Logo

इन्भेष्टमेण्टको नगद लाभांस अस्वीकृत, बोनस सेयर दिन आग्रह

इन्भेष्टमेण्टको नगद लाभांस अस्वीकृत, बोनस सेयर दिन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्मेष्टमेन्ट बैंकले पठाएको लाभांश वितरण सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । बैंक संचालक समितिले आफ्ना सेयर होल्डरलाई १८ प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो । सोही अनुरुप केही समय अघि बैंले राष्ट्र बैंकमा स्वीकृतका लागि पठाएको थियो । तर, केन्द्रिय बैंकले नगद लाभांसलाई बोनस सेयरमा परिणत गर्न आग्रहगर्दै अस्वीकृत गरेको हो ।

राष्ट्र बैंकले ल्याएको बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि योजना अन्तरगत नगद लाभांस वितरणलाई रोक लगाइएको केन्द्रिय बैंकका एक उच्च अधिकारीले जानकारी दिए । ‘केही समय अघि मात्र बैंकले सेयर होल्डरलाई दिन लागिएको कुल बोनसको ५० प्रतिशत सेयर र ५० प्रतिशत नगद गरेर प्रस्ताव पेश गरेका थिए,’ स्रोतले भन्यो, ‘तर, हामीले सवै बोनस रकमलाई सेयरमा परिणत गर्न आग्रह गरेका छौं ।’ योसँगै इन्भेष्टमेन्ट बैंकका सेयर होल्डरले नगद लाभांस पाउने सम्भावना हटेको छ । अव बैंकको संचालक समितिले सेयर होेल्डरलाई बोनस सेयर वितरणका लागि पुनः निर्णय गरेर राष्ट्र बैंकमा पठाउनु पर्ने हुन्छ ।

बैंकहरुले २०७४ असार मसान्त सम्ममा पुँजी बृद्धि गरिसक्नुपर्ने भएकाले पनि नगद लाभांसलाई रोक लगाइएको हो । हाल नेपाल राष्ट्र बैंकले बनाएको लाभांस वितरण सम्बन्धी कार्यविधिमै कर प्रयोजनका लागि वाहेक नगद लाभांस दिन नपाउने व्यवस्था गरिएको छ । बोनस सेयर दिँदा पुँजी बृद्धि हुने र नगद लाभांस दिँदा पैसा वाहिर जाने भएकाले पनि सेयरमै जोड दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL