Logo

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिविफीन

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिविफीन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफीन)ले चालु आर्थिक बर्षको मौद्रिक नीति सन्तुलित र समयसापेक्ष आएको बताएको छ । आईतबार मौद्रिक नीतिमा प्रतिक्रियासहितको विज्ञप्ति जारी गर्दै सिविफीनले यस्तो बताएको हो ।
पछिल्लो समय मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष मौद्रिक नीति आएको विज्ञप्तिमा उल्लेख छ ।
यो मौद्रिक नीतिले समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउने सिविफीनले बताएको छ ।
आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अबलम्वन गरिनु र अपक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको सिविफीनको भनाई छ ।

बैंक तथा वित्तिय संस्थाको पूँजीकोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवर्कमा पुनरावलोकन, असलकर्जाको नोक्सानी व्यबस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदमहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नीतिगतदर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकतासहितको राहत दिनु, संस्थागत शेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालू पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था गरिनुले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा परिसंघ आशावादी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL