काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायका लागि पुनर्कर्जा प्रदानका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले यस अघि पुनर्कर्जाका लागि आवेदन माग गरेकोको सोचेअनुरुप आवेदन नपरेपछि थप दोस्रो चरणका लागि आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायका लागि १ खर्ब ४८ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्ने उद्घोष गरेको थियो । तर पहिलो चरणमा आवेदन माग गर्दा ५० अर्ब ७ करोड रुपैयाँको मात्रै आवेदन परेकाले थप ९८ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न आवेदन माग गरिएको नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले जानकारी दिए ।
राष्ट्र बैंकले यस अघि पुनर्कर्जाका लागि आवेदन दिनेमध्ये ७० प्रतिशत साना तथा घरेलु उद्योग हुनुपर्ने सर्त राखेको थियो । तर त्यसरी आवेदन माग गर्दा पुनर्कर्जाका लागि आवेदन नै नपरेपछि यस पटक साना तथा घरेलु उद्योगको ७० प्रतिशतको सीमा समेत हटाइएको ढकालले जानकारी दिए । ‘अबका दिनमा कोभिडले असर पुर्याएको सुचीमा पर्ने जुनसुकै कम्पनीले पनि ५ करोड रपैयाँसम्मका लागि पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन्,’ उनले भने, ‘त्यसरी आएका आवदेनहरुमध्ये छानविन गरी राष्ट्र बैंकले करिब १ खर्ब रुपैयाँको पुनर्कर्जा प्रदान गर्ने छ ।’
राष्ट्र बैंकले यस अघि पुनर्कर्जा कार्यविधी २०७७ जारी गर्दै कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसायलाई ३ भागमा वर्गीकरण गरेको छ । बैंकले कोरोनाबाट अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावितमा गर्वीकरण गरेको थियो । जसमध्ये हाल अति प्रभावित र मध्यम प्रभावित उद्योग तथा व्यवसायका लागि पुनर्कर्जा प्रदान गर्न आवेदन माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकको आवेदन अनुसार कोरोनबाट अति र मध्यम प्रभावित यी उद्योग तथा व्यवसायले पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन् ।