Logo

कर्जाको ब्याज १ प्रतिशत घटाउने सबै बैंक संचालकहरुको निर्णय, लगानीको स्रोत नखोज्न सरकारसँग माग

कर्जाको ब्याज १ प्रतिशत घटाउने सबै बैंक संचालकहरुको निर्णय, लगानीको स्रोत नखोज्न सरकारसँग माग



बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले कोरोना भइरसले उद्योग व्यवसायमा असर परेको भन्दै कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । सिविफिनको अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको बैंठकले कर्जाको ब्याज १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

कोभिड १९ ले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिका लगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको भन्दै वित्तीय क्षेत्र राहतका प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालकहरुको बिस्तारिक बैैठक अहिलेको संकट सामना गर्नको लागि समग्र अर्थतन्त्र जोगाइ अगाडि बढ्न कर्जाको ब्याजमा छुटका साथै वैदेशिक र स्वदेशी लगानी भित्र्याउनका लागि पहल गर्न सरकार समक्ष माग गरेको छ । साथै यसरी लगानी ल्याउँदा सरकारको स्वीकृति नचाहिने र नेपाली नागरिकले कृषि र उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा लगानीको स्रोत खोज्ने व्यवस्था हटाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

चैत ११ देखि देशभर भएको लकडाउनका कारण उद्योग व्यवसाय बन्द भई अर्थतन्त्रका सबै क्षेत्रमा गम्भीर असर परेको भन्दै नेपालको वित्तीय क्षेत्रले प्रदान गर्न सक्ने राहत कार्यक्रमको घोषणा गर्दै र सरकारले गर्नुपर्ने सुधारका लागि विभिन्न नीतिगत परिवर्तन गर्न सुझाव दिने निर्णय सिविफिनले गरेको छ छ ।

यस्ता छन् ग्राहकका लागि सिविफिनले ल्याएको ४ छुट

१. बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा सुविधा उपयोग गर्नुभएका नियमित ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण ब्याजको १० प्रतिशत ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ ।

२. बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने । यस्तै, विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने ।
३. बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने ।
४. कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने ।

सरकारलाई ५ सुझाव

१. महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, प्थ्ऋरकर चुक्ता समन्धी र सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था हटाउने । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने ।
२. नेपाली नागरिक, गैरआवाशीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरुले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने ।
३. नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने । यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिने ।
४. गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने ।
५. नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस्