काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई एकै पटक ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति दिएको छ । बैंकले अस्ट्रेलियाको सिड्नी, भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, कतारको दोहा र बेलायतको एल्डरसट शहरमा सम्पर्क कार्यालय खोल्ने स्वीकृति दिएको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशमा आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा सुरु गर्नेछ ।
उक्त देशहरुका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै उक्त प्रतिनिधि कार्यालय सुरु गर्न सकिनेछ ।
बैंकले हाल देशभरका १ सय ८६ शाखा कार्यालय, १ सय ३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टरहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।