Logo

मेगा बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो १ अर्ब ३० करोड रुपैयाँ

मेगा बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो १ अर्ब ३० करोड रुपैयाँ



काठमाडौं । मेगा बैंक नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ९५ करोड २ लाख ४ हजार रुपैयाँ रहेको थियो । गत वर्षभन्दा यस वर्ष ३७ दशमलव २८ प्रतिशतले बैंकको खुद नाफा बढेको हो ।

यस वर्ष सञ्चालन नाफा ३४ दशमलव ४६ प्रतिशत बढेको छ । गत वर्ष १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ नाफा गरेको छ । बिहीवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा रू। ६८ करोड १३ लाख २० हजार छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम शून्य दशमलव ७१ प्रतिशत बढेर २ अर्ब ९४ करोड ७२ लाख २६ हजार कायम भएको छ । यस वर्ष शून्य दशमलव ५७ प्रतिशत बढी १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ११ दशमलव ६७ प्रतिशत बढी १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १ दशमलव ७१ प्रतिशत पुगेको छ । बैंकको यो अवधिसम्म प्रतिशेयर आम्दानी १७ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव ६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्