काठमाडौं । निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज तयारी र एनआईसी एसियाको प्रतिस्पर्धाको सामना गरिरहेको निजीक्षेत्रको सबैभन्दा ठूलो बैंक नबिलले आक्रामकरुपमा कारोबार विस्तारका लागि मर्ज पार्टनर खोज्न थालेको छ ।
पोर्टफोलियोको आकारमा अन्य बैंकहरुले उछिन्न थालेपछि रन्थनिएको नबिलले आकारलाई ठूलो बनाएर मात्र प्रतिफल लिन सकिने परिदृश्य देखिएपछि ठूलो पोर्टफोलियोका बैंकलाई राम्रै स्वाप रेसियो दिएर भएपनि लिन खोजेको चर्चा हुन थालेको छ । पोर्टफोलियोको आकारका हिसावले नबिलको प्राथमिकतामा प्राइम, सिद्धार्थ र प्रभू बैंक पहिलो रोजाईमा रहेको सञ्चालक समितिमा भएको चर्चालाई आधार मानेर स्रोतले बतायो । सो स्रोतका अनुसार पहिला विकास बैंक मात्र लिएर पुग्ने अनुमान गरिएको थियो । तर अव सञ्जाल भन्दा पनि पोर्टफोलियो नै ठूलो भएपछि मात्र प्रतिस्पर्धामा उत्रन सहज हुनेछ भन्ने निष्कर्ष रहेको छ ।
त्यसका लागि पहिला गरिमा र कामना सेवा जस्ता विकास बैंकलाई लिने चर्चा चलेको थियो । तर अव नबिल बजारको तीब्र प्रतिस्पर्धालाई देखेपछि एक कदम अगाडि बढेर विभिन्न स्रोतमार्फत मर्जरको कुरा गर्न थालेको छ । अर्कोतिर गाउँ गाउँ पुगेको एनआईसीले खासगरी विकास बैंकहरुको कर्जा धेरै स्वाप गरिसकेको छ भने अव वाणिज्य बैंकहरुमा आँखा लगाउन थालेको र विशेषगरी बेसरेट घटाएर नबिलसँगै प्रतिस्पर्धा गर्न एनआईसी तयार भएपछि राष्ट्रबैंकको दबाब भन्दा पनि बजारमा हैसियत स्थापित गर्न मर्जरको लागि यो बैंक अग्रसर हुन थालेको हो ।
प्राइम बैंकमा नेवार समुदायको बाहुल्य रहेको र आफ्नै रणनीतिमा अगाडि बढिरहेकोले नबिलको उक्त बैंकसँगको मर्जर संभावना न्यून छ । त्यसैगरी थकाली समूहको बाहुल्य रहेको र आईएमई समूहसँग व्यापारिक प्रतिस्पर्धा रहेकोले प्रभूसँग पनि मिलाप संभावना न्यून रहेको देखिन्छ । यसका साथै ग्लोबल बैंकले जनतालाई लिएपछि व्यापार विस्तारमा एनआईसीपछि आक्रामक देखिएको प्रभू बैंकले आफ्नो छुट्टै रणनीति बनाएको देखिन्छ ।
यो बैंक आफ्नो अस्तित्व समाप्त गरेर भन्दा पनि जोगाएर अगाडि बढ्ने र अन्य बैंकलाई एक्वायर गर्ने रणनीतिमा छ । अव अर्को विकल्प भनेको आकारमा पनि ठूलो र मारवाडी समुदायको सहभागिता भएकोले सिद्धार्थ बैंकसँग नबिलको मिलाप संभावना बलियो देखिन्छ । त्यसैले यस बैंकसँग नबिलको वार्ता घनिभूतरुपमा अगाडि बढ्न थालेको छ । केही सञ्चार माध्यममा यसको समाचार चुहिएको छ । सिद्धार्थ बैंकले बढी स्वाप अनुपात र सञ्चालक समितिमा प्रतिनिधित्व पनि मागेको बताइएको छ । सिद्धार्थ बैंकसँग मिलेर खर्च कटौतीसमेत गर्ने हो भने मर्जपछिको यस बैंकलाई अरु कसैले भेटाउन कठिन हुनेछ । मुलुकको राजनीतिक र आर्थिक वातावरण अनुकूल नभएमा एनआईसी थला पर्न सक्छ भन्ने धेरैको विश्लेषण रहेको छ ।
यसैबीच नबिलले मर्ज गर्ने इच्छा देखाएपछि एनबी, एनसीसी, सिभिल र सेन्चुरीको तर्फबाट पनि कुरा चलाइएको थियो । तर चौधरीले एनबी ग्रुपको एककित्ता पनि सेयर भएको बैंकसँग मर्ज नगर्ने भनेपछि एनसीसीले भने प्रभू बैंकसँग कुरा अगाडि बढाएको थियो । अहिले राष्ट्रबैंकमा कुरा भएको भन्ने केही सञ्चारमाध्यममार्फत हल्ला मच्चाइएको छ । तर राष्ट्रबैंकले त्यस्तो नभनेको जनाएको छ । समाचार सूत्रहरुका अनुसार एनसीसी बैंकमा बलियो पक्कड भएका निर्मल प्रधानका नातेदार समेत रहेका प्रभू बैंकका अध्यक्ष देबी भट्टचनसँग धेरैपटक कुरा गरेका छन् । प्रधानले प्रभुसँग स्वापको ५ अंक मात्रमा कुरा नमिलेको नजिकका सेयरधनीहरुसँग बताउँदै आएका छन् । प्रभूले ८५ दिएको र एनसीसीले ९० मागेको बताइएको छ ।
ठूलो आकारका बैंकलाई लिने हो भने नबिलले गत बर्षको नाफाबाट पूरै बोनस सेयर दिनेछ भन्ने अनुमान गरिएको थियो र यस अनुरुप सो बैंकले पूरै बोनस सेयर दिने निर्णय पनि गरिसकेको छ । यसले स्वाप अनुपातमा नबिललाई बढी फाइदा हुनेछ । उपयुक्त साझेदार बैंक खोज्न थालेको हो ।
बैंकलाई आक्रामकरुपमा अगाडि बढाउनका लागि नबिल बैंकले पहिला नै व्यवस्थापनमा जुझारु व्यक्तिलाई समेटिसकेको छ ।
अव सञ्चालक समितिले ठोस निर्णय गरेमा यस बैंकले फेरि एक नम्बरको पुरानो ताज फिर्ता लिनेछ । एनआईसीले प्रतिस्पर्धामा चुनौती दिन थालेपछि पुरानो हैसियत प्राप्त गर्न इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जमा जाने पक्कापक्की भैसकेको छ र डीडीएसमेत सकिन लागेको छ । पछि अप्ठ्यारो नहोस भन मर्जका लागि स्वाप अनुपात, कार्यकारी प्रमुख र सञ्चालक समिति व्यवस्थापन र कर्मचारी व्यवस्थापन सबै पहिला नै मिलाएर यी दुई बैंक अगाडि बढिसकेका छन् ।
कारोबार विस्तारमा एनआईसीले सबै बैंकलाई उछिनिसकेको र हिमालयन र इन्भेष्टमेन्ट बैंक पनि मिल्ने भएपछि अव नबिल पार्टनर खोज्न बाध्य भएको हो । सबैभन्दा ठूलो आकर्षण भने व्यापार विस्तार र नाफाको हो । ब्याजदरको स्प्रेड सम्बन्धी नियम मर्ज भएका बैंकलाई नलाग्ने भएकोले ठूलो नाफाको दृश्य अहिले नै देख्न सकिन्छ जसले बैंक मर्जरलाई प्रोत्साहित गरेको छ । पोर्टफोलियो ठूलो हुने र ठूलो पोर्टफोलियोमा स्प्रेडको सुविधा लिन पाउँदा मुनाफा धेरै नै हुनसक्ने परिदृश्य देखिन्छ ।
मर्जको अझ ठूलो र महत्वपूर्ण फाइदा शाखा सञ्जाल हो र त्यो पनि मजबूत हुने भनेको सिद्धार्थसँग नै भएकोले यी बैंकबीच मर्जर हुने अनुमान गर्न सकिन्छ ।
यी दुबै बैंकको मर्जपछि प्रतिस्पर्धाको वातावरण अझ फरक स्वरुपको हुनेछ । पुँजीकोष मजबूत भएका बैंकहरु टिक्न सक्ने तर साना बैंकहरुलाई कठिन हुन सक्ने निश्चित छ । एक नम्बरको ताज खोसिएपछि यस बैंकलाई पनि आक्रमकरुपमा अगाडि बढ्न र विशेषगरी राष्ट्रबैंकको बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न दबाब बढ्न थालिसकेको छ ।
यी दुई बैंक मर्ज भएमा निक्षेप ३ खर्ब ६० अर्ब तथा कर्जा ३ खर्ब ६ अर्ब र चुक्ता पुँजी करिव २५ अर्ब हुनेछ ।