Logo

जेठ १ गतेदेखि कर्जाको ब्याज घटाउने बैंकर्स संघको निर्णय, ऋणीका लागि ल्यायो थप ४ अफर

जेठ १ गतेदेखि कर्जाको ब्याज घटाउने बैंकर्स संघको निर्णय, ऋणीका लागि ल्यायो थप ४ अफर



काठमाडौं । बाणिज्य बैंकहरुले कर्जाको ब्याज घटाउने भएका छन् । कारोना भाइसरको महामारीलाई मध्यनजर गर्दै जेठ १ गतेबाट लागू हुनेगरी बैंकर्स संघले सम्पूर्ण ऋणीहरुको कर्जाको ब्याज घटाउने निर्णय गरेको हो । ‘हामीले संस्थागत रुपमै कर्जाको ब्याज घटाउने निर्णय गरिसकेका छौं,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजखबरसँग भने, ‘यसलाई सबै बैंकले पालना गरेर जेठ १ गतेबाट लागू हुनेगरी घटाउनेछौं ।’ तर केकति घटाउने भन्ने विषयमा बैंकहरु स्वयम आफैले निर्णय गरेर कार्यान्यवनमा ल्याउने समेत उनले जानकारी दिए ।

यसैगरी बैंकहरुले कर्जाको ब्याजलाई समेत पूँजीकरण गरिदिने भएको छ । ब्याज तिर्न नसकेकै कारण कुनै पनि ऋणीलाई खराबको सूचीमा पर्नबाट बचाउनका लागि ब्याजलाई पूँजीकरण गर्न लागिएको समेत उनले जानकारी दिए ।

यस्तै उद्योगी व्यवसायीलाई लकडाउन खुलेसँगै व्यवसाय संचालनका लागि क्यास फ्लोको आवश्यकता पर्ने भएकाले हालको कर्जामा ५ देखि १० प्रतिशतसम्मको सिमा भित्र रहेर थप कर्जा प्रदानको तयारी समेत गरिएको उनले जानकारी दिए । ‘यसका लागि हामीले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्नुपर्ने हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘केही समयभित्रै राष्ट्र बैंकसँग समन्वय गरेर उद्योगी व्यवसायीलाई क्यास फ्लोका लागि थप कर्जा उपलब्ध गराउने छौं ।’ जसका लागि राष्ट्र बैंकले हालसको सीसीडी अनुपातमा केही लचकता अपनाउनुपर्ने समेत उनको भनाई थियो ।

यस्तै बैंकहरुले ऋणीले तिर्नुपर्ने कर्जालाई समेत रिस्टक्चरिङ गरिदिने भएको छ । हाल राष्ट्र बैंकले कर्जाको ब्याज र किस्ता तिर्ने समयसिमा असार मसान्तसम्मलाई मात्र दिएकोमा थप १ बर्षको समयसिमा थप्नुपर्ने उनको भनाई थियो । ‘उदाहरणका लागि कोही उद्योगी व्यवसायीले ३ बर्षका लागि कर्जा लिनुभएको छ भने १ बर्ष समयसिमा थपेर ४ बर्षको बनाउनुपर्छ,’ उनले भने, ‘उद्योगी व्यवसायीहरुको आवश्कता हेरेर कर्जाको ब्याज र किस्ता तिर्ने समय १ बर्षसम्मलाई थपिने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL