Logo

बीमाको विश्वसनीयता कायम गर्न दावी भुक्तानी सहज बनाउनुपर्छ, सूर्यप्रसाद सिलवालको लेख

बीमाको विश्वसनीयता कायम गर्न दावी भुक्तानी सहज बनाउनुपर्छ, सूर्यप्रसाद सिलवालको लेख



काठमाडौं । बीमा आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा एउटा वित्तीय औजार पनि हो । भोलिका बारेमा सबै अनभिज्ञ छौं । अचानक जे पनि हुन सक्छ । भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षति रोक्न बीमा गरिन्छ । सम्भावित जोखिम न्यूनीकरण गर्न बीमा गरिन्छ । बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता भएर बीमा हुने गर्छ । जोखिम न्यूनीकरणका लागि गरिएको यो एक प्रकारको सम्झौता पनि होे जसको माध्यबाट जोखिम न्यूनीकरण गरिएको हुन्छ । थोरै प्रिमियम लिएर जोखिम व्यवस्थापन गरिन्छ । थाहा नभएको, हुन सक्ने सम्भावित् कुनै समयको दुर्घटनाबाट हुन सक्ने सम्भावित क्षेतीलाई न्यूनीकरण गर्ने उपहारको रुपमा बीमालाई लिन्छ । नेपालमा जीवन र निर्जीवन बीमा गर्ने गरिएको छ ।

व्यक्तिको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी जीवन बीमा गरिन्छ । यसमा कुनै खास रकम प्रिमियम तिर्नुपर्छ । बिमित वा मृत्यु भएमा हकवालाले भुक्तानी पाउँछ । जीवन बीमा तीन किसिमबाट गरिन्छः आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा । आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्नुपर्छ । बिमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । बीमा अवधि सकिएपछि प्रिमियम बुझाउनुपर्दैन । यो मृत्युपर्यन्त पाइने क्षतिपुर्ती भएकाले फिर्ता पाइदैँन । तर बीमा अवधिमै उसको मृत्यु भएमा इच्छाएको व्यक्तिले भने एकमुष्ट रकम पाउँछ । अन्य बीमा पोलिसी भन्दा यसमा प्रिमियम सस्तो पर्छ । ्

सावधिक जीवन बीमा योजनाबाट एकमुस्ट रकम प्राप्त गर्न सकिन्छ । मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । तोकिएको अवधिसम्ममा बिमितले नियमित शुल्क बुझाउनुपर्छ । अवधि समाप्त भएपछि बिमितले बीमांक रकम र बोनस पाउँछ । बिमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको व्यक्तिले पाउँछ । दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि पाइन्छ । म्यादी जीवन बीमा सीमित अवधिका लागि मात्रै गरिन्छ । बिमितले सो अवधिसम्मको शुल्क भुक्तानी गर्नुपर्छ । बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमांक रकम र बोनस प्राप्त गर्छ ।

चल–अचल सम्पत्तिको बीमा गर्नुलाई निर्जीवन बीमा भनिन्छ । आफ्ना जुनसुकै वस्तुको पनि बीमा गर्न सकिन्छ । घरउद्योग, सवारी साधानलगायतको बीमा हुन्छ । दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व तथा विदेश यात्रामा पर्ने जोखिमलगायतको बीमा हुन्छ । प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन यस्तो बीमा गरिन्छ । कृषिअन्तर्गत पशुबीमा पनि हुन्छ । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिम कम गर्न पछिल्लो समयमा बीमाको विस्तार भइरहेको छ ।

नेपालमा बीमाको सुरुवात २००४ सालदेखि भएको पाइन्छ । यसअघि भारतीय कम्पनीले बीमा गराउँथे । नेपाल बैंक लिमिटेडले २००४ मा बीमा कारोबारका लागि नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । २०२४ मा मात्रै राष्ट्रिय बीमा संस्थान स्थापना भयो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित भएपछि जीवन तथा निर्जीवन बीमा हुन थालेको हो । बीमा क्षेत्रको नियमन गर्न सोही वर्ष बीमा ऐन जारी भयो । ऐन पश्चान बीमा समितिको स्थापना भयो । अहिले बीमा प्राधिकरण बनेको छ । पुनर्बीमा कम्पनी पनि भएको छ ।

बीमा प्राधिकरण बीमाबारे जनचेतना जगाउन केन्द्रित भएको छ । नेपालका सबै जनसंख्यालाई बीमाको दायरामा ल्याउन अघि बढेको छ । प्रदेश, जिल्ला पुगेर बीमाको प्रचार गर्ने गरिएको छ । बढी भन्दा बढी मान्छे बीमाको दायरामा आउन् भन्ने हाम्रो ध्येय हो । बीमाको बारेमा पनि बताउने र बीमाको फाइदा लिन सकोस् भनेर प्राधिकरणले फोकस गरेको छ । विगतका वर्षभन्दा पछिल्ला वर्षमा बीमाको दायरा बढ्दै गएको छ । केही वर्षअघिसम्म २७ प्रतिशत जनतासम्म बीमा पुगेकोमा गत वर्ष ४१ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षमा भने वृद्धिदर केही कम भएको देखिन्छ । फागुसम्म ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । बढी भन्दा बढी मान्छेलाई बीमाको दायरामा ल्याउनु नै बीमा प्राधिकरणको मुख्य काम हो । हुन सक्ने आर्थिक क्षतिबाट बच्न उपकरण चलाउने अभियानमा पनि हामी छौं ।

तर बीमा शहर बजारमा मात्र केन्द्रित भयो । गाउँमा पुग्न सकेन । गाउँका बजारमा यसको पहुँच पुग्न सकेन । यस्ता गुनासा बारम्बार आइरहन्छन् । गाउँसम्म बीमा पुर्याउन प्राधिकरणले छ वटा प्रदेशमा प्रादेशिक कार्यालय खोलेको छ । प्रदेशमा बसेर बीमाको बारेमा प्रचार, प्रसार गर्ने, समन्वय गराउने काम भइरहेको छ । स्थानीय तहसँग समन्वय गरेर बीमाबारे सचेतना फैलाउने काम भइरहेको छ । बीमा कम्पनीलाई सबैको बीमा गराउन, नयाँ पोलिसी ल्याउन भनिरहेका छौं । ग्रामीण भेगमा गएर सेवा दिनुपर्छ भन्दै आएका छौं । तथापी, अझै ग्रामीण वस्तीका गरिबहरुसमक्ष बीमा पुग्न सकेको छैन । किसान, लघु उद्यम गर्ने एवम् पसल र तरकारी व्यवसाय गर्नेसम्म पुग्न सकेको छैन । बीमा गल्ला, फुटकर पसलमा पुग्न नसकेकाले लघुबीमा ल्याएका छौं ।

नयाँ लघुबीमा कम्पनीले प्रदेशमा काम गर्ने छन् । ग्रामीण भेगमा प्रदेश र स्थानीय सरकारसँग मिलेर लघुबीमा अघि बढाउने छन् । बीमा बिस्तार गर्ने छन् । यसले सर्वसाधारणमा पनि बीमाको पहुँच बढ्छ । अब शहरकेन्द्रित नभई गाउँकेन्द्रित बीमा हुन थालेको छ । शहर भन्दा गाउँमा मानिसलाई बीमाको आवश्यकता र महत्व छ । ग्रामीण भेगका मानिसको क्षमता बढाउँदै क्रमशः सबैलाई बीमाको दायरामा ल्याउनु पर्छ ।

बीमा व्यवसाय विस्तार गर्न अभिकर्ताको महत्वपूर्ण भूमिका हुन्छ । अहिलेको ऐन आउनुअघि एउटा अभिकर्ताले जति कम्पनीको पनि एजेन्ट भएर काम गर्न पाउँथ्यो । यसो हुँदा कुनै कम्पनीप्रति उसको दायित्व हुँदैन थियो । अहिले एक व्यक्ति एउटा कम्पनीको मात्रै एजेन्ट हुन पाउँछ । अभिकर्ताले नै एउटा कम्पनीको सरेन्डर गर्न लगाउने, अर्को कम्पनीको पोलिसी किन्न लगाउने प्रवृत्ति थियो । अहिले कडाइ गरिएको छ । अभिकर्ता अब एउटा कम्पनीको मात्रै हुन पाइने भएकाले कम्पनीप्रति दायित्व बढ्छ । अभिकर्ताले बढी भन्दा बढी आर्जन गर्न मेहनत गर्छ । यो उसको पेशा हो । दोस्रो कम्पनीमा हुँदा भन्दा धेरै एउटा कम्पनीमा हुँदा कार्यप्रस्तुति प्रभावकारी हुन्छ ।

नियमसंगतरुपमा एउटा कम्पनीबाट राम्रो आर्जन गर्न सक्छ । अभिकर्ता जिम्मेवार हुँदा मात्रै पनि बीमाको बजारमा नियन्त्रण हुन्छ । विश्वसनीयता बढ्छ । बीमा गराएपछि नवीकरण गराउन ध्यानाकर्षण गराउँछ । सरेन्डर नहुनका लागि अभिकर्ता नै चनाखो बन्छ । सम्झाएर बुझाएर प्रिमियम तिर्न लगाइ रहन्छ । जसले गर्दा सरेन्डर हुने, बिचमै छोड्ने प्रवृत्ति पनि रोकिन्छ । बीमा अभिकर्ता बन्न विशेष योग्यता चाहिन्छ । परीक्षा पास गरेको हुनुपर्छ । यसो गरेर आएको अभिकर्तामा बीमाको ज्ञान हुन्छ । अभिकर्ता चनाखो र सक्रिय भएमा यसका विकृति पनि रोकिन्छन् ।

विगतका वर्षमा सरेन्डर बढ्दै गएको देखिन्छ । यस्तो हुनु राम्रो मानिदैँन । बीमामा सरेन्डर गर्न पनि तीन किस्ता तिर्नैपर्छ । पहिले २ वर्षमै सरेन्डर गर्न पाइन्थ्यो । अहिले तीन किस्ता नतिरी सरेन्डर गर्न पाइदैँन । अभिकर्ताले नै पहिला सरेन्डर गराउने काममा भूमिका खेल्थ्यो । अहिले त्यस्तो अवस्था रहेन । गत वर्षको तुलनामा सरेन्डर घटिरहेको छ । सरेन्डरका लागि बीमा गरिएको भए अभिकर्ता फस्ने हो । सबै कुरा विस्तारै नियन्त्रण गर्ने प्रयास भएको छ । अब आउने वर्षहरुमा सरेन्डर क्रमशः घट्दै घट्ददै जान्छ ।

बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न जोड दिएका छौं । अहिलेको पुँजीले पुग्ने देखिँदैन । बीमा कम्पनीले पुँजी वृद्धि गर्नुभन्दा अहिलेको आर्थिक अवस्थाका बेला मर्जर गरेर जान राम्रो भन्ने ठाने । मर्जर ऐन आएको छ, त्यसैअनुसार कम्पनी मर्ज हुन सक्छन् । ठूला कम्पनीबाट सर्वसाधारणमा बीमाको पहुँच बढ्न सकेन । अहिले दिएको लाइसेन्स लघु बीमालाई मात्रै हो । गरिबसम्म पुग्न, गाउँमा जान लघुबीमाले काम गर्छ । यसले खसी बोकालगायत कृषिजन्य र पशुको बीमा बढ्छ । लामो अध्ययनपछि लघुबीमाको लाइसेन्स दिइएको हो । यसबाट निम्न वर्गसम्म बीमाको पहुँच बढ्छ ।

बीमाको विश्वसनीयता कायम गर्न दावी भुक्तानी सहज बनाउनुपर्छ । दावी भुक्तानी समयमा दिन सके बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्छ । जसरी पोलिसी दिने क्रममा मान्छे खोजीखोजी दिन्छौं । दाबी भुक्तानी गर्ने बेलामा पनि खोजी हिँडेमा बजारमा सकारात्मक प्रभाव पर्छ । बीमाको बारेमा विश्वास बढ्छ । नेपालका सबै कम्पनीलाई बोलाएर छलफल गरेका छौं । दावी भुक्तानी छिटो गर्न निर्देशन दिएका छौं । दावी भुक्तानी प्रभावकारी हुन सक्यो भने पनि बीमाको दायरा फराकिलो हुन्छ । दावी भुक्तानी नहुेलाई कारवाहीको चेतावनी पनि दिएका छौं । कतिपय कारवाहीमा परिसकेका छन् । दावी भुक्तानी गर्ने क्रम बढेको छ । तर कानुनले भने अनुसारका कागजात पुग्नुपर्छ । कानुनले मागेका कागजात नपुगेमा दावी भुक्तानी गर्न गाह्रो हुन्छ । क्लाइन्टले कागजात नपु¥याउने, सरकारले समयमा काम नगरिदिने समस्या छन् । यी समस्या समाधान गर्न प्राधिकरण लागिपरेको छ ।

समग्रमा बीमा बजार बिस्तार गराउन कुनै नै प्रदेशसँग मिलेर काम गरिरहेका छौं । तपाइहरुले जनताको जिम्मा लिनुप¥यो । बीमा गराउनुप¥यो भन्दै आएका छौं । नहुनेको बीमा गराउन लगाएका छौं । यसको प्रभाव राम्रो परेको छ । पछिल्लो समयमा कर्णाली प्रदेशले आफ्ना सबै नागरिकको दुर्घटना बीमा गरिदिएको छ । भिमसेन थापा गाउँपालिकामा पनि अधिकांश गाउँलेको बीमा भएको छ । अरु ठाउँमा पनि बीमा भइरहेका छन् । कृषिमा पनि बीमाको दायरा बढ्दै गएको छ । कृषि बीमा गराउँदा ८० प्रतिशत अनुदान छ । किन बीमा गर्दैनन् भन्ने आम चासो छ । गाउँमै बस्ने भएकाले बीमा गर्नुपर्छ भन्ने ज्ञान नहुन सक्छ । पशुको पनि बीमा गर्नुपर्छ । त्यसका लागि सबै सरोकारवाला निकाय चनाखो र सक्रिय हुनुपर्छ । अब लघुबीमा गर्नुपर्छ । यसले समग्र बीमा बजार बढ्छ । भोलिका दिनमा दुर्घटना हुन गयो भने बीमा गराएको व्यक्तिले दावी भुक्तानी पाएर अझ बढी विश्वास आर्जन गर्छ ।

बीमा गर्दा बिमितलाई कहिल्यै घाटा हुँदैन । बीमा बचत जस्तै हो । यो अनिवार्य र वाध्यत्यमक बचत जस्तै हो । बैंक तथा वित्तीय संस्थाको भन्दा यो बचत भरपर्दो र प्रभावकारी मान्न सकिन्छ । हरेक वर्ष थोरै रकम तिर्दा अवधि सकिदाँम्म आकर्षक रकम संकलन हुने भएकाले यसले बिमितलाई फाइदा पुग्छ । बीमाले आर्थिक सुरक्षा प्रदान गर्छ । बिमितलाई मात्र नभई परिवारलाई समेत आर्थिक सुरक्षा कवचका रुपमा बीमालाई लिइन्छ । भविष्य निर्माण गर्न, सन्तानको उच्च शिक्षा दिन सहज हुने भएकाले बीमाको महत्व बढ्दै गएको हो । (सिलवाल राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष हुन्) चेम्बर स्मारिकाबाट साभार

प्रतिक्रिया दिनुहोस्