काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ ।
गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो । बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ । गुरुकुलमको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उनले जानकारी दिए ।
सो गुरुकुलममा हाल ६० जना बालिका रहेका छन् । उनीहरूलाई संस्कृत पढाइँदै आइएको छ । संस्थाका सदस्य सिर्जना अर्यालले यो गुरुकुल नेपालकै नमूना भएको बताइन। उनले भनिन, ‘छोरीलाई संरक्षणसहित यस ढङ्गले शिक्षा दिएको यो नमूना गुरुकुल हो ।’