Logo

महालक्ष्मी विकास बैंकले सुरु गर्याे ‘कर्पाेरेट पे’ प्रणाली, नेपाल क्लियरिङ हाउससँग सम्झौता

महालक्ष्मी विकास बैंकले सुरु गर्याे ‘कर्पाेरेट पे’ प्रणाली, नेपाल क्लियरिङ हाउससँग सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बिहिबार सम्झौता गरेको छ । बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा नेपाल क्लिरिङ हाउसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

‘कर्पोरेट पे’मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् ।

उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लायर अथोन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंक्ले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्