काठमाडौं । कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता भएको छ । बैकका अनुसार कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका हुन ।
देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ्ग कारोवार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने बिश्वास लिएको छ ।
उक्त सम्झौता कार्यक्रममा नगर प्रमुख रमेश महर्जनले यस पाँच बर्षे सम्झौता तथा सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताएका छन् ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको बताए ।
पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोवार गर्नेछ भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरुको सहर वीचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ ।
बैंकले नगरपालिका क्षेत्रमा वशोवास गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ । यस सम्झौताले नगरपालिकाको एकिकृत बैंकिङ्ग कारोवारमा सहजता हुनेछ ।
सम्झौता अनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्यूतिय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालीका मार्फत खर्च गर्नेछ ।