Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, प्रदेश १ का दैनिक ज्याला मजदुरी गर्नेहरूलाई ५ लाखको खाध्य सामग्री वितरण

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, प्रदेश १ का दैनिक ज्याला मजदुरी गर्नेहरूलाई ५ लाखको खाध्य सामग्री वितरण



काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ का ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई ५ लाख रुपैयाँ बराबरको खाध्य सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई बैंककले राहत वितरण गरेको हो । बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई थोरै भएपनि राहत मिल्ने बैंकको विश्वास रहेको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको थियो । बैंकले लकडाउनको समयमा समेत सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

साथै ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङलगायतका सेवा समेत घरबाटै निःशुल्क तिर्न सक्ने व्यवस्था गरेको छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL