Logo

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको सम्झौता भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १ सय ८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५ हजार भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ ।

साउदी अरबका लागि नेपाली राजदुत प्राडा महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा दुवै बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा बोल्दै राजदुत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अलबिलादबीचको सहकार्यले साउदीबाट नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताए । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीच अन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको जानकारी दिएका छन ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उनले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट पठाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताएका हुन ।

यी दुई बैंकबीच गत जेठ १३ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL