Logo

मेगा बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, अन्य प्रदेशमा पनि आफ्नै भवन बनाउने तयारी

मेगा बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, अन्य प्रदेशमा पनि आफ्नै भवन बनाउने तयारी



काठमाडौं । मेगा बैंक नेपालले रुपन्देहीको बुटवलमा रहेको आप्mनै जग्गामा नव निर्मित भवनको उद्घाटन गरेको छ । बैंकले उक्त भवन उद्घाटनसँगै पुष्पलाल पार्कमा सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको छ ।

बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरेको बैंकले जानकारी दिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहकाबीच भवनको उद्घाटन गरेका हुन ।

बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरेका छन । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तयार रहेको बताएका छन ।

बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा आफ्नै भवन निर्माण गरेर सेवा संचालन गरेको र अन्य प्रदेशमा समेत आफ्नै भवन निर्माणको तयारीमा रहेको जानकारी दिएका छन ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधालगायत कारोबारमा थप सहज हुने बताएकी छिन । उनले तत्कालिन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा बैंकको कारोबार उत्साहजनक भएकोमा बताए ।

साथै गण्डकी विकास बैंक गाभिएपछि बैंकको कारोबारमा तिब्रता आउने समेत उनले जानकारी दिएकी छिन । बैंकले १११ शाखा, २९ एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्