काठमाडौं । नबिल बैंक, निजी क्षेत्रको प्रवर्द्धनमा सञ्चालित नेपालकै अग्रणी र पहिलो बैंक हो । बैंकले अन्य बैंकसँग प्रतिस्पर्धी बन्न तथा समयअनुसार ग्राहकलाई आवश्यक सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले विभिन्न सेवा प्रदायकसँग बैंकको डेबिट तथा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा छुट प्रदान गर्ने सहमति गरेको छ । बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डले विभिन्न १५ वटा सेवा प्रदायकसँग विल भुक्तानीमा विशेष छुट सम्झौता गरेको जनाएको छ ।
बैंकका डेबिट र क्रोडिट कार्ड होल्डर ग्राहकले विभिन्न अस्पताल, होटेल र रेस्टुरेन्टबाट सर्भिसको बिल भुक्तानी गर्दा १० देखि १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । बैंकका ग्राहकले क्यासलेस कारोबारमा प्रोत्साहन गर्दै देशभर रहेका ग्राहकलाई सहुलियत प्रदान गर्न बैंकले विभिन्न सेवा प्रदायकसँग सम्झौता गरी विशेष छुट दिने व्यवस्था गरेको बैंकको दायित्व व्यवस्थापन एवं सञ्चार विभाग प्रमुख कृष्ण सुवेदी बताउँछन् ।
बैंकको कार्डबाट भुक्तानी गर्ने ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै काठमाडौंकै बसुन्धरामा रहेको चिरायु इन्टरनेसनल अस्पतालको सेवामा २० प्रतिशतसम्म, काठमाडौंको कान्तिपुर डेन्टल हस्पिटलको सेवामा १५ प्रतिशतसम्म छुट सम्झौता गरेको जनाइएको छ ।
बैंकले न्युरो कार्डिओ एन्ड मल्टीस्पेसालिटी हस्पिटल विराटनगरसँग डेबिट तथा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्म, ओम हस्पिटल चाबहिल काठमाडौंमा १० प्रतिशतसम्म र टेस्ला डाइगोस्टिक क्लिनिक बालुवाटारमा पनि १५ प्रतिशतसम्म छुट पाउनेगरी सम्झौता गरेको छ ।
बैंकको कार्डमार्फत बिल भुक्तानी गर्दा ह्यात रिजेन्सी होटेलमा १५ प्रतिशतसम्म, स्विस इन्टरनेसनल होटेल पोखरामा १५ प्रतिशतसम्म, फेयरफिल्ड वाई मेरियट होटेल ठमेलमा १५ प्रतिशतसम्म, जुबल्यान्ट फुड रेस्टुरेन्ट गहनापोखरी काठमाडौंमा पनि १५ प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ ।
त्यस्तै आर एन्ड आर होटेल एन्ड रिसोर्ट झम्सीखेल ललितपुरमा १५ प्रतिशत, नारायणी बयोधा हस्पिटल वीरगन्जमा १० प्रतिशत, ल्यान्डमार्क होटेल, रिसोर्ट एन्ड स्पा काठमाडौं, चितवन र पोखरामा रुममा ३५ प्रतिशत र अन्य सेवामा १५ प्रतिशत, आरम्भ मल्टिनेसनल हाउसबीच भुक्तानी गर्दा २५ प्रतिशत र सिद्धार्थ बिजनेस ग्रुपले प्रदान गर्ने सेवाको बिल भुक्तानीमा विशेष छुट पाइने बैंकले जनाएको छ ।