Logo

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएको छ । बैंकले परिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम भएपनि खुद ब्याज र सञ्चालन मुनाफा भने बढाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेपछि बैंकको नाफा सामान्य घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको कर खर्च १३ करोड २४ लाख रुपैयाँ बढेपछि खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव २ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १७ दशमलव ९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि ४ करोड ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ रुपैयाँ ५७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २ सय ५३ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७ दशमलव १२ गुणा रहेको छ।

१२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ हुँदा जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब १० करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड रुपैयाँ थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्