काठमाडौं । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टी भएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त रकम चोरी भएको जानकारी दिएको हो ।
बैंकले सुरुमा १ करोड ५० लाख र ३ करोड रुपैयाँ चोरी भएको बताएको थियो । तर प्रहरीको अनुसन्धानमा उक्त रकम कृषि विकास बैंकका विभिन्न शाखामा ट्रान्सफर भएको पुष्टी भएको हो । अनुसन्धानमा चोरीका मुख्य अभियुक्त भारतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
चोरहरुले कृषि विकास बैंकबाट ५ अर्ब लुट्ने योजना बनाएपनि ४ करोड ७३ लाख रुपैयाँ मात्रै विभिन्न शाखामा ट्रान्सफर गरेका हुन । ट्रान्सफर गरिएको मध्ये ६० लाख रुपैयाँ मात्रै चोहरुले निकालेको र अन्य रुपैयाँ भने शाखाहरुमा रोक्का रहेको प्रहरी परिसरले जानकारी दिएको छ ।
प्रहरीले बुधबार बैंक चोरी आरोपमा विभिन्न १२ जना नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको मध्ये ६० लाख रुपैयाँ भने बरामद गरिसकेको छ । भारतबाट काले भनिने पिटरले उक्त १२ जनालाई केही रकम कमिशन दिएर परिचालन गरेको पाईएको छ ।