Logo

वीच्याट कारोबार बढेसँगै राष्ट्र बैंकको निगरानीमा होटल र व्यापारी, स्थलगत अनुगमन गर्दै

वीच्याट कारोबार बढेसँगै राष्ट्र बैंकको निगरानीमा होटल र व्यापारी, स्थलगत अनुगमन गर्दै



काठमाडौं । वीच्याटलगायत विदेशी पेमेन्ट गेटवेमार्फत आर्थिक कारोबार गर्न प्रतिवन्ध लगाएको नेपाल राष्ट्र बैंकले स्थलगत अनुगमन पनि गर्ने भएको छ । वीच्याट, अलि पे जस्ता विदेशी पेमेन्ट गेटवेमार्फत क्युआर कोड तथा पस मेशिनबाट गैरकानुनी रुपमा आर्थिक कारोबार हुन थालेसँगै राष्ट्र बैंकले स्थलगत अनुगमन बढाउन लागेको हो ।

विशेषगरी होटल तथा चाईनाको व्यापार गर्ने व्यापारीहरुलाई निगरानी गरेर स्थलगत अनुगमन बढाईने राष्ट्र बैंकले जानकारी दिएको छ । ‘यदि कुनै होटल तथा पशलमा कारोबार उच्च भइरहेको छ तर ट्रान्जेक्शन देखिँदैन भने त्यसमा स्वातः गैरकानुनी रुपमा भुक्तानी भएको मान्न सकिन्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘त्यस्ता स्थानहरुमा राष्ट्र बैंकले स्थलगत निरीक्षण गर्दै अनुगमन बढाउनेछ ।’

नेपालमा बस्तु तथा सेवाको कारोबार गर्ने र अन्य मुलुकमा भुक्तानी गर्ने क्रम बढेको समेत निरौलाले जानकारी दिए । ‘कतिपय होटल व्यवसाय राम्रोसँग चलेका छन् तर यहाँ कारोबार भएको देखिँदैन,’ उनले भने, ‘अब त्यस्ता होटल अन्य व्यवसायहरु हाम्रो निगरानीमा हुनेछन् ।’

पछिल्लो समय चीनसँगको व्यापारमा हुण्डी कारोबार चीनबाट सामान आयात गर्ने व्यापारीहरुले पनि हुण्डीमार्फत नै पैसा पठाएर सामान आयात गर्ने गरेका छन् । व्यवसायीहरुले डलरमा एलसी (लेटर अफ क्रेडिट) खोल्नुको सट्टा नेपालस्थित चिनियाँ व्यापारीलाई नेपाली रुपैयाँ दिएर चीनमा युआन लिएर सामान आयात गर्दै आएका छन् । ‘उदारहणका लागि नेपालीले चीनबाट ४ करोड रुपैयाँको सामान आयात गर्नुपर्यो भने १ करोड रुपैयाँको एलसी खोल्छन,’ एक बैंकका उच्च अधिकारीले भने, ‘थप ३ करोड रकम हुण्डीमार्फत रकम पठाएर सामान खरिद गर्छन ।’

यसैगरी नेपालमा होटल रेष्टुराँ सञ्चालन गर्दै आएका चिनियाँ व्यापारीले वीच्याटको माध्यमबाट कारोबार गर्दै आएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । वीच्याटमार्फत भुक्तानी गर्दा उनीहरुको नेपालमा कारोबार नदेखिने हुँदा त्यस्ता व्यापारीले नेपाल सरकारलाई ठूलो मात्रामा कर छली गर्दै आएका छन् । उनीहरुले नेपालमा कर्मचारीलाई तलब दिन वा सामान खरिद गर्न चीनबाट सामान आयात गर्ने व्यापारीसँग पैसा लिने र उनीहरुलाई चीनबाटै भुक्तानी दिने हुँदा त्यस्तो कुनै पनि कारोबार नेपालमा देखिँदैन । जसले गर्दा चिनियाँ व्यापारीले नेपालमा गरेको कारोबार तथा नेपाली व्यापारीले चीनबाट सामान आयात गर्दा समेत ठूलो मात्रामा कर छली हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL