Logo

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जसँगै हेर्नलायकको परिदृश्य, अन्य बैंकलाई पनि मर्जका लागि दबाब बढ्यो

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जसँगै हेर्नलायकको परिदृश्य, अन्य बैंकलाई पनि मर्जका लागि दबाब बढ्यो



काठमाडौं । निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जसँगै बैंकिङ बजारमा हेर्नलायकको परिदृश्य देखिनेछ । बैंक अफ एसिया र एनआईसी बैंक मिलेपछि अहिले उक्त बैंक निकै आक्रामकरुपमा बजार विस्तारमा लागेको छ र यसको पेलानले यसपटक भने आफ्नो पुरानो हैसियत प्राप्त गर्न इन्भेष्टमेन्ट र हिमालयन बैंक निकै गम्भीरतापूर्वक अगाडि बढ्न प्रोत्साहित गरेको छ । मर्जका लागि स्वाप अनुपात, कार्यकारी प्रमुख र सञ्चालक समिति व्यवस्थापन र कर्मचारी व्यवस्थापन मुख्य समस्याको रुपमा आउनेछन् । त्यसैले सबै कुरा पहिलै नै मिलाउन भित्रभित्रै यी बैंकले सहमति पैदा गरिसकेको बताइएको छ । आफ्नो हातभन्दा बाहिरको कुरा डीडीए हो । सम्पत्ति र दायित्वको विस्तृत लेखा परीक्षण डीडीए गरी काम सम्पन्न गर्न लागेको समाचार सूत्रहरुले दाबी गरेका छन् ।

यदि त्यसो हो भने दुई महिनाभित्रमा मर्जको काम सम्पन्न भैसक्नेछ । किनकि सञ्चालक, कार्यकारी प्रमुख र नायव कार्यकारी प्रमुखको व्यवस्थापन मोडालिटी तयार भैसकेको बताइएको छ । बाँकी कर्मचारी बराबारी हैसियतमा व्यवस्थापन भैसक्नेछन् । सेयर स्वापको १ः१ हैसियत सहमति भैसकेको र डीडीए त्यसलाई बैधता दिन मात्र गरिने भएकोले यसका लागि लामो समय लाग्ने देखिदैन । यसपटक मुख्यकुराका बूँदाहरुमा लिखित प्रतिबद्धता आदान प्रदान भैसकेकोले यसपटक भने यिनीहरुको मिलन संभव देखिन्छ ।

मर्जका बाध्यता

हिमालयन र इन्भेष्टमेन्टको आपसी मिलन नेपालकै सबैभन्दा ठूलो मेगा मर्जको रुपमा दरिनेछ । एकीकृत भै बन्ने बैंक पनि नेपालकै सबैभन्दा ठूलो हुनेछ । केही बर्षअघिसम्म यी दुई बैंक नेपालका ठूला बैंकमध्येमा पर्थे । तर प्रतिस्पर्धाको विस्तारसँगै अन्य कतिपय बैंकहरुले उछिनिसकेकोले दुई बैंकलाई मर्ज हुन बाध्यकारी स्थिति सिर्जना भएको छ ।

बाध्यता १

कारोबार विस्तारमा एनआईसीले सबै बैंकलाई उछिनिसकेको छ । कोभिडले प्रतिकूल असर पारेकोले यस बैंकको भोलिको भविष्यबारे धेरैलाई शंका छ । कारोबार यसरी विस्तार नगरेमा वार्षिक ६ अर्बको खर्च धान्न एनआईसीलाई निकै कठिन हुनेछ । एनआईसीको तुलनामा यी दुवै बैंकको खर्च आधा छ । मर्जपछि खर्च उल्लेख्य मात्रामा घटाउने अवसर पनि मिल्नेछ ।

बाध्यता २

राष्ट्रबैंकले यी दुबै बैंकलाई मर्जका लागि लामो समयदेखि दबाब दिदै आएको छ । यी दुबै बैंकलाई मौका पाएको अवस्थामा उसले नियमनका धेरै छेकबार लगाउँदै आएको छ । त्यस्तो छेकबारमा सञ्चालक समितिको संरचना, कार्यकारी प्रमुख, ब्यालेन्स सिट स्वीकृति नियन्त्रण आदि रहेका छन ।

बाध्यता ३

सबैभन्दा ठूलो आकर्षण भने व्यापार विस्तार र नाफाको हो । ब्याजदरको स्प्रेड सम्बन्धी नियम मर्ज भएका बैंकलाई नलाग्ने भएकोले ठूलो नाफाको दृश्य अहिले नै देख्न सकिन्छ जसले यी दुई बैंकको मिलनलाई प्रोत्साहित गरेको छ । पोर्टफोलियो ठूलो त भैहाल्नेछ । त्यसमाथि पनि ठूलो पोर्टफोलियोमा स्प्रेडको सुविधा लिन पाउँदा मुनाफा धेरै नै हुनसक्ने परिदृश्य देखिन्छ ।

बाध्यता ४

खर्च घट्ने र स्प्रेडका कारण नाफा बढ्ने हुँदा सेयरधनीले पाउने प्रतिफलमा चमत्कारिक नतिजा देखिन संभव छ । कस्ट अफ फण्ड र बेसरेट अझ घट्ने भएकोले एनआईसी र नबिल बैंकले उनीहरुको कर्जा तान्न सक्ने छैनन् । मर्जको अझ ठूलो र महत्वपूर्ण फाइदा यो पनि हो । शाखा संख्या कम तर मुख्य व्यापारिक शहरमा केन्द्रित भएकोले सञ्जालको फाइदा पनि हुनेछ ।

प्रतिस्पर्धाको फरक स्वरुप

यी दुबै बैंकको मर्जपछि प्रतिस्पर्धाको वातावरण अझ फरक स्वरुपको हुनेछ । पुँजीकोष मजबूत भएका बैंकहरु टिक्न सक्ने तर साना बैंकहरुलाई कठिन हुन सक्ने निश्चित छ । राष्ट्रबैंकको आँखा यसपछिको मर्जका लागि नबिल बैंकतर्फ हुनेछ । लगानीकर्ताको विवरण मागेर राष्ट्रबैंकले नबिललाई अर्को एक बैंकसँग मर्ज गर्न दबाब दिइरहेको छ । एक नम्बरको ताज खोसिएपछि यस बैंकलाई पनि आक्रमकरुपमा अगाडि बढ्न र विशेषगरी राष्ट्रबैंकको बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न दबाब बढ्न थालिसकेको छ । ठूला बैंकहरु मिल्दा साना बैंकहरुलाई पनि मर्जका लागि दबाब सिर्जना हुनेछ । यसले समग्रमा बैंकको संख्या घटाउन ठोस सहयोग पुग्नेछ ।

मर्जपछि सबैभन्दा ठूलो बैंक

मर्जपछि यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । गत असारसम्मको तथ्यांक अनुसार चुक्ता पुँजी करिव २३ अर्बसहित कुल पुँजीकोष झण्डै ४६ अर्बको हुनेछ । निक्षेप ३ खर्ब र कर्जा लगानी करिव २५० अर्ब हुनेछ । पछिल्लो समय दुवै संस्थाले निक्षेप संकलन र कर्जा लगानी बढाएका छन् । विशेषगरी इन्भेष्टमेन्ट बैंकले अझ बढी दरमा बढाएको छ । मुख्य व्यापारिक स्थलहरुमा शाखा सञ्जाल १५० भन्दा बढी पुग्नेछ । बैंक मर्जपछि हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर बेलायतको एक बैंकलाई बिक्री गरी बाह्य संयुक्त लगानीको बैंकको रुपमा स्थापित गरिने जनाइएको छ । उक्त सेयरलाई सञ्चयकोषले पनि खरिद गर्ने इच्छा प्रकट गरेको जनाइएको छ । हिमालयन बैंकको २० प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ३० सेयर पब्लिकमा रहेको छ ।

अन्य बैंकलाई पनि मर्जका लागि दबाब

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्ज भएपछि विशेषगरी राष्ट्रबैंकको बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न अन्य बैंकहरुलाई दबाब बढ्नेछ । नबिल बैंकले साझेदार बैंक खोज्नुपर्नेछ । एनआईसी एसियाले पनि मर्जका लागि उपयुक्त साझेदार खोज्नुपर्नेछ । कोभिडको प्रभाव नभएको भए केन्द्रीय बैंकले हालसम्ममा ६ वटा सम्म बैंक मर्ज गराइसक्ने थियो । बजारमा तीब्ररुपमा अस्वस्थ प्रतिस्पर्धा भै साना बैंकहरुलाई अहिले नै टिक्न धौ धौ परिरहेको छ । खासमा साना केही बैंकहरु विकास बैंकको मोडलमा काम गरिरहेका छन् । यसले समग्रमा बैंकको संख्या घटाउन ठोस सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL