चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको तथ्यांक केलाउँदा नेपालको अन्तराष्ट्रिय व्यापार कोभिडअघिको अवस्थातर्फ फर्किदैं गरेको अनुमान गर्न सकिन्छ । यस अवधिमा वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कुल ९ खर्ब ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात ८० अर्ब नाघेको छ । गत आवमा कोभिड अघिको वस्तु आयात ९ खर्ब ४३ करोड रुपैयाँ बराबर थियो । वस्तुको निर्यात सुधारोन्मुख देखिंदा आयातको आकार कोरोना सुरु हुनु अघिकै अवस्थामा फर्किसकेको छ । अन्तराष्ट्रिय व्यापारका पछिल्लो तथ्यांकहरुले भन्सारको गतिविधि पूर्ववत् अवस्थामा फर्किएको संकेत गर्छ । तर यो एक वर्षमा भन्सार प्रशासनले झेलेको र पार लगाएको कोभिड संकट शब्दमा शायदै बयान गर्न सकिएला ।
अन्यौल र अनुभवविहीन अवस्थामा अचानक सुरु भएको देशव्यापी बन्दाबन्दीले सुरुवातको केही दिन भन्सार प्रशासन अलमलमा प¥यो । देश बन्द भए पनि मानवीय आवश्यकताका वस्तु आपूर्ति कुनै पनि हालतमा प्रभावित हुनुहुन्न भन्ने मान्यताका आधारमा भन्सार उपलब्ध स्रोत र साधनको उच्चतम् प्रयोग र सर्तकता अपनाएर सञ्चालनमा आयो । सबै क्षेत्र ठप्प र बन्द रहँदा पनि अत्यवश्यक सेवामा पर्ने भन्सारमा खटिएका हाम्रा साथीहरुले पहिलो घेरामा उभिएर कार्य सम्पादन गरे । कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा पनि हाम्रो भन्सारका नाकाहरु सञ्चालनमा आयो । छिमेकी मुलुकको भन्सारसँग समन्वय गर्दै खाद्यान्न, औषधिलगायतका वस्तुको आपूर्ति, इन्धनको उपलब्धता जस्ता विषयमा हामीले दिनरात खटिएर काम गर्नुपर्ने अवस्था आयो । कोभिडको मनोवैज्ञानिक त्रासले हाम्रा साथीहरु दबावमा परे पनि काम भने रोकिएन । पहिलो त लकडाउन हाम्रा लागि नयाँ थियो भने दोस्रो जोखिमको मात्रा पनि अत्यधिक थियो ।
कतिपय कामहरु अनलाईनबाट पनि गर्न सकिन्छ तर भन्सारका कामहरु त्यसरी सम्भव थिएन । पहिलो त कोरोना कसरी सर्छ भन्ने यकिन थिएन भने दोस्रो कोरोना प्रभावित मुलुकबाट आएका माल वस्तुको चाँजपास गर्नु आफैमा चुनौतीपूर्ण थियो । मालवस्तु जाँच गर्नुपर्ने, छड्के जाँच पनि गर्नु पर्ने, अवैध सामान भित्र्याउनबाट पनि रोक्नुपर्ने चुनौती भन्सारलाई थियो । तर हाम्रा साथीहरुले उपलब्ध स्वास्थ्य पूर्वाधार र सर्तकताका मापदण्ड अपनाएरै व्यापार सहजीकरणको काम सम्पन्न गरे । अनुभवविहीन हाम्रो अवस्था बिस्तारै सर्तकर्ताका साथ कार्य सम्पादनतर्फ केन्द्रित भयो । दोस्रो चरणको बन्दाबन्दी अर्थात निषेधाज्ञासम्मको अवस्थामा आईपुग्दा भन्सार विन्दुमा कार्यरत सबै खाले भन्सारकर्मीहरुलाई कोरोनाको संक्रमण देखिएको थियो । विराटनगर, विरगञ्ज, कृष्णनगर, नेपालगञ्ज लगायतमा बिन्दुमा कार्यरत कर्मचारीमा संक्रमण देखिंदा अवस्था अत्यन्त भयावह त भयो नै तर पनि दैनिक उपभोग्य एवं अत्यावश्यक मालवस्तु र औषधीजन्य वस्तुहरुको पैठारीका लागि भन्सार नियमित सञ्चालनमा आयो ।
कोभिडले सिकाएको पाठ
यो महामारीले हामीलाई केही पीडा दियो, सँगसँगै केही सिकायो पनि । यस अघि भौतिकरुपमा हुने गरेका कामहरु बन्दाबन्दीका कारण ठप्प हुन पुगेपछि भन्सार विभागले आफ्नो कार्यशैलीमा प्रविधिको प्रयोग गर्न थाल्यो । सेवाग्राहीले घरबाटै एक्जिम कोड नवीकरण गर्नेदेखि अनलाइनकै माध्यमबाट आयात तथा निर्यातका कामहरु अघि बढाउने, अनलाइनबाटै महशुल तिर्न सक्ने व्यवस्था गरियो । यसले एकातिर व्यापार सहजीकरण गरेर आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्यायो भने अर्कातिर कागजको प्रयोग र मानिसको भौतिक उपस्थिति कम गराई दियो । यसले कोभिड महामारीबाट बच्न पनि सघाउ पुग्यो । यसअघि हामीले भौतिक उपस्थितिमा खर्चिलो ढंगबाट गरिने बैठक, छलफल, सेमिनार तालिम जस्ता कार्यक्रमहरु पनि भर्चुअलका माध्यमबाट गर्न थाल्यौं । अहिले भन्सारले आफ्नै भर्चुअल केन्द्र पनि बनाएको छ जसबाट हामी उच्चतम् प्रविधिको प्रयोग गर्दै मानवीय भौतिक उपस्थिति र भिडभाडरहित कामलाई प्रोत्साहन गरिरहेका छौं । यसले हाम्रो समय र खर्च दुवै बचाएको छ जसलाई म कोभिडले सिकाएको सकारात्मक पाठ भन्न रुचाउँछु ।
कोभिडमा व्यापार सहजीकरण
भन्सार बिन्दु सदैव संवेदनशील हुन्छ किनभने हामी निकटतम् मुलुकसँगको पहिलो सेतु हौं । संवेदनशील अवस्थामा व्यापार सहजीकरणका लागि पहिले हामीले स्वदेशी निजी क्षेत्रसँग छलफल र अन्तक्र्रिया गरेर गुनासो तथा अठ्याराहरु सुन्यौं । त्यसपछि हाम्रो काउण्टरपार्टमा रहेका छिमेकी मुलुकका भन्सार कार्यालयसँगको समन्वयलाई विशेष प्राथमिकतामा राख्यौं । बुझाई तथा समन्वयको अभावमा केही छिटफुट असमझदारी पक्कै पनि भए होलान् तर समस्या समाधान गरेर हामीले प्राथमिकताका नाकाहरुको व्यापारलाई सहज बनायौं । अर्कोतर्फ सरकारले आर्थिक ऐनमार्फत निजी क्षेत्रलाई दिएको सहुलियत तथा राहत कर्यन्वयन गर्नु भन्सारको मुख्य काम रह्यो । सरकारले उद्योगी व्यवसायीलाई दिएको बजेटको सुबिधाअनुसार सहुलियतको दायित्व भन्सारले इमान्दारीपूर्वक निर्वाह गर्यो । ऐन र कानुनले दिएको अधिकार प्रयोग गरेर भन्सार क्रियाशील छ । अन्तरमन्त्रालय समन्वय, कानुनको प्रयोग तथा यस बीचमा सरकारले गरेको निर्णयमार्फत व्यापार सहजीकरण लागि हामीले काम गर्दैछौं । महामारीका कारण ओरोलो लागेको राजश्व संकलन र अन्तराष्ट्रिय व्यापारलाई फेरि पुरानै अवस्थामा फर्काउनु पक्कै पनि चुनौतीपूर्ण थियो तर हामीले त्यस दिशामा धेरै प्रगति गरिसकेका छौं ।
भन्सारको आगामी बाटो
भन्सार सुधारको राणनीतिक कार्ययोजनाअन्र्तगतको पाँचौ योजना सम्पन्न भएको छ । हामीले अहिले छैटौं योजनाको तयारी गर्दैगर्दा भन्सार प्रशासन र यसको पूर्वाधारमा धेरै प्रगति भएको छ र यो थप फराकिलो हुने प्रक्रियामा छ । भन्सार पूर्वाधार विकासको कुरालाई नयाँ पूर्वाधार विस्तार र पुराना पूर्वाधार सुधारलाई मानिनु पर्छ । ठूला भन्सार बिन्दुहरुमा पूर्वाधारको अभाव हुनुहुन्न भन्ने सरकारी नीति नै छ । फलस्वरुप केही एकीकृत भन्सार जाँच चौकीहहरु निर्माणपछि सञ्चालनमा आएका छन् भने केही निर्माणको चरणमा छन् । बिराटनगर, बीरगञ्जमा राम्रा पूर्वाधार बनेका छन् नेपालगञ्ज, भैरहवालगायत स्थानमा क्षेत्रमा थप पूर्वाधार बन्दै छन् । दक्षिण र उत्तर दुवैतर्फका नाकाहरुमा पूर्वाधार निर्माणको कामहरु वाणिज्य मन्त्रालयसहितका नियकासँगको समन्वयमा भईरहेका छन् । निर्माणाधीन नयाँ अन्तराष्ट्रिय तथा क्षेत्रिय विमानस्थलमा पनि भन्सार पूर्वाधारका लागि काम भइरहेका छन् ।
भन्सार पूर्वाधार स्तारोन्नती गरेर थप बलियो भन्सार बनाउन विभाग लागि परेको छ । फराकिलो भन्सार पूर्वाधार हाम्रो नीति हो । हामी अहिले आर्थिक वर्षको अन्तिम समयमा छौं र आगामी भन्सार पूर्वाधार विकास नीतिबारे विभागले नजिकबाट अध्ययन र सुझाव लिइरहेको छ । भन्सार विभागले पहिलो पटक स्तरीय आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यसले भन्सार प्रणालीमा सुधार ल्याउन ठूलो भूमिका खेल्छ भन्ने अपेक्षा छ । पूर्वाधारलाई समयानुकुल र थप स्तरीय बनाएर हामी व्यापार सहजीकरणमा लागिरहेका छौं ।
भन्सार सहजीकरणमा अप्ठ्यारो महशसुस गरेरै हामीले भन्सार एजेन्ट थपका लागि प्रक्रिया अघि बढाएका छौं । एजेन्ट कम हुँदा समस्या भएको भन्ने गुनासो थियो, त्यो अब समाधान हुन्छ । भन्सारको प्रणाली बलियो बनाएर आन्तरिक नियन्त्रण कायम गर्न हामी काम गरिरहेका छौं । भन्सारमा सुशासन र सदाचार कायम गर्न आन्तरिक पहल पनि गर्दैछौं । अन्तरराष्ट्रिय भन्सार प्रणाली सुहाउँदो एकीकृत प्रणाली विकास भएको छ । भन्सारको एकल बिन्दु सेवा पनि आंशिक रुपमा सञ्चालनमा छ । यसलाई पूर्णता दिदैं थप सुदृढीकरण गर्नु विभागको दायित्व हो । भन्सार प्रणाली सुधार गर्न कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर हामीले आगामी नीति तथा कार्यक्रम एवं बजेटको तयारी गरिरहेका छौं । निजी क्षेत्रको आवश्यकता, सरकारी नीति र अन्तराष्ट्रिय व्यापार सहजीकरणको दायित्व निर्वाह गर्न विभाग प्रतिवद्ध छ । (भन्सार विभागका महानिर्देशक भुषालको यो लेख चेम्बर स्मारिका–२०७७बाट साभार गरिएको हो)