Logo

शोधनान्तर स्थिति ५ खर्बले बचतमा, विदेशी मुद्रा संचिति २० अर्ब ४० अर्ब पुग्यो

शोधनान्तर स्थिति ५ खर्बले बचतमा, विदेशी मुद्रा संचिति २० अर्ब ४० अर्ब पुग्यो



काठमाडौं । पछिल्लो समय देशको सोधनान्तर स्थितिमा उच्च सुधार हुँदै ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको गत आवको बार्षिक तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा उच्च सुधार हुँदै ५ खर्ब माथि पुगेको हो । देशमा घट्दो आयात र वैद्येशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स बढेसँगै शोधनान्तर स्थितिमा उच्च सुधार भएको हो ।

यसैगरी विदेशी मुद्रा संचितीमा पनि उच्च सुधार आएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत आर्थिक वर्षमा आईपुग्दा ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संचिति २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । यसैगरी सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्