अभाबमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा बढी विक्छ । एक अर्कालाई दोषारोपण हुन्छ तर यसले समाधान कहिल्यै दिदैन । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजनासँगै हरेक संकटबाट बाहिर निस्किन सजिलो हुन्छ । विश्व आर्थिक अबस्थासँगसँगै नेपालमा पनि आर्थिक अभावको स्थिती अझै छ । गाह्रो सबैलाई छ अनि पर्याप्त प्रश्नहरु उब्जिन्छ नै ।
सरकार पुरै सङ्कलित आय रकमबाट चालु खर्चसम्म धान्न नसक्ने स्थितिमा छ, तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिती सहज होईन । प्रजातन्त्र, लोकतन्त्र र संघियताको यात्रासँगसँगै पुँजीगत खर्च र चालु खर्चको अनुपात ५५ः४५ बाट घट्दै गएर २०ः८० भन्दा न्युन भैसकेको छ । कसरी सम्हाल्ने सरकारलाई गाह्रो छैन र ?
उधमी व्यवसायीहरूको स्थिर खर्च बढेको छ तर बजारमा माग २० प्रतिशत देखि ७५ प्रतिशतसम्म घटेको छ । यसले गर्दा उकुसमुकुस को वातावरण छ । पुरानालाई त टिक्नु गाह्रो भैरहदा नयाँ उधमी कसरी आउने । देश आर्थिक रुपमा समृद्ध हुन्छ कसरी ? उधमी र उधमशिलतालाई टेवा दिन सकेनौ भने हामी बच्दछौ र बाँदछौ कसरी ?
बैकिङको खुद मुनाफा त हेरेर कमेन्ट गर्छौ हामी तर वितरण योग्य नाफा धेरैको नकारात्मक वा न्युन छ । खराब कर्जा अप्रत्याशित रुपले बढेको छ । स्थिती सुधार नभएमा निक्षेपकर्ताको हितसम्म सुरक्षित हुन गाह्रो हुने स्थिती आउन सक्दछ । बैंकमा पैसा सबै नागरिकको छ हैन र ? बैकिङ विश्वासमा चल्छ र विश्वास गर्न यो डुब्दैन भन्ने स्थिती हुनुपर्छ हैन र ? बैकिङमा पैसा नहुदा कती व्यवसायीले ३६ प्रतिशतदेखि ४८ प्रतिशतसम्म ब्याजमा पैसा लिई गर्जो टार्नु भयो सोच्नुस त ?
केहि सुधारका निर्दैशन र नियमनले अर्थतन्त्रको अवस्थालाई स्थिर वा केहि सुधारतर्फ लगेको थाहा हुँदाहुँदै पनि नियामकहरुले ताली खानुपर्ने ठाँउमा समेत गाली खान परिरहेको छ । सहि नियमनलाई साथ नदिने हो भने भोली को स्थिती अझै बिग्रिन सक्दछ । नियमन कसलाई ‘अहा’ अनि ‘गज्जब’ लाग्छ र – औषधि तितो नै हुन्छ । डाक्टरले दिएको औषधिले मुखै विगार्यो भनेर खान छाड्ने त ! डाक्टरले यो खान रोक्यो उ खान रोक्यो भनेर गाली गर्ने कि रोग ठिक हुदैछ, स्वस्थ हुँदैछु, आयु बढ्दैछ भनेर धन्यबाद दिने ?
युवाहरूमा काम गरौ भन्ने हुटहुटी छ, जोश छ, पढाइ छ तर सोचे झै अवसर नपाउने वातावरणले उनीहरुलाई अत्यन्तै नकारात्मक बनाइरहेको छ । तथ्य अनि तथ्याङ्क सहित वास्तविकता आफुले बुझेर अरूलाई समेत सम्झाउनु पर्ने यो जमात सामाजिक सञ्जाल, युट्युव र टीकटकमा प्रचारित नकारात्मक सन्देशहरूका वाहक बनिरहेका छन । यस्तै हुने हो भने उनीहरुसँगै देशको भविष्य कहाँ पुग्दछ ?
नागरिकहरुको आम्दानी घटेको छ, अवसरहरु घटेका छन खर्च क्षमता घटेको छ तर महँगी बढेको छ । उकुसमुकुस हर घरमा छ – हैन र ?
यति बेला संयम, धैर्य, एक अर्कालाई ढाडस/साथ/सहयोग अनि एक नागरिकको रुपमा मेरो सकारात्मक भुमिका के हुनुपर्छ भनेर हरेक पेशामा आबद्ध मान्छेहरुले सोच्नु पर्ने बेला पक्कै आएको छ । नियामकले गाली खादै लिएका केहि निर्णयहरुले यो बर्ष केही आर्थिक सुचकांकमा सुधार आएका छन । अगाडिका दिनहरू सुन्दर र समृद्ध हुन सक्दछन तर त्यहाँसम्म पुग्न एक अर्कालाई साथ दिउँ । नकारात्मक भन्दा सकारात्मक सन्देश बढि चर्चामा ल्याउ । बाढी र भेलमा एक अर्कालाई समातेर बसियो भने बाढी कम हुँदै जाँदा सबै सुरक्षित होईन्छ एक अर्कालाई छिर्कि हान्न थाले कोही बचिँदैन ।
यो समय सामाजिक, धार्मिक र पेशागत द्वेष फैलाउने बेला होईन । खरको छानो भएको बस्तीमा छौं हामी– छिमेकी को घरमा आगो लाउन खोजे हाम्रो घर नि बच्दैन । छिमेकी घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्क सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाँउका ठाँउ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।
समस्या जताततै छन, आशाका किरणहरु पनि छन । बेइमानी र बेईमानहरुलाई खबरदारी गरौ तर सामाजिक, धार्मिक र पेशागत मर्यादा अनि सदभाव कायम राखौ– अहिले यो जरुरी छ । धेरै आर्थिक सुचकांकमा सुधार देखिएका छन, आशाका किरणहरु देखिएका छन । राम्रो काम गर्दा गर्दे अप्ठ्यारोमा परेकाहरुलाई साथ दिउँ, सहानुभूति राखौ, प्रोत्साहन गरौं, बेईमान र बदमासहरुलाई खबरदारी गरौं । तर नकारात्मक सन्देश र द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाँउका ठाँउ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।
समस्या छन तर पार पाउछौ भन्ने आत्मविश्वास राखौँ । ‘होस्टेमा हैसै’ गरौं ।
(नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको फेसबुकबाट साभार)