Logo

सानिमा बैंकले कमायो १ अर्ब ६ करोड खुद नाफा, गत बर्षभन्दा ७.३८ प्रतिशत कम

सानिमा बैंकले कमायो १ अर्ब ६ करोड खुद नाफा, गत बर्षभन्दा ७.३८ प्रतिशत कम



काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफामा ७ दशमलव ३८ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै उक्त कुराको जानकारी दिएको हो ।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ७ दशमलव २८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड हुँदा जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ सञ्चित थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ दशमलव ७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११ दशमलव ८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL