Logo

मोबाईल बैंकिङको गलत प्रयोग : रजिष्टर नभएको खातामा किन ट्रान्सफर हुन्छ पैसा ?, अन्यौलमा नियामक

मोबाईल बैंकिङको गलत प्रयोग : रजिष्टर नभएको खातामा किन ट्रान्सफर हुन्छ पैसा ?, अन्यौलमा नियामक



काठमाडौं । केहिदिनअघि काठमाडौं, टोखा निवासी धिरेन्द्र संज्यालले आफन्तको खातामा पैसा पठाउन मोबाईल बैंकिङ सेवाको प्रयोग गरे । टाढाको बाटो बैंकसम्म जान ढिलो भएकाले उनले आफ्नै मोबाईलमा रहेको एभरेष्ट बैंकको मोबाईल बैंकिङ एपबाट सानिमा बैंकको खातामा ५० हजार रुपैयाँ पठाउन लागे । ५० हजार रुपैयाँ पठाउने बेलामा न उनले एकचोटी क्रस भेरीफाई न न मोबाईलमा रहेको एभरेष्ट बैंकको एपले गर्न दियो । सामान्यतया पैसा पाउने व्यक्ति वा संस्थाको खाता नम्बर र नाम नमिलेमा मोबाईल बैैंकिङ एपले नै करेक्सन गर्ने भएकाले उनले आफुले क्रस चेक नगरेको बताउँछन् ।

तर पछि बुझ्दा उनले पठाएको पैसा पुग्ने ठाउँमा नपुगी अन्तै पुगेछ । त्यसपश्चात उनले सानिमा बैंकमा पुगेर आफुले पैसा पठाएको खाता नम्बर देखाए । तर बैंकका कर्मचारीले उनलाई उक्त खाता नम्बर बैंकमा रजिष्टरनै नभएको बताए । यता एभरेष्ट बैंकमा पनि उनले बुझे तर त्यहाँ भने कर्मचारीहरुले खाता नम्बरमा गएको भने केही समयको लागि खाता रोक्का गराई पैसा उपलब्ध गराउने आश्वासन दिए । सोहीअनुसार कर्मचारीले उनलाई एक निवेदन पनि बैंकमा छोड्न आदेश दिए । उनले कर्मचारीहरुले भनेझै निवेदन बैंकलाई बुझाए । उनको हालसम्म उक्त पैसा कहाँ गएको अत्तोपत्तो छैन ।

यस्तो घटना घटेपछि उनले हाल मोबाईल बैंकिङ प्रयोगमा अली सावधानी अपनाउने र सकेसम्म बैंकसम्मै पुग्ने बानी पुनः विकास गर्न लागेका छन् । यस्तो समस्याको प्रतिनिधिपात्रै उनी भएपनि एभरेष्ट बैंकको मोबाईल बैंकिङ एप प्रयोगकर्ताहरुले धेरैभन्दा धेरै गुनासो गर्ने गरेका छन् । कहिले अपडेट भएपछि राम्रोसँग काम नगर्ने, कहिले स्लो हुने, भाईरस भरिएको एपलगायतका गुनासोहरु बैंकको केन्द्रिय कार्यालयमा समेत आउने गरेका छन् ।

नेपाललाई डिजिटल प्रविधिमा विकास गर्न सरकार र निजी क्षेत्रका विभिन्न निकायहरु लागिरहेको अवस्था यस्ता कुरामा ध्यान नदिँदा पुनः पुरानै लयमा सेवाग्राही फर्किने सम्भावनासमेत बढ्दो छ । मोबाईल बैंकिङ सेवा प्रयोग गर्दा उक्त एप्सले भेरिफाई गर्छ भन्ने सेवाग्राहीले सोचेका हुन्छन् । अर्थात त्यही खाता नम्बरको मालिकको नामसँग मिलेमात्रै पैसा जानेहोला भन्ने सोच सेवाग्राहीको हुन्छ । तर मोबाईल बैंकिङ सेवामा यस्ता कुरामा ध्यान दिएको देखिँदैन । जसले गर्दा मोबाईल बैंकिङ प्रयोगकर्ताको ठूलो आर्थिक क्षति हुने सम्भावना उच्च रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

गलत खाता नम्बर अर्थात रजिष्टर नै नभएको खातामा गएको पैसा पेन्डीङमा हुने र निकाल्न पनि सहज हुने बताउँछन् एभरेष्ट बैंकका कर्मचारीहरु । तर रजिष्टर नै नभएको खातामा पैसा भने कसरी जान्छ भन्ने पत्तो नभएको बताउँछन् नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल । उनले एउटा बैंक खाताबाट अर्को बैंक खातामा मात्रै पैसा ट्रान्सफर हुने बताए । तर रजिष्टर नै नभएको खातामा पैसा जानुमा बैंकहरु नै जिम्मेवार हुनुपर्ने उनको भनाई छ । ‘खाताबाट खातामा मात्रै पैसा जाने हो नत्र कसरी ट्रान्सफर हुन्छ ?,’ उनले भने, ‘खाता नै नभएको खातामा पैसा जानुमा बैंकहरुकै कमजोरी मान्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL