Logo

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखा उद्घाटन, स्थानीय विद्यालयलाई कम्प्युटर हस्तान्तरण

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखा उद्घाटन, स्थानीय विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको बुधबार औपचारिक उद्घाटन भएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा संयोजक तिवारीले देशकै ठूलो ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीका उत्थानका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुने गरी काम गर्न सुझाव दिए । लगानी र मुनाफा दुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको उनले बताए ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायीमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पालना गर्दै सेवा विस्तार गरेको बताए । आगामी दिनमा थप सबल बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने उनले बताए ।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरे । साथै उनले निराशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्युआर कोड स्ट्यान्ड हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL