Logo

सनराईज बैंकको नाफामा झिनो सुधार, दोस्रो त्रैमासमा कमायो ९४ करोड ९४ लाख

सनराईज बैंकको नाफामा झिनो सुधार, दोस्रो त्रैमासमा कमायो ९४ करोड ९४ लाख



काठमाडौं । सनराईज बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा आर्जन शुन्य दशमलव ५३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन खर्च बढेको छ । खराब कर्जा घटाएकाले सञ्चालन मुनाफा र खुद नाफामा झिनो सुधार देखिएको छ । बैंकको इम्पेरमेन्ट चार्ज रिभर्सबाट नाफामा सामान्य सुधार देखिएको हो।

बैंकको निक्षेप २ दशमलव ४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७ दशमलव ३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। जसको कर्जा निक्षेप अनुपात ७७ दशमलव १८ प्रतिशत छ । कर्जा सामान्य बढेपनि बैंक खराब कर्जा घटाउन भने सफल देखिएको छ । अघिल्लो पुससम्म १ दशमलव ६९ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ दशमलव ०६ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी नै ११ दशमलव ३१ प्रतिशत घटेको छ । बैंकले पुससम्म १ अर्ब ८१ करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी घट्दा बैंकको नाफा प्रभावित भएको हो ।

चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। बैंकको चुक्ता पूँजीसँगै शेयरधनीकोष र जगेडामा सामान्य वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL