Logo

नेपाल राष्ट्र बैंकको निर्देशन : एटीएममा पर्याप्त नगद राख्नु, न्युनतम संख्यामा शाखा खोल्नु

नेपाल राष्ट्र बैंकको निर्देशन : एटीएममा पर्याप्त नगद राख्नु, न्युनतम संख्यामा शाखा खोल्नु



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

पछिल्लो समय नेपालभर महामारीका संक्रमितहरुको संख्या बढिरहेका कारण आजैदेखि लागु हुने निशेधाज्ञाका कारण यस्तो निर्देशन दिएको हो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि काठमाडौंका स्थानीय प्रशासनले आज रातीबाट निषेधाज्ञा जारी गरेको सन्दर्भमा केन्द्रीय बैंकले पनि सकभर विद्युतीय माध्यमबाट कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

यस्तै राष्ट्र बैंकले एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। त्यसैगरी, सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयसम्मका लागि आलोपालो मिलाई निश्चित कर्मचारीबाट मात्रै काम गर्ने व्यवस्था मिलाउन भनिएको छ।

राष्ट्र बैंकले न्यूनतम संख्यामा मात्र शाखा खोली आधारभूत बैंकिङ कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। ब्यांक तथा वित्तीय संस्थाहरूले काठमाडौं उपत्यकामा सीमित संख्यामा मात्र शाखा खोल्ने तयारी गरेका छन्।

त्यसैगरी, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार हुने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL