काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आफ्नो खर्चलाई घटाउँदै ब्याज आम्दानीबाट १० अर्ब २२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
आव २०७४/७५ मा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको बैंकले गतवर्षको अपरिस्कृत वित्तीय विवरणमा ४ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको देखाएको थियो । सर्वसाधारणलाई सेयर जारी नगरेको वाणिज्य बैंकबाट सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ लाभांश पाउने छ । सरकारलाई उक्त बैंकले ४० प्रतिशत लाभांश दिने क्षमता राखेको छ ।
वाणिज्य बैंकमा असार मसान्तसम्मा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ । २०७५ असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै कर्जा रकम १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।
९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड रुपैयाँको रिजर्ब रहेको छ । बैंकले एकवर्षको अवधीमा आफ्नो बेसरेट समेत घटाएको छ । अघिल्लो वर्ष ६ दशमलब २० प्रतिशत रहेको बेसरेट यो वर्ष ५ दशमलब ५० प्रतिशतमा झारेको छ ।
बैंकको स्प्रेडदर ४ दशमलब ४६ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२ दशमलब ७८ प्रतिशत रहेको छ । बैंकको पूँजीकोष अनुपात १३ दशमलब २० प्रतिशत छ । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३ दशमलव ९० प्रतिशत रहेको छ । एनआईडिसी डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको खराब कर्जा बढेको थियो ।