काठमाडौं । नेपाल बैंकले घर खरिद तथा निर्माणका लागि सस्तो ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमबीच ‘शुलभ आवास कर्जा’ स्किम सार्वजनिक गर्दै न्यून ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।
उक्त स्किम अनुसार सेवाग्राहीले न्यूनतम ८ दशमलव ८४ प्रतिशतदेखि अधिकतम बढीमा ९ दशमलव ९४ प्रतिशत ब्याजदरमा उक्त कर्जा पाउनेछन् । सो कर्जाको समयावधि ५ वर्षदेखि २० वर्षसम्मका लागि हुनेछ ।
उक्त योजना अन्तरगत ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, अरुले बनाएको घर किन्न, घर मर्मतसम्भार तथा थप निर्माण गर्नका लागि ऋण लिन सक्नेछन् ।
यसैगरी बैंकले निक्षेपकर्ताका लागि पनि आकर्षक योजना सार्वजनिक गरेको छ । ग्रीन सेभिङ निक्षेप योजना सार्वजनिक गर्दै बैंकले निक्षेपकर्ताका लागि ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने घोषणा गरेको छ ।
सो योजना अन्तरगत खाता खोलेर निक्षेप राख्दा ग्राहकले निःशूल्क एटीएम, भिसा र डेभिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा, निःशूल्क इन्टरनेट बैंकिङ सुविधा दिने घोषणा गरेको छ ।
उक्त खातामा न्यूनतम २५ हजार रुपैयाँ मौज्दात हुनुपर्ने छ भने ६ दशमलव ५ प्रतिशत ब्याज पाईनेछ ।