Logo

बैंकको ६ महिने प्रगति विवरण : ग्लोबल, एनआईसी र नविलको नाफा २ अर्बमाथि, प्राईम, हिमालयन, कृषि र एभरेष्टको यस्तो छ कमाई

बैंकको ६ महिने प्रगति विवरण : ग्लोबल, एनआईसी र नविलको नाफा २ अर्बमाथि, प्राईम, हिमालयन, कृषि र एभरेष्टको यस्तो छ कमाई



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुको खुद आम्दानी मिश्रित रहेको छ । कतिपय बैंकले गत आर्थिक बर्षको तुलनामा उल्लेख्य सुधार गरेका छन् भने धेरैजसो बैंकको नाफामा गिरावट आएको छ । आज वित्तीय विवरण प्रकाशित गरेका ७ ओटा वाणिज्य बैंकमध्यै ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी २ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।

ग्लोबल आईएमई बैंक

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईले चालू आबको पहिलो ६ महिनामा आफ्नो नाफामा ३७.३२ प्रतितले वृद्धि गरेको छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा कुल १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको सो बैंकले चालू आबको सोही अबधिमा आईपुग्दा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाउने सफल भएको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

बैंकले सो अबधिमा आफ्नो व्याज आम्दानीमा उल्लेख्य सुुधार गरेसँगै नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । साथै बैंकले आफ्नो प्रतिसेयर आम्दानीमा सुधार गर्दै २१ रुपैयाँ ४० पैसा पुर्र्याएको छ । जनता बैंकसँग मर्जर गरेको सो बकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ ।

एनआईसी एसिया बैंक

पछिल्लो समय आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको एनआईसी एसिया बैंकले चालू आबको पहिलो ६ महिनामा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत अबको सोही अबधिको तुलनामा सामान्य मात्रै बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

एनआईसीले पनि आफ्नो व्याज आम्दानीका वृद्धि गरेसँगै खुद नाफा बढाएको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा भने ७२ करोड ८१ लाख रुपैयाँ मात्रै रहेको छ । समीक्षा अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य गिरावट हो । सो अबधिमा बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रबाह १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

कुल ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकको खुदनाफा सामान्य बढेपनि लगानीकर्ताको आकर्षण रहको प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ रुपैयाँ ६१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा आईपुग्दा घटेर ३५ रुपैयाँ ७३ पैसामा खुम्चिएको छ ।

नविल बैंक

निजी क्षेत्रको अग्रपंक्तिमा रहँदै आएको नविल बैंकको चालू आबको पहिलो ६ महिनाको नाफामा सामान्य गिरावट आएको छ । बैंकले सो अबधिमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकि जुन गत आर्थिक वर्षको सोही अबधिमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । बैंकले सो अबधिमा निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढाएर २ खर्ब रुपैयाँ पुर्याउँदा कर्जा प्रबाह १ खर्ब ४८ अर्ब रुपैयाँबाट बढाएर १ खर्ब ७० अर्ब रुपैयाँ पुर्र्याएको छ । चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकले कर्जा परिचालन बढाएपनि सो अबधिमा खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा भने कमी आएको छ । बैंकले कोरोना अबधिमा पनि आफ्नो खराब कर्जा भने घटाएको छ । गत आर्थि बर्षको पहलो ६ महिनामामा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ०.७५ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा घटाएर ०.६० प्रतिशतमा झारेको छ । नाफा सामान्य गिरावट आएको सो बैकको प्रतिसेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ ।

प्राइम कमर्शियल बैंक

पछिल्लो समय कमाईको हिसावले निकै सुधार गर्दै आएको प्राईम कमर्शियल बैंकले चालू आबको पहिलो ६ महिनामा आफ्नो नाफामा ३९.४० प्रतिशतले सुधार गर्दै १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आबको सोही बैंकको खुदानाफा १ अर्ब ३० करोड रुपैयाँ मात्रै थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

तर बैंकको प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ । गत आबको पुस मसान्तसम्ममा २३ रुपैयाँ १५ पैसा रहेको बैंकको प्रति सेयर आम्दानी चालू अबको सोही अबधिमा आईपुग्दा घटेर २२ रुपैयाँ ५५ पैसामा झरेको छ । सो अबधिमा बैंकले १ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले आफ्नो खराब कर्जा पनि घटाएको छ । गत आबको पुस समान्तमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १.४५ प्रतिशत रहेकोमा चालू अबको सोही अबधिमा आईपुग्दा घटेर १.०८ प्रतिशतमा झरेको छ ।

हिमालयन बैंक

इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि अन्तिम तयारीमा रहेको हिमालयन बैंकको नाफामा उच्च गिरावट आएको छ । बैंकले चालू अबको पहिलोा ६ महिनामा ६५ करोड ३२ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आबको तुलनामा ६२.५० अर्थात १ अर्ब ९ करोड रुपैयाँले कमी हो ।

बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा कमी आउदा नाफामा उच्च गिरावट आएको हो । सो अबधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकको खराब कर्जा वृद्धि उच्च रहेको छ । गत आबको पुस मसान्तमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १.२८ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा बढेर २.१३ प्रतिशत पुगेको छ । सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी पनि उच्च गिरावट आएको छ । गत आबको पुस मसान्तमा ४० रुपैयाँ ९० पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ २३ पैसामा खुम्चिएको छ ।

कृषि विकास बैंक

चालू आबको पहिलो ६ महिनामा कृषि विकास बैंकको नाफामा पनि गिरावट आएको छ । सो अबधिमा बैंकको गत आबको सोही बधिमा भन्दा १६.४४ प्रतिशत कम अर्थात १ अर्ब ३२ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ । जबकि बैंकले गत आबको सोही अबधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा असर परेको छ । सो अवधिमा बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ ।

कुल १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ रहेको छ । नाफामा गिरावट आएको सो बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २५ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ९ पैसामा झरेको छ ।

सो अबधिसम्ममा बैंकले १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकले आफ्नो खराब कर्जा भने सामान्य घटाएको छ । गत आबको पुस मसान्तसम्ममा ३.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा चालू अबको अवधिमा आईपुग्दा ३.१४ प्रतिशतमा झरेको छ ।

एभरेष्ट बैंक

चालू आबको पहिलो ६ महिनामा एभरेष्ट बैंकको नाफामा पनि उच्च गिरावट आएको छ । सो अबधिमा बैंकको नाफामा ३०.२९ प्रतिशतले गिरावट आउँदै ९६ करोड १९ लाख रुपैंया मात्रै खुद नाफा कमाउन सफल भएको छ । जबकि बैंकले गत आवको सोही अवधीमा १ अर्ब ५० करोड रुपैंया खुद नाफा आर्जन गरेको थियो । सो अबधिमा बैंकको व्याज आम्दानीमा गिराव आउनुका साथै अन्य आम्दानी समेत घटेको छ । कुल ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

नाफामा उच्च गिरावट आएको बैंकको प्रतिसेयर आम्दानीमा पनि असर गरेको छ । गत आबको पुस मसान्तमा ३५ रुपैयाँ ४८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आबको सोही अबधिमा आईपुग्दा घटेर म२१ रुपैयाँ ५३ पैसामा झरेको छ । सो अबधिमा बैंकले १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ निक्षेप संकले गरेको छ भने १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यसैगरी बैंकको खराब कर्जा समेत समान्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL