Logo

नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबिच ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रममा सहकार्य सम्झौता

नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबिच ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रममा सहकार्य सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेड र भक्तपुरको चाँगुनारायण नगरपालिकाबिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ।

नगरपालिकाले संचालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार रुपैयाँ जम्मा गर्दै जाने व्यवस्था मिलाईनेछ ।

सम्झौता बमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा उच्चतम ब्याजदर, बैंकमा खोलिएको खातामा रकम जम्मागर्ने–झिक्ने लगायतका अन्तरबैंक सेवामा कुनैपनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

यस्तै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा नगरपालिकाको तर्फबाट नगर प्रमुख सोमप्रसाद मिश्रले हस्ताक्षर गरेका हुन्। बैंकले १८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्