको छ । लगानी भित्र्याउने विषय बोर्ड एक्लैको पहलले मात्र हुने होइन, लगानीमैत्री वातावरण निर्माणमा धेरै क्रस–कटिङ विषयहरू हुन्छन् । हामी प्रारम्भिक खाका बनाउन, आवश्यक कानुनी र प्रक्रियागत सुधार सम्बन्धमा सिफारिश गर्न, कुन–कुन क्षेत्रमा लगानी भित्र्याउन सकिन्छ भनेर विश्वसनीय परियोजना अध्ययन गरी गम्भीर खालका लगानीकर्तामाझ पुग्न सक्छौं । त्यस्तै लगानी भित्र्याएपछि पनि परियोजना निर्माण र सञ्चालन सहजीकरणमा अन्तरनिकाय समन्वय प्रभावकारी हुनुपर्छ । विदेशी लगानीलाई सबै निकायले प्राथमिकताका साथ व्यवहार गर्न सक्यौं भने हामीले गुणस्तरीय लगानी भित्र्याएर पूर्वाधारको कमी पूर्ति गर्नुका साथै सार्वजनिक सेवाहरू चुस्त र प्रभावकारी ढंगले प्रवाह गर्ने वातावरण निर्माण हुनसक्छ ।

लगानीको लागि प्रचुर सम्भावना भएको देशमा नेपाल पर्छ । हामीले पछिल्लो समय पर्यटनमा सम्भावना देखिरहेका छौैं । त्यसका लागि गुरुयोजना चाहिन्छ । नेपालको प्राकृतिक सौन्दर्य एउटा पाटो हो । अरु संभाव्यता पनि पहिचान गर्नुपर्छ र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ जुन हामीले गरिरहेका छौं । लगानी आकर्षण गर्दा लगानीकर्तासँग प्रारम्भिक चरणदेखि सहमतिमा पुग्नेसम्मको तयारी हुनुपर्छ । परियोजनाको सफल कार्यान्वयनको लागि विश्वस्त वातावरण बनाउने काम हामीले गरिरहेका छौं । विकासकर्ताले खर्बौंको लगानीको सुनिश्चितता खोजिरहेको हुन्छ । सम्झौतामा उल्लेखित दायित्व विकासकर्ता र सहजकर्ता दुवैतर्फ रहन्छन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी सहजीकरण, लगानी प्रवद्र्धन र विदेशी लगानीसम्बन्धी पहिलो बिन्दुका रूपमा लगानी बोर्डलाई म्यान्डेट दिएको छ र समन्वयकारी निकायको रूपमा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, भूमि व्यवस्था, ऊर्जासहितका सबै निकायबाट सहयोग पाइरहेका छौं । परियोजना कार्यान्वयनस्थल रहेका सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट सहयोग पाइरहेका छौं ।

नेपालले विदेशी लगानीकलाई आकिर्षत गरेकै कारण विभिन्न क्षेत्रमा निजी लगानीका आयोजना आइरहेका छन् । उदाहरणको लागि डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँको लगानी विस्तार गर्ने भएको छ । यो पुनर्लगानी हो । नेपालमा आएका लगानीकर्ताको अगाध विश्वासका कारण नै लगानी थपिन सम्भव भएको हो । नेपाल आएका बहुराष्ट्रिय कम्पनीले यहाँ राम्रो व्यवसायिक वातावरण पाएका छन् भन्ने यो प्रमाण पनि हो । यसैवीच लगानी विस्तार गर्न प्रचुर सम्भावना भएका औद्योगिक, पर्यटकीय, सूचना प्रविधि, व्यापार, पारवहन र लजिस्टीक सेवाका लागि प्राइभेट फ्रेट टर्मिनललगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन बोर्डले पहल गरिरहेको छ ।

लगानी र विकासको ढाँचा स्पष्ट पार्नु सबैभन्दा महत्वपूर्ण विषय हो । लगानी भित्र्याउने तथा सहजीकरण गर्ने सहितका विषयमा नै केन्द्रित भएर फागुनसम्ममा लगानी बोर्डका ५२ वटा बैठक सम्पन्न भएका छन् । दिगो र विश्वसनीय परियोजना तयार गर्ने र त्यसलाई कार्यान्वयन गर्न सक्ने लगानीकर्ता ल्याउने महत्वपूर्ण विषय हो । सार्वजनिक–निजी साझेदारीका विभिन्न मोडलमध्ये बुट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडल सफल भएर उदाहरणीय काम भएको छ । परियोजनाको प्रकृति र उपलब्ध विकल्प अनुसार नयाँ मोडलहरू पनि अबलम्बन गर्न सकिन्छ । सार्वजनिक–निजी साझेदारीका परियोजना प्रवद्र्धनले सरकारको खर्च दायित्व न्यूनीकरण भई शिक्षा, स्वास्थ्य, सामाजिक विकास, जनशक्ति विकास, निजी क्षेत्र विकास जस्ता विविध क्षेत्रमा खर्च गर्ने क्षमतामा सुधार हुन्छ । यसअर्थमा सार्वजनिक–निजी साझेदारीबाट नै समृद्धिको ढोका खोल्न सकिन्छ । (भट्ट लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुन्) चेम्बर स्मारिकाबाट

प्रतिक्रिया दिनुहोस्