Logo

पहुँचवालाहरु आधार ब्याजदरभन्दा कममा ऋण लिदैं, बैंकहरुबीच बढ्यो अस्वस्थ प्रतिस्पर्धा

पहुँचवालाहरु आधार ब्याजदरभन्दा कममा ऋण लिदैं, बैंकहरुबीच बढ्यो अस्वस्थ प्रतिस्पर्धा



काठमाडौं । निर्देशित कर्जाको लक्ष्य पूरा गर्न बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । निर्देशित कर्जा ४० प्रतिशत पुर्याउनुपर्ने राष्ट्र बैंकको दबाबपछि बैंकहरु दबाबमा आएका छन् । नयाँ कर्जा प्रवाह हुन नसक्ने र लक्ष्य पूरा गर्न अर्काको बनिबनाउ कर्जा खोस्न उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा शुरु भएको हो । कर्जा खोसाखोसले हल्लीखल्ली भएपछि हालै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखहरुलाई टेली वैठक राखी यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंक प्रतिक्रियात्मक मात्र हुँदा पनि यस्तो प्रवृत्ति मौलाउँदै गएको हो । दैनिकजसो नै सूचनाहरु राष्ट्र बैंकसमक्ष जाने व्यवस्था रहेको छ । साउनको पहिलो र दोस्रो हप्तामात्र एक बैंकले १३ अर्ब कर्जा प्रवाह गर्याे र अर्काको कर्जा खोसेर नै यति ठूलो परिमाणमा कर्जा प्रवाह हुन सकेको थियो । त्यतिमात्र होइन, कर्जा खोसाखोसको प्रवृत्ति बढेपछि प्रतिस्पर्धामा कमजोर प्रदर्शन गरिरहेको पुछारमा रहेको एक बैंकले पनि यसरी नै अर्काको कर्जा खोस्यो । यो दौडमा ब्याजदर घटाइदिने मात्र होइन, बढी कर्जा रकम दिएको पनि देखियो । एउटा बैंकले दिएको कर्जामा कुनै तात्विक फरक नआइकन अर्को बैंकले बढी कर्जा रकम दिएर कर्जा खोस्दा पनि विगतदेखि नै राष्ट्र बैंक मुकदर्शक नै रहँदै आएको छ । विशेषगरी डा चिरिञ्जीवी नेपालका पालामा मौलाएको यस्तो प्रवृत्ति अहिले पनि निर्वाध अगाडि बढिरहेको देखिन्छ ।

कोरोना पछिको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएसँगै बैंकहरुबीच कर्जा प्रबाहमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको हो । बैंक तथा वित्तीय संस्थाहरु अहिले तलरता (लगानी योग्य पूँजी) उच्च भएसँगै आधारदरभन्दा न्यून ब्याजमा कर्जा प्रबाह गर्र्दै पुरानो कर्जा खोस्नका लागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् ।

बैंकमा तरलता कम भएसँगै साप्ताहिक रुपमा ब्याजदर बढाउँदै आएका बैंकहरुले हाल ऋणीहरुलाई सीमित समयको लागि प्रलोभनमा पारेर कर्जा खोस्ने काममा अस्वस्थ्य प्रतिस्पर्धा गर्न थालेको सम्बद्ध बैंकरहरु नै बताउँछन् । केही बैंकहरुका यति कडा शर्तहरु रहेका छन् ती शर्तहरुलाई जुनसुकै मै हुँ भन्ने ऋणीले पनि केही दिन केही रकम डिफल्ट गर्न सक्छ । त्यही बाहनामा बैंकले थप ३ प्रतिशत ब्याज बढाइदिन्छ । त्यस्ता बैंकले ३ प्रतिशत सम्म सेवा शुल्क लिँदा पनि राष्ट्र बैंक मुकदर्शक बनेर बस्दा यस्तो प्रवृत्ति मौलाएको हो । अहिले बैंकहरु निश्चित पहुँचवाला समुहका लागि आधारदरभन्दा कम ब्याजमा कर्जा प्रवाह गरिरहेका छन् । ती बैंकर भन्छन्, आधारदरभन्दा तल कसरी कर्जा प्रवाह भयो भन्ने बारेमा केन्द्रीय बैंकले निगरानी गर्नु पर्दैन । केही बैंकलाई जे गर्न पनि छुट दिने केही बैंकलाई मात्र कानून लगाउने ?

हाल नेपाल राष्ट्र बैंकले सहुलियत पूर्ण कर्जा अन्तरगत ब्याज अनुदानमा उद्यमीहरुलाई ५/६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । तर, सो भन्दा पनि कम ब्याजमा साधारण कर्जा प्रदान गर्न थालेका छन् । पछिल्लो समय बैंकबाट एउटा प्रयोजनका लागि सस्तो ब्याजदरमा पैसा लिने तर त्यसरी लिइएको रकम अर्के प्रयोजनमा प्रयोग गरी दुरुपयोग गर्ने क्रम समेत बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

हाल सीमित पहुँचवालाहरुले संकटको समयलाई बैंकबाट मिलेमतोमा सस्तो ब्याजदरमा कर्जा लिएर त्यसलाई अबसरको रुपमा प्रयोग गर्न थालेका छन् । ‘अहिले त्यस्ता व्यक्तिहरुले एउटा प्रयोजनका लागि कर्जा लिएर संकटमा परेको व्यक्तिहरुसँग बार्गेनिङ गर्दै सस्तोमा घरजग्गा उठाउन थालेका छन्,’ एक बैंकका उच्च अधिकारीले भने, ‘जुन नियम विपरित छ यसले स्रोत र साधनको होल्डिङ सिमित बर्गको कब्जामा पुग्नेछ ।’ यदि राष्ट्र बैंकले समयमै नियमन गर्ने हो भने समग्र बैंकिङ क्षेत्रमै चुनौती थपिने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । विशेषगरी जग्गाको कित्ताकाट खुकुलो बनाइएपछि यस्तो प्रवृत्ति बढ्न थालेको बताइन्छ ।

केही समय अघि बैंकहरुबीच कर्जा तान्ने वा अस्वस्थ्य प्रतिस्पर्धा बढी भएको तर अहिले केही कमि आएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘विशेषगरी बैंकहरुबीच टार्गेट पुरा गर्न प्राथमिकता प्राप्त क्षेत्र तथा विपन्न बर्ग कर्जा र घ बर्गका लघुवित्तलाई प्रदान गरिने कर्जा तानातान भएको थियो,’ उनले भने ।

साथै फ्रि फल अनुसार ग्राहकहरु आफुले चाहेको बैंकमा जान सक्ने र पछिल्लो समय राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकमा कर्जा सार्दा ग्राहकले तिर्ने शुल्कलाई घटाएर ०.१५ प्रतिशतमा झारिदिँदा पनि यस्तो क्रम बढेको उनको तर्क थियो । ‘पहिला कुनै ग्राहकले कर्जा सार्न खोजेमा बैंकहरुले अग्रीम भुक्तानी शुल्क वापत २ प्रतिशतसम्म शुल्क लिँदै अएका थिए जसले गर्दा बैंकहरुबीच कर्जा खोसाखोस वा ग्राहकहरुले कर्जा सार्ने क्रम कम थियो,’ उनले भने, ‘बैंक नै पिच्छे आधार दर ठूलो मात्रामा घटवढ रहेको र कर्जा सार्दा लाग्ने सेवाशुल्क पनि एकदमै न्यून भएकाले ग्राहकहरु जहाँ सस्तो हुन्छ त्यहि जाने क्रम बढेको छ ।’

अहिलेको अवस्थामा एलिट बर्गले बार्गेनिङ गरेर आधारदरभन्दा सस्तो ब्याजदरमा बैैकबाट कर्जा लिएर घरजग्गा जोड्नु वा सम्पत्ति माथिको अधिकार जमाउनु समग्र अर्थतन्त्रका लागि राम्रो नहुने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताए । ‘सस्तो ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय संचालन गर्नु राम्रो हो जसले रोजगारी प्रदान गर्नुका सार्थ समग्र अर्थतन्त्र उकास्न सहयोग पुर्याउँछ’ उनले भने, ‘तर अहिले बजारमा आएको हल्ला जसरी कुनै एलिट बर्गले बैंकसँग बार्गेनिङ गरेर आधारदरभन्दा सस्तोमा कर्जा लिएर घरजग्गा जोड्नुका साथै राज्यको सम्पत्ति हत्याउन खोजिरहेका छन् त्यसले आगामी दिनमा धनी र गरिवबीचको खाडल झनै बढेर जाने छ ।’ तसर्थ भोलिका दिनमा बैकिङ क्षेत्रमा समस्या निम्तिन नदिर बैंकिङ क्षेत्रमा हुने कानुन विपरितका क्रियाकलाप रोक्न निकायले निकायले बेलैमा सोच्नु पर्ने उनको भनाई थियो ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई बैंकिङ नर्मसभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । धान्न नसकिने सस्तो ब्याजदरमा कर्जा प्रबाह गर्दा कर्जाको दुरुपायोग हुनसक्ने र यस्तो अस्वस्थ प्रतिस्पर्धाले दीर्घकालमा असर पार्ने भन्दै उनले त्यसो नगर्न निर्देशन दिएका थिए ।

यसैगरी नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले पनि केही गुनासाहरु आएको र त्यसमा अनुगमन तथा नियमन कार्यलाई जारी राखिएको बताए । ‘यदि कुनै ग्राहकले एउटा कामका लागि भनेर कर्जा लिएर अन्यत्रै लगाउँछ भने त्यसको अनुगमन गर्ने जिम्मा सम्बन्धित बैंकहरुकै हो,’ उनले भने, ‘त्यसरी प्रदान भएको कर्जा कहाँ लगानी भैरहेको छ ट्रयाकिङ गर्न पनि सकिन्छ, यदि बैंकहरुले आफुले दिएको कर्जा कहाँ लगानी भैरहेको छ भनेर नियमन नगरेमा त्यस्ता बैंकलाई शतप्रतिशत प्रोभिजन गर्न लगाएर कारबाहीको दायरामा ल्याउने छौं ।’

साथै विपन्न बर्ग र घ बर्गका वित्तीय संस्थालाई प्रदान गरिने बाहेक अन्य कर्जा आधारदरभन्दा कम ब्याजदरमा प्रदान गर्न नपाईने राष्ट्र बैंकको स्पष्ट व्यवस्था भएको भन्दै यदि कुनै बैंकले तत्कालका लागि कर्जा तान्न त्यसो गरेको भएमा कारबाहीको दायरामा ल्याइने समेत उनले जानकारी दिए । ‘पहिला पनि एक बैंकको कर्जा अर्कोले तान्ने वा ग्राहकहरु जुन बैंकमा सहज र सस्तो व्याजदरमा ऋण पाउँछन् सोही बैंकमा जाने क्रम पहिला देखि नै थियो,’ उनले भने, ‘तर अहिले कोरोना कारण उद्योग व्यवसाय ठप्प भएर कर्जाको मागमा गिरावट आउँदा केही प्रतिस्पर्धा बढेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL